भाटभटेनीदेखि प्रहरी नेतृत्व र रवि लामिछानेसम्मका उजुरी परेका छन्। सुरक्षा अधिकारीपछि राजनीतिक व्यक्तिहरूलाई बयानमा बोलाउने आयोगको कार्यसूची छ। प्रदर्शनका क्रममा भएका घटनाको ३७ हजारभन्दा बढी तस्बिर, भिडियो तथा सामाजिक सञ्जालका लिंक प्रहरीलाई प्राप्त भएका छन्।
What you should know
काठमाडौँ — २३ र २४ भदौका घटना जाँचबुझका लागि गठित आयोगमा आइतबारसम्म एक दर्जन उजुरी दर्ता भएका छन् । आयोगका अनुसार निजी क्षेत्रका दुई कम्पनीले क्षतिको विवरणसहित उजुरी दर्ता गराएका छन् । अरू व्यक्तिगत रूपमा दर्ता भएका उजुरी छन् ।
जेन–जी आन्दोलनका क्रममा ७४ जनाको मृत्यु भएको थियो । उक्त घटनाका अधिकांश उजुरी प्रहरीका तर्फबाट दर्ता भएका छन् । दुई उजुरी घाइते भएकाको परिवारले दिएका छन् । पीडित परिवारले २३ भदौमा राज्यको दमनका कारण धेरैले ज्यान गुमाएको उजुरीमा उल्लेख गरेका छन् । त्यतिबेला राज्यशक्तिमा रहेकाहरूलाई फौजदारी अपराध संहिताअनुसार कारबाही हुनुपर्ने उनीहरूको माग छ ।
त्यस दिन कार्यक्षेत्रमा खटिएका प्रहरीका तर्फबाट पनि उजुरी दर्ता भएका छन् । प्रहरी कार्यालयहरू जलाउने र हतियार लुटपाट भएको विषयमा आफूहरूलाई जानकारी भएको उनीहरूले उल्लेख गरेका छन् । उनीहरूले खासगरी २४ भदौमा कसरी लुटपाट तथा घुसपैठ भयो भन्ने विस्तृत विवरण बुझाएका छन् । उजुरीमा उनीहरूको नाम गोप्य राखिएको छ । पाँच पृष्ठको उजुरीमा जथाभावी अत्याधुनिक हतियारबाट गोली प्रहार गर्नेहरूको समेत पहिचान गरी अपराधमा संलग्न सबैलाई तत्काल निलम्बन गरेर कारबाही गर्न माग गरिएको छ ।
यस्तै, रास्वपाका कार्यवाहक सभापति डीपी अर्याल, रवि लामिछानेकी पत्नी निकिता पौडेल लामिछाने, रास्वपाका उपसभापति स्वर्णिम वाग्ले, प्रहरीका एआईजी दानबहादुर कार्की, काठमाडौंका तत्कालीन सीडीओ छविलाल रिजाल, तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी र मुख्यसचिव एकनारायण अर्यालबीच कुराकानी भएको दाबीसहित ‘कल डिटेल्स’ रेकर्ड गर्न उजुरीमा माग गरिएको छ । उजुरीमा लामिछानेलाई बाहिर ल्याउन नख्खु कारागार तोडफोड भएको दाबी गरिएको छ ।
दुवै दिनका घटनाबारे सामाजिक सञ्जालमा भएका भिडियो फुटेजहरू हेर्न उजुरीमा माग गरिएको छ । काठमाडौं उपत्यकामा माथिल्लो तहको आदेश तल्लो तहसम्म सम्प्रेषण गर्ने प्रहरी कन्ट्रोल रुममा खटिएका प्रहरी सञ्चारका कमान्डरलगायत प्रहरी कर्मचारीलाई समेत बयान लिन माग गरिएको छ ।
यस्तै, भाटभटेनीले करिब ११ अर्बभन्दा धेरै क्षति पुगेको दाबीसहितको उजुरी दर्ता गराएको छ । भाटभटेनीले पूर्ण रूपमा नष्ट भएका १२ सहित २० स्टोरमा उक्त क्षति भएको जनाएको छ । करिब ५० करोडभन्दा धेरैको सामग्री चोरी हुनुका साथै प्रयोगमा ल्याउन नसकिने गरी तोडफोड भएको दाबी गरिएको छ । काठमाडौंको ग्लोबल कलेजले पनि आयोगमा उजुरी दर्ता गराएको छ । नेताका छोराछोरी अध्ययन गर्ने कलेज भन्दै प्रदर्शनकारीले आगजनी गरेका थिए । कलेज प्रशासनका अनुसार करिब ७० करोड लागतमा निर्माण गरिएका भवन जलेर नष्ट भएको छ ।
५ असोजमा पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित आयोगमा प्रहरीका पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य छन् । तीन महिना कार्यकाल भएको आयोग गठनको २० दिनसम्म प्रारम्भिक कार्यमा अल्झेको थियो । सुरुमा मौसम विभागको भवनमा रहेको आयोग कार्यालयले त्यहाँ अप्ठ्यारो भएपछि सिंहदरबारमा सरेर काम थालेको छ ।
आयोगले २३ भदौमा माइतीघर मण्डलदेखि नयाँ बानेश्वर र तीनकुनेसम्मको फिल्डमा खटिएका प्रहरी जवानसँग बयान लिने तयारी गरेको छ । प्रवक्ता विज्ञानराज शर्माका अनुसार प्रहरी जवानबाट सुरु गरेर चेन अफ कमान्डअनुसार माथिल्ला अधिकारीसँग बयान लिइनेछ । अनुसन्धानको शैलीमा सबैको बयान हुने, त्यसपछि मात्र घटनाको अवस्था र शैलीबारे जानकारी हुने उनले बताए । ‘सुरुमा फिल्डमा खटिएका जवान अनि फिल्डको कमान्डरलाई बयानमा बोलाउँछौं । त्यसपछि जिम्मेवारी तोकिएका केही अधिकृतलाई बोलाउँछौं,’ शर्माले भने ।
सुरक्षा अधिकारीपछि राजनीतिक व्यक्तिहरूलाई पनि बयानमा बोलाउने आयोगको कार्यसूची छ । आयोगले चारवटै सुरक्षा निकायका प्रमुख, सुरक्षा परिषद्का सदस्य हुँदै तत्कालीन गृहसचिव गोकर्णमणि दवाडीसम्मको बयान लिने भएको छ । गृहसचिवपछि तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानमा बोलाउने आयोगको कार्यसूची छ । त्यसपछि तत्कालीन प्रधानमन्त्री रहेका केपी शर्मा ओलीको पालो आउने आयोगले जनाएको छ ।
आयोगले कैदीहरू भागेको विषयमा पनि नख्खु कारागारसहित देशभरका कारागारबाट विवरण मगाएको छ । रास्वपा सभापति रवि लामिछाने बाहिरिएको बारे विस्तृत विवरण पठाउन नाम नै तोकेर आयोगले नख्खु कारागारलाई पत्र लेखेको हो । उक्त दिन लामिछाने कसरी रिहा भए ? उनीसँगै कति कैदी निस्के ? त्यसको विवरण उपलब्ध गराउन आयोगले भनेको छ ।
आयोगले आइतबार सर्वोच्च अदालत, पार्टीका कार्यालय र व्यक्तिगत क्षति विवरण उपलब्ध गराउन पनि आग्रह गरेको छ । उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघलगायत संस्थासँग निजी क्षेत्रको क्षतिको विवरण माग गरेको छ ।
आयोगले तोडफोड र सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउनेलाई कारबाही सिफारिस गर्न आवश्यक प्रमाण पनि संकलन थालेको छ । यसका लागि आफूसँग भएका फोटो र भिडियो तथा सिसीक्यामेरामा रेकर्ड भएका विवरण उपलब्ध गराउन आयोगले आग्रह गरेको छ । त्यस्तो प्रमाण इमेल, ह्वाट्सएप वा सिंहदरबार कार्यालयमा बुझाउन सकिने प्रवक्ता शर्माले बताए । यस्तै प्रहरीमा दर्ता भएका जाहेरीका साथै फोटो र भिडियोहरू पनि आयोगले मगाएर अध्ययन गर्ने भएको छ ।
आयोगले नियमित फौजदारी अभियोगको अनुसन्धान र अभियोजन गर्ने काम प्रहरीकै भएको भन्दै केही दिनअघि तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकविरुद्ध दर्ता भएको जाहेरी प्रहरीलाई नै फिर्ता गरेको थियो । त्यस्तै युवा संघ र नेविसंघले दर्ता गराएको जाहेरीलाई पनि आयोगले नोटिसमा लिएको प्रवक्ता शर्माले बताए । सञ्चारमाध्यममा आएका समाचारलाई पनि प्रमाणका रूपमा लिएर आयोगले अध्ययन गर्ने प्रवक्ता शर्माले बताए ।
२३ र २४ भदौमा काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा भएको विरोध प्रदर्शन र आन्दोलनका क्रममा ३७ हजारभन्दा बढी तस्बिर, भिडियो तथा सामाजिक सञ्जालका लिंक प्रहरीले प्राप्त गरेको छ । प्रहरी प्रवक्ता नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेका अनुसार आगजनी, लुटपाट, सार्वजनिक सम्पत्तिको तोडफोड र सर्वसाधारणमा त्रास सिर्जना गर्ने विभिन्न घटनासँग सम्बन्धित दृश्य तथा लिंकहरू प्राप्त भएका हुन् । प्रहरीले यी सबै भिडियो र फोटोको विस्तृत अनुसन्धान गर्ने अनि फौजदारी अभियोगमा अनुसन्धान अघि बढाउने तयारी गरेको छ । साथै आयोगलाई पनि प्रतिवेदन दिनेछ ।
