बैंक लकरमा आगजनी भए सेवाग्राहीले क्षतिपूर्ति पाउँछन् ?

लकरको बिमा नहुने भएकाले कुनै कारण धनमालमा क्षति पुगेमा सेवाग्राही स्वयं जिम्मेवार हुनुपर्छ ।

आश्विन २९, २०८२

यज्ञ बञ्जाडे

If there is a fire in the bank locker, will the customer get compensation?

What you should know

काठमाडौँ — भदौ २४ को प्रर्दशनका क्रममा काठमाडौं बत्तीसपुतलीस्थित हिमालयन बैंकको शाखामा आगजनी भयो । आगजनी र लुटपाटबाट बैंकमा ठूलो क्षति पुगेको छ । सो क्रममा बैंकमा रहेको लकरमा पनि क्षति पुगेको छ ।

सो शाखामा करिब २५० वटा लकर रहेकामा सबै भरिभराउ थिए । आगलागीबाट लकर नजलेको तर सोही कोठामा आगलागी भएकाले बाहिरको तातोले लकरभित्र रहेका केही गहना पग्लिएको, आकार बिग्रेको बैंकले स्वीकारेको छ ।

करिब २५० वटा लकरमध्ये १० प्रतिशतमा मात्र क्षति पुगेको र बाँकी ९० प्रतिशत सुरक्षित रहेको हिमालयन बैंक बत्तीसपुतली शाखा प्रबन्धक तुलसी कार्कीले बताए । ‘कुल लकरमध्ये ९० प्रतिशत सुरक्षित छन्, बाँकी १० प्रतिशत लकरमा गहनाभित्र रहेको लोहा पग्लिएकाले गहनाको आकार बिग्रिएको देखिन्छ र तर सुन तथा चाँदीको परिमाणमा कमी आएको छैन,’ शाखा प्रबन्धक कार्कीले भने, ‘लकर प्रयोगकर्तामध्ये धेरै स्थानीय नै हुनुहुन्थ्यो । उहाँहरुले बैंकमा आगलागी भएको देख्नुभएको थियो । त्यति ठूलो आगलागीमा पनि बैंक लकरमा रहेको धनमाल कसरी सुरक्षित रहन सके भनेर हामीलाई धन्यवाद दिइरहनुभएको छ ।’

लकरमा रहेका सामाग्रीको बिमा नहुने र क्षतिको सम्पूर्ण जिम्मेवार ग्राहक नै हुने भएकाले क्षति पुगेका सेवाग्राहीलाई पनि बैंकले क्षतिपूर्ति दिन नसक्ने उनले प्रस्ट्याए । ‘लकरमा रहेको सामानमा क्षति पुगे त्यसको जिम्मेवारी ग्राहक नै हुनुपर्छ भनेर हामीले यो विषय लकर सुविधा लिन आउने ग्राहकलाई सुरुमै बताएका हुन्छौं,’ उनले थपे, ‘यसकारण अहिले आगलागीमा लकरमा रहेका सामग्रीमा क्षति पुगेका ग्राहकलाई पनि बैंकले केही दिन सक्दैन ।’

आगलागीबाट लकरमा रहेको गहना पग्लिएको, बिग्रिएको भए पनि बैंकले कुनै क्षतिपूर्ति दिन नसक्नेबारे प्रस्ट रूपमा बताइसकेको सोही शाखामा लकरमा गहना राखेकी एक सेवाग्राहीले बताइन् । ‘बैंकले यसमा हामी जिम्मेवार हुदैनौं भनेको छ । बिमा पनि नहुँदो रहेछ,’ ती सेवाग्राहीले भनिन्, ‘अब हामीले हिमालयन बैंकको शाखामा आगलागी हुँदा लकरमा रहेको धनमालमा क्षति पुगेको हो भनेर बैंकलाई पत्र बनाउन भनेका छौं । त्यो पत्र भएपछि बिग्रिएका गहना बिक्री गर्न वा मर्मत गर्न सकिन्थ्यो ।’ पत्रको पत्र नहुँदा बिग्रिएको गहना बनाउन जान पनि नसकिएको ती सेवाग्राहीले बताइन् । 

बैंकको लकरमा रहेको धनमालमा क्षति पुगेको यो घटनाले लकर कति सुरक्षित छ भन्ने प्रश्न उब्जिएको छ । अधिकांश प्रयोगकर्ताले सुरक्षाकै लागि बैंकको लकरमा धनमाल राखेका हुन्छन् । लकरको बिमा नहुने भएकाले कुनै कारण धनमालमा क्षति पुगेमा स्वयं जिम्मेवार हुनुपर्छ । बैंक जिम्मेवार हुँदैन भन्ने कुरा धेरैलाई थाहा हुँदैन । यसकारण लकरमा धनमाल राख्नुअघि लकरको सुरक्षा, बैंकको जिम्मेवारीलगायत विषयमा राम्रोसँग बुझेर मात्र सुविधा लिनुपर्ने बैंकरहरु बताउँछन् ।

यज्ञ बञ्जाडे बञ्जाडे कान्तिपुरका पत्रकार हुन् । उनी सरकारी वित्त, बैंकिङ, पुँजीबजार लगायतका आर्थिक विषयमा समाचार/टिप्पणी लेख्छन् ।

Link copied successfully