फरेन्सिक परीक्षणबाट पनि पुष्टि भयो विपिनको शव

इजरायली सेनाले 'हमासबाट विपिनको हत्या युद्धको पहिलो महिनामै गाजामा कैद गरिएको अवस्थामा गरिएको' दाबी गरेको छ ।

आश्विन २८, २०८२

होम कार्की

Vipin's body was also confirmed by forensic tests

काठमाडौँ — फरेन्सिक परीक्षणबाट विपिन जोशीको शव पुष्टि भएको छ । हमासले सोमबार राति इजरायललाई विपिनसहित चार जनाको शव हस्तान्तरण गरेको थियो ।

इजराइली सेनाले फरेन्सिक परिक्षणबाट चारैजनाको शवको पहिचान भएको पुष्टि गरेको हो । यसबारे परिवारलाई जानकारी दिइएको छ । सेनाका अनुसार तेलअभिभस्थित अबु काबिर फरेन्सिक संस्थानले अनुसन्धान पूरा गरेपछि उनीहरूको मृत्युको कारण र अवस्थाबारे अन्तिम निष्कर्ष सार्वजनिक गरिने जनाएको छ ।

‘विपिनको शव पहिचान भएको खबर पाएका छौं,’ दाजु किशोर जोशीले कान्तिपुरसँग भने, ‘नेपाल कहिले आउँछ भनेर मिति दिएको छैन । आवश्यक प्रक्रिया पूरा भएपछि खबर गर्छौं भनेका छन् ।’

इजरायली सेनाले 'हमासबाट विपिनको हत्या युद्धको पहिलो महिनामै गाजामा कैद गरिएको अवस्थामा गरिएको' दाबी गरेको छ । हमासले गाजा पट्टीमा इजरायली हवाई आक्रमणका क्रममा विपिनको मृत्यु भएको दाबी गरेको थियो । 

‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषिसम्बन्धी अध्ययनका लागि इजरायल पुगेका विपिनलाई हमासले २०२३ अक्टोबर ७ मा अलुमिम किबुजबाट बन्धक बनाएर लगेको थियो । त्यस दिन हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थी मारिएका थिए । हमासले बन्धक बनाएर लैजाँदा विपिनको टाउको छोपेर अस्पतालभित्र लगिरहेको भिडियो सार्वजनिक गरिएको थियो । त्यसयता उनका बारेमा कुनै पनि जानकारी सार्वजनिक भएको थिएन् । 

यो पनि पढनुहोस : 

गाजा युद्धविरामले संसारलाई सान्त्वना, विपिनको परिवार स्तब्ध

इजरायल-हमास युद्ध : बन्धक 'डिल'देखि युद्धविराम सहमतिसम्म केके भयो ?

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully