सधैं सत्ताको केन्द्रमा रहेका पूर्व सभामूख कृष्णबहादुर महरा कसरी राजनीतिक शक्तिको आडमा जोगिँदा जोगिँदै फेरि पक्राउ परे ? हामीले ५ प्रश्नोत्तरमा बुझाउने प्रयास गरेका छौं ।
What you should know
काठमाडौँ — पूर्वसभामुख कृष्णबहादुर महरा आइतबार पक्राउ परेसँगै संगठित सुन तस्करीमा उनी कसरी जोडिए भन्ने विगतबारे चासो बढेको छ । दशक लामो माओवादी ‘सशस्त्र द्वन्द्व’ मा सक्रिय महरा शान्ति प्रक्रियापछि सधैं राज्यसत्ताको केन्द्रमा रहे । गिरिजाप्रसाद कोइराला नेतृत्वमा बनेको अन्तरिम सरकारमा मन्त्री बनेका उनी पछि उपप्रधानसहित अर्थ, गृह, परराष्ट्र जस्ता शक्तिशाली मन्त्रालयहरूको जिम्मेवारीमा पुगे ।
पहिलो संविधानसभा निर्वाचनलगत्तै चिनियासँग ‘नेपालमा सांसद खरिद बिक्रीका लागि’ रकम मागेको भनिएको अडियो नै सार्वजनिक भएपछि विवाद र सन्देहको घेरामा तानिएका महरा जति शक्तिशाली पदमा पुगेपनि विवादबाट अलग हुन सकेनन् । २६ फागुन ०७४ मा प्रतिनिधि सभाको सभामुख बनेका उनी त्यही बेला संसद् सचिवालयमै कार्यरत एक महिलामाथि ‘बलात्कार गरेको आरोप’मा मुछिए । बालुवाटारस्थित सभामुख निवासबाटै पक्राउ परे । त्यसपछि महराको राजनीतिक यात्रा सधैं ओरालोतिरै लाग्यो । संगठित सुन तस्करीमा जोडिएपछि भने उनको ओरालो यात्रा तीव्र गतिमा अघि बढ्यो । महरा कसरी सुन तस्करीको प्रकरणमा मुछिए । कसरी राजनीतिक शक्तिबाट जोगिँदा जोगिँदै फेरि पक्राउ परे ? हामीले ५ प्रश्नोत्तरमा बुझाउने प्रयास गरेका छौँ ।
महरा मुछिएको भेपमा भएको सुन तस्करी प्रकरण के हो ?
अन्तर्राष्ट्रिय गिरोहले नेपालमा विभिन्न आवरणमा चलाउने सुन तस्करी धन्दा मध्येको एक हो– भेपमा लुकाएर गरिएको सुन तस्करी । २०७९ पुस १० मा ७३ बट्टामा ७३० वटा भेपमा लुकाएर चिनियाँ तस्करले दुबई हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुन ओसारेका थिए । करिब ९ केजी सुनको मूल्य त्यसबेलाको बजार मूल्यअनुसार साढे ८ करोड रुपैयाँ बराबरको थियो । फ्लाई दुबईको उडान नम्बर एफजेड ०५८७ बाट चिनियाँ राहदानी इजे ६३५००३० बाहक ली हसङले २ वटा सुटकेसभित्र लुकाएर ७३ वटा बट्टामा सुन राखिएका भेपसहित काठमाडौं आएका थिए ।
काठमाडौं ओर्लिएलगत्तै भेपका रुपमा जाँचपास गराएर चिनियाँ गिरोहका नाइके दावाजिन वाङलाई हस्तान्तरण गर्ने तरखरमा थिए हसङ । तर, सामान शंकास्पद देखिएपछि त्यहीदिन विमानस्थल भन्सार कार्यालयले सामान नियन्त्रणमा लियो । त्यसको केही दिनमै हसङ फरार भए । सुनका मालिक दावाजिन वाङले पूर्व सभामुख महरा र उनका छोरा राहुलमार्फत् भन्सारमा रोकिएका सामान छुटाउन सक्रियता बढाए । त्यसपछि महराका बाबुछोरा दावाजिन वाङको योजनाअनुसार सुन भएका भेप छुटाउन सक्रिय भए । त्यस क्रममा महरा बाबुछोराले भन्सारका कर्मचारीसहित विभिन्न व्यक्ति र चिनियाँ तस्करसमेतलाई विभिन्न समयमा २ सय ५६ पटक फोन सम्पर्क गरेको खुल्यो । भन्सारले भेप नियन्त्रणमा लिएपछि तीन दिन पछि १३ पुसमा महराका बाबुछोराले पालैपालो भन्सारका कर्मचारीलाई फोन गरेर छुटाउन दबाब दिए । तर विमानस्थल भन्सारका तत्कालीन प्रमुख प्रशासक अरुण पोखरेलले टेरेनन् । त्यतिन्जेल भेपमा सुन राखिएको विषय सार्वजनिक भएको थिएन । भेप गोदाममा सिल गरेर राखिएको थियो । पछि भन्सारकै कर्मचारी र बिचौलियासहितको सेटिङमा गोदाममा राखिएका ती भेप चोरी भए । त्यसको ठाउँमा अरु नै भेप राखियो । सुन भएका भेप निकालेर गिरोहले बिक्री गरेको रहस्य खुल्यो । यो कुरा त्यसबेला मात्रै पत्ता लाग्यो, जुन बेला गोदामको सुरक्षार्थ खटिएका एकजना कर्मचारीले सुन भएको भेप घरमा लिएर गएका थिए । घरमा भेप फुटाएर हेर्दा त्यसभित्र सुन भएको पोल खुल्यो ।
गोदाममा राखिएका सुन भएका भेप चोरीमा अनुसन्धान गर्न विमानस्थल भन्सारले २६ वैशाख २०८० मा सीआईबीलाई पत्राचार गर्यो । त्यसपछि भन्सारका नासु रेवन्त खड्कासहित विभिन्न व्यक्तिहरू पक्राउ परे । अनि उनै खड्काले प्रहरीसँगको बयानका क्रममा ‘गोदाममा सुन भएका भेप भएको सुईंको पाएपछि आफूहरुकै योजनामा सुन भएका भेप निकालेर सक्कली भेप बाहिरबाट ल्याएर गोदाममा राखिदिएको’ स्वीकार गरेका थिए । त्यसपछि करिब २ महिना लगाएर सुन भएका भेप चोरीको विषयमा सीआईबीले अनुसन्धान गर्यो । अनुसन्धानका क्रममा करिब १ सय ग्राम मात्रै सुन फेला पर्यो भने भेपभित्र भएको करिब नौ किलो सुन गायब पारिएको पत्ता लाग्यो । त्यसैका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले २९ असार ०७९ मा जिल्ला अदालतमा मुद्दा दायर गर्यो । अनुसन्धानका क्रममा भेपमा भित्रिएको सुन भारत महाराष्ट्रका नन्दुकुमार राण्डुराम मर्गलेको भएको खुल्यो । मर्गलेले तस्करीबाट भित्रिएको सुन जोख्न र परीक्षण गर्न न्यूरोडमा कारखाना नै खोलेको पनि पत्ता लाग्यो । योसहित सीआईबी अनुसन्धानका आधारमा मुद्दा सरकारी वकिल कार्यालय हुँदै अदालतसम्म पुग्दा प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री नारायणकाजी श्रेष्ठ थिए । प्रधानमन्त्री र गृहमन्त्री दुवै माओवादी नेता हुन् । महरा माओवादीकै शीर्ष नेतामध्येकका एक हुन् । सत्ता–शक्ति आडमा महरा र उनका छोरा प्रतिवादी बनेनन् ।
महरा कसरी पुनः अनुसन्धानमा तानिए ?
भेपमा भएको सुन तस्करी प्रकरणमा पूर्व सभामुख महरा र उनका छोरा राहुलमाथि अनुसन्धान र अभियोजन हुन नदिन सुरुबाटै चलखेल भएको थियो । पूर्वसभामुख, पूर्वउपप्रधानमन्त्री र पूर्वगृहमन्त्रीसहितका ओहोदामा बसिसकेका महरा चिनियाँ तस्करले भेपमा लुकाएर भित्र्याएको सुन छुटाउन सक्रिय रुपमा लागि पर्दा पनि सरकारले उनीमाथि अनुसन्धान गर्न अवरोध पुर्याएको थियो । भेपमा सुन तस्करी/गोदामबाटै चोरी र चोरीसम्बन्धी मुद्दा दायर हुँदा प्रधानमन्त्रीमा माओवादी अध्यक्ष (हाल संयोजक) पुष्पकमल दाहाल र गृहमन्त्रीमा माओवादीकै तत्कालीन वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ थिए । त्यतिबेला मुद्दा दायर गर्न नै प्रहरीलाई अवरोध पुर्याइएको थियो । त्यसैले सुरुमै अनुसन्धान र अभियोजन हुन सकेन । २७ असार ०८० मा भेपभित्रको सुन चोरीको मुद्दा अदालतसम्म पुग्यो । उक्त अभियोगपत्रमा महराका बाबुछोराले तस्करीको सुन छुटाउन भन्सारका कर्मचारीसहितलाई २ सय ५६ पटक कल गरेको विवरण समेटिएको थियो ।
महराले भेपको सुन छुटाउने प्रयोजनका लागि चिनियाँ तस्कर ली हसङ (भेपमा सुन लिएर दुबईबाट काठमाडौं आएका)सँग ११ पटक सम्पर्क गरेका थिए । सुन तस्कर दाओजिन वाङले पनि महरालाई ११ पटक फोन सम्पर्क गरेका थिए । राहुललाई सुन तस्कर दाओजिन वाङले ६४ पटक र राहुलले दाओजिनलाई १ सय ३१ पटक सम्पर्क गरेका थिए । असिन भनिएका अर्का चिनियाँ तस्करलाई राहुलले ३ पटक सम्पर्क गरेका थिए । राहुलले नै तस्करीमा जोडिएका लोकेन्द्र पौडेललाई ३६ पटक फोन सम्पर्क गरेका थिए ।
सुन तस्करीमा जोडिएकासँग महराको तारन्तार कुरा भएको विषय सार्वजनिक भएपछि उनीहरु अनुसन्धानमा तानिए । त्यतिबेला महराले भेपमा सुन लुकाएर ल्याउने गिरोहका दावाजिन वाङ आफ्नो पुरानै चिनजानको भएको र वाङलाई आफूले फलफूल व्यापारीका रुपमा विगतदेखि नै चिनेको बताउन थाले । उनले विमानस्थलमा भेप छुटाउन पनि आफूले चिनजानका व्यक्तिका लागि भनेर सहजीकरण मात्रै गरेको दाबी गरे ।
महराका छोरा राहुललाई मुद्दा चलाउने तर बाबुलाई उन्मुक्ति दिने काम कसरी भयो ?
सुरुमा भेपमा भित्रिएको तस्करीको सुन छुटाउन सुरुबाटै सक्रिय बाबुछोरा दुवैलाई चोख्याएर बाँकीलाई मुद्दा चलाइएको थियो । तर, तस्करहरूसँग तारन्तार सम्पर्क भएको तथ्यहरु बाहिरिन थालेपछि यो विषयमा पनि अनुसन्धान हुनुपर्ने दबाब बढ्यो । भन्सार गोदामबाट भेपमा लुकाइएका सुन चोरीसम्बन्धी कसुरमा अदालतमा मुद्दा पुगेको डेढ महिनापछि पूर्वसभामुख महराका कान्छा छोरा राहुल पक्राउ परे ।
सीआईबीले १३ भदौ २०८० मा राहुललाई पक्राउ गरी अनुसन्धान अघि बढायो । तर, बाबु महरा भने पक्राउ परेनन् । बरु २७ भदौमा सीआईबीले महरासँग सोधपुछ मात्रै गरेर कागज गराएर छाड्यो । २४ असोज ०८० मा राहुलसहित लोकेन्द्र पौडेल, तिब्बती मूलका बेलजियन नागरिक दावा छिरिङ र अर्का व्यक्ति निमा छिरिङविरुद्ध भन्सार छली र संगठित अपराध कसुरमा ७ वर्षसम्म कैद सजाय माग गर्दै अदालतमा मुद्दा दायर भयो । महरा उम्किए ।
यो विषयमा चौतर्फी आलोचना सुरु भयो । संसद्मा पनि यो विषयले प्रवेश पायो । संगठित सुन तस्करीमा प्रहरीको भूमिका विवादमा तानिएकै पृष्ठभूमिमा सरकारले पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा जाँचबुझ आयोग बनायो । जसले भेपका अलवा 'ब्रेक सु'को आवरणमा भएको सुन तस्करीको घटनासहित समेटेर थप अनुसन्धान गर्नुपर्ने रायसहितको प्रतिवेदन तयार पार्यो । १ चैत०८० मा सरकारलाई बुझाइएको यो प्रतिवेदनमा महरा, उनका छोरा राहुल, पूर्व उपराष्ट्रपति पुनका छोरा दीपेशसहित विभिन्न व्यक्तिहरूमाथि थप अनुसन्धान हुनुपर्ने राय समेटिएको छ ।
सुन तस्करीमा महरा पक्राउ पर्ने परिस्थिति कसरी बन्यो ?
भेपमा लुकाएर ल्याएको सुन छुटाउन सुरुबाटै सक्रिय देखिएपनि महरा पहिलो चरणको अनुसन्धानमा तानिएनन् । तर आयोगले प्रतिवेदन बुझाएपछि ५ चैत ०८० मा महरा पक्राउ पर्ने परिस्थिति बन्यो । उनलाई संगठित अपराध र भन्सार छलीसम्बन्धी कसुरमा अनुसन्धान गर्न भन्दै सीआईबीको टोलीले कपिलवस्तुबाट पक्राउ गरेर काठमाडौं ल्यायो । सीआईबीले महरालाई अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढायो । तर अनुसन्धान सुरु भएको ५ दिन पछि तत्कालीन सरकारकै दबाबमा अनुसन्धान नटुंगिदै ९ चैतमा जिल्ला सरकारी वकिल कार्यालयले उनलाई ‘हाजिरी जमानी’मा परिवारको जिम्मा लगायो । अनुसन्धानमा रहेका व्यक्तिलाई बीचमै छाडिएको विषय आलोचित भएपछि तत्कालीन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले ‘राज्यको पनि करुण हुन्छ’ भन्दै महरालाई छाडिएको विषयको प्रतिरक्षा गरे । त्यसपछिको करिब डेढ वर्ष महराविरुद्धको अनुसन्धान रोकियो । महरालाई रिहा गरेको करिब ३ महिनापछि पुष्पकमल दाहाल नेतृत्वको सरकार ढल्यो । कांग्रेसको समर्थनमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बने । तर, ओलीका पालामा पनि महराविरुद्धको अनुसन्धान अघि बढेन । जेन–जीको आन्दोलन र त्यसपछिको प्रदर्शनपछि बदलिएको सत्ता समीकरणमा सीआईबीले महरालाई २६ असोज (आइतबार) ललितपुरबाट पक्राउ गरी पुरानो मुद्दाको अनुसनधान पुनः अघि बढायो । अहिले महराविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट पनि अनुसन्धान भैरहेको छ । अख्तियारले २३ असोजमा महरालाई टंगालस्थित कार्यालयमै बोलाएर बयान लिइसकेको छ ।
महराविरुद्ध कुन कुन कसुरमा अनुसन्धान भइरहेको छ ?
सीआईबीले पूर्व सभामुख महराविरुद्ध भन्सार ऐन ०६४ र संगठित अपराध निवारण ऐन ०७० प्रतिकुल काम गरेको कसुरमा अनुसन्धान अघि बढाएको छ । राज्यका उच्च ओहदामा रहेर काम गरिसकेका महराविरुद्ध अख्तियारले भ्रष्टाचार निवारण ऐन ०५९ अनुसार पनि अनुसन्धान गरिरहेको छ । भन्सार ऐन, ०६४ अन्तर्गत सरकारद्वारा जारी आदेशअनुसार ‘झिटीगुन्टा’ शीर्षकमा महिलाले ५० ग्राम र पुरुषले २५ ग्राम तथा भन्सार शुल्क तिरेर २ सय ग्रामसम्म तयारी सुन ल्याउन पाइन्छ । यसबाहेक हुने सुन कारोबारलाई दण्डनीय मानिन्छ । महराले चिनियाँ तस्करको सुन भन्सारबाट छुटाउन चलखेल गरेका थिए । महराले प्रहरीलाई दिएको सोधपुछ बयानमा पनि तस्कर किटान गरिएका दावाजिन वाङसँग आफ्नो सम्बन्ध/चिनजान पुरानै रहेको स्वीकार गरिसकेका छन् । दावाजिन हाल फरार छन् । उनीविरुद्ध जिल्ला अदालतमा मुद्दा पनि विचाराधीन छ । भन्सार ऐन ०६४ को दफा ५७ मा ‘कसैले कुनै मालवस्तु चोरी, निकासी वा चोरी पैठारी गरेमा वा गर्ने प्रयत्न गरेमा वा खास बाटोबाट मात्रै निकासी–पैठारी गर्न पाउनेमा अन्यत्रबाट निकासी–पैठारी गरेमा कसुर गरेको मानिने’ उल्लेख छ । त्यस्तो कसुरमा १ करोडदेखि ३ करोड रुपैयाँसम्मको बिगो कायम भएमा १ देखि ३ वर्षसम्म र त्यसभन्दा माथिको बिगोमा ३ देखि ५ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । जितेन्द्रले तस्करीबाट ल्याएको ४ केजी सुन ४ करोडभन्दा बढीको हो । यो कसुर पुष्टि भए उनीविरुद्ध खुलेको बिगो र ५ वर्षसम्म कैद सजाय हुन सक्छ । महराविरुद्ध सीआईबीले भन्सार ऐन र संगठित अपराधका दफा अन्तर्गत कसुरमा अनुसन्धान गरिरहेको छ । त्यस्तै, संगठित अपराध निवारण ऐन–२०७० को दफा ३ मा ‘कसैले संगठित अपराध गर्नु वा गराउनु हुँदैन’ भनिएको छ । ‘कसैले आपराधिक समूहको लाभका लागि, आपराधिक समूहको निर्देशनमा आपराधिक समूहका तर्फबाट आपराधिक समूहसँग मिलेर वा आपराधिक समूहको संस्थापक वा सदस्य भई जानीजानी कुनै गम्भीर अपराध गरेमा निजले संगठित अपराध गरेको मानिने’ भनिएको छ । चिनियाँ तस्करको नेटवर्कमा रहेर काम गरेको आरोपमा महराविरुद्ध पनि संगठित अपराधको कसुर आकर्षित हुने गरी अनुसन्धान थालिएको छ ।
