सुन तस्करको मतियार बनेर महराले भूमिका खेलेको जाँचबुझ आयोगको ठहर
काठमाडौँ — सुन तस्करी गरेको आरोपमा पक्राउ परेर हाजिरी जमानीमा छुटेका पूर्व सभामख एवं सत्तारुढ माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा दशक अघिबाटै चिनियाँ गिरोहसँग निकट रहेको पाइएको छ । विद्युतीय चुरोट (भेप)मार्फत् गरिएको सुन तस्करीको अनुसन्धानमा तानिएका महरा अरु प्रकरणमा पनि संदिग्ध भूमिकामा रहेको भेटिएको हो । तर ती प्रकरणमा भने अनुसन्धान नै भएको छैन ।
२०६२/६३ को राजनीतिक परिवर्तनपछि माओवादी शान्ति प्रक्रियामा आएसँगै महरा ४ पटक सांसद र ६ पटक मन्त्री तथा एक पटक सभामुख बनेका थिए । तर यही पछिल्लो १३ वर्षमा उनी सुन तस्करसँग पनि निरन्तर सम्बन्ध र सम्पर्कमा रहेको पाइएको हो ।
सुन तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग, गृह मन्त्रालय र नेपाल प्रहरी स्रोतबाट प्राप्त विवरणअनुसार महरा २०६७ सालयता चिनियाँ गिरोहसँग निकटमा रहेर सुन तस्करलाई सघाउँदै आएका बलिया प्रमाणहरु फेला परेका हुन् । सुन तस्करसँग सम्बन्ध बनेपछिका दिनमा महरा नेपालको उपप्रधानसहित परराष्ट्रमन्त्री, गृहमन्त्री र अर्थमन्त्री तथा २०७४ को आमनिर्वाचनपछि प्रतिनिधि सभाको सभामुख बनेका थिए ।
संसद सचिवालयकी एक कर्मचारीमाथि नै यौन शोषणको अभियोग लागेपछि २०७६ असोज १४ मा पदबाट राजीनामा दिएका उनलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएपछि भने शक्तिबाट बाहिर भए । २०७९ पुस १० मा भेपमा सुन ल्याउने तस्करलाई सघाएको कसुरमा उनलाई प्रहरीले गत सोमबार कपिलबस्तुको पकडीबाट पक्राउ गरी काठमाडौं ल्याएकोमा ४ दिन लगाएर बयान लिएको थियो ।
स्वास्थ्य स्थिति कमजोर रहेको भन्दै हिरासत बाहिरै बस्ने ‘छुट’ पाएपनि उनीमाथि सुन तस्करलाई सहयोग गरेका दर्जन बढी तथ्य फेला परेका छन् । भेप प्रकरणमा महरामाथि सुन तस्कर दावाजिन वाङसँगको सम्बन्धसँग मात्रै जोडेर हेरिएकोमा उनी तस्करलाई काठमाडौंमा संरक्षण दिएकोदेखि सुन तस्करले प्रयोग गर्ने सवारी साधनको बन्दोबस्तीसम्ममा पनि संलग्न रहेको देखिएको छ ।
जसलाई पूर्व न्यायाधीश डिल्लीराज आचार्य अध्यक्ष रहेको जाँचबुझ आोगले पनि यसको पुष्टि गर्दै महरामाथि ‘मतियार’का रुपमा मुद्दा चलाउन राय दिएको छ । सीआइबीले त्यसलाई नै मुख्य आधार बनाएर अनुसन्धान गरिरहेको छ । सुन तस्करीका नाइके दावाजिन वाङसँग छोराहरु राहुल भनिने रेशम र निर्मल महरामार्फत् पूर्व सभामुदख महराले सम्बन्ध बनाएका थिए ।
दुई छोरा चीनमा अध्ययन गर्न जाँदा सन् २०११ मा दावाजीनसँग भेटघाट भएको र नेपाल आएपछि निरन्तर वाङसँग सम्पर्क बाक्लिएको थियो । यतिसम्म कि, दावाजिनले महराको परिवारसँग घरदेखि महरा मन्त्री र सभामुख हुँदा सरकारी निवाससम्मै सहज पहुँच राख्ने गरेका थिए ।
महराले प्रहरी र जाँचबुझ आयोगमा पनि वाङलाई फलफूल पसलेका रुपमा आफूले चिनेको बयान दिएका छन् । तर, दावाजिन भने फलफूल पसले मात्र नभई हाइड्रोका लजिष्टिक सपोर्टर, जडिबुटी, गलैँचा, खाद्यान्न, विद्युतीय सामाग्री आयातकर्तासहितका भूमिकामा देखिएर सुन तस्करी गर्ने गरेको पनि अनुसन्धानबाट देखिन्छ ।
महराले बयानमा दावाजिनको अन्य व्यापारबारे केही उल्लेख गरेका छैनन् । दावाजिनले उनका साथी ली हाङसाङले दुबइबाट ल्याएको भेप विमानस्थलमा बरामद पछि मात्रै महराका बाबु–छोराको संलग्नता र भूमिका बाहिरिएको थियो । विमानस्थल भन्सारले भेप नियन्त्रणमा लिएपछि भन्सार प्रशासक अरुण पोखरेललाई फोन गरेर आफूले छाडिदिन भनेको कुरा महराले स्वीकार गरेका छन् ।
बाबु महराले ‘मेरो छोरा आउँछ हेरिदिनु भनेका हुन्’ भनेर आफूलाई भनेको भन्दै महराको दवाबबारे पोखरेलले प्रहरी र जाँचबुझ आयोगमा कागज नै गरेका छन् । त्यसपछि महराका बाबुछोराले सुन छुटाउन सुन तस्करसहितका विभिन्न व्यक्तिलाई २ सय ५६ पटक फोन गरेका तथ्यहरु यसअघि नै बाहिरिसकेका छन् । त्यही कसुरमा महराका कान्छा छोरा राहुलविरुद्ध काठमाडौं अदालतमा मुद्दा दायर भइसकेकोमा उनी पुर्पक्षका क्रममा जेलमा छन् ।
दावाजिनसँग महराले १८ कलमध्ये १२ पटक आफ्नै मोवाइलबाट र बाकी छाोरको मोवाइलबाट गरेको तथ्य जाचबुझ आयोगको प्रतिवेदनमै उल्लेख छ । महराले यो विषयमा आफ्नो मोवाइलबाट अरुले नै गरेहोलान् भनी उम्किन खोजेका छन् । तर, आयोगले भने प्रतिवेदनमा महराको यो दावी पत्याउन नसकिने उल्लेख गरेको छ ।
‘यसलाई आफ्नो मोबाइलबाट अरुले नै गरे होलान् भनी एक कल बाहेक अरु कल सम्पर्कलाई अस्वीकार गरेको जिकिर वस्तुगत नदेखिएको र विश्वासनीय मान्न नमिल्ने देखिन्छ,’ आयोगले महराबारे प्रतिवेदनमा भनेको छ, ‘दावाजीन वाङसँगको सम्पर्क र सम्बन्धका बारेमा छोराहरु निर्मल महरा र राहुल भन्ने रेशम महराको बयान वेहोराबाट सांस्कृतिक सम्बन्धसरह नियमित सम्पर्कमा रहेका भन्ने देखिएको छ ।’
दावाजिनसँग राहुलले ८० पटक, राहुलकी श्रीमती बिमला महराको मोवाइलबाट ६ पटक, महरा परिवारका नातेदार गंगाबहादुर केसीसँग २३ पटक मोबाइल सम्पर्क हुनुले पारिवारिक रुपमा नै सम्बन्ध र सम्पर्क स्थापित रहेको आयोगको प्रतिवेदनमा उल्लेख छ ।
आयोगले भनेको छ, ‘फलफूल ब्यापारीका रुपमा मात्रै आफूले चिनेको भनेर महराले दावी गरेपनि दावाजीन वाङसँग बसउठ र खानपानको तथ्यलाई अन्य सहप्रतिबादीहरुको बयान बेहोराबाट प्रमाणित भएको समेतका तथ्य र प्रमाणहरुबाट एकपटक मात्र सम्पर्क र भेट भएको भन्ने कृष्णबहादुर महराको भनाई झुटा देखिन्छ ।’
महरा राजकीय पदमा बसेर विदेशी संदीग्ध पात्रहरुसँग सहज उठबस र खानपानसम्मका गतिविधिमा सामेल भएको भन्दै राज्य शक्तिकै दुरुपयोग गरेर सुन तस्करलाई सहयोग गरेको आयोगको ठहर छ । ‘राज्य शक्तिका विभिन्न उच्च पदमा रहेका, उच्च राजनीतिक व्यक्तित्व निर्माण गरेका निजसँग सुन तस्करी काममा लागेका दावाजीन वाङ परिचित मात्र होइन उठबस खानपान र पारिवारिक रुपमा नियमित सम्पर्कलाई अस्वभाविक अर्थपूर्ण रुपमा लिन सकिन्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘वाङ सँगको सम्बन्ध र नियमित सम्पर्क सन २०११ देखिको सम्पर्कले महरा राजकीय शक्तिमा रहेको समय अवधिमा निरन्तर रुपमा भइ राजकीय शक्तिको दुरुपयोग हुने गरी तस्करसँगको सम्पर्कले निरन्तरता पाएको देखियो ।’
महराल आफूमाथि सुन तस्करीको आरोप लागेपछि यसबाट उम्किन नेपालस्थित एक विदेशी राजदूताबासका पूर्व कर्मचारीसँग पनि हारगुहार मागेको खुलेको छ । ती कर्मचारीले पनि आफूले ‘सकेको सहयोग’ गर्ने बचन दिएको पनि तथ्य आयोगले पत्ता लगाएको हो । महराले ‘सुन तस्करीबारे सरकार र प्रहरीसँग कुनै प्रमाण नरहेको र खराब तत्वले म र मेरो छोरामाथि राजनीतिक प्रतिशोध साँधेको’ भन्दै यसबाट उम्किन विदेशी शक्तिलाई सहयोगको याचना गरेको पनि देखिएको छ । जुन विषय महराबारे डिएफएल (डिजिटल फरेन्सिक ल्याव) रिपोर्टबाट भेटिएको हो ।
महराले ‘कृपया मप्रति कुनै भ्रम नराख्नुस । जहाँ तपाइको पहुँच छ, त्यहाँ कुरा गर्नुपर्छ । विशेषगरी पश्चिमा र दक्षिण तर्फ’ भन्दै याचना गरेका छन् । यसबारे बयानमा सोध्दा महराले इन्कार गरेका छन् । यतिमात्र होइन, महराले १४ केजी सुन तस्करी प्रकरणमा पक्राउ परेका तत्कालीन उपराष्ट्रपति नन्दबहादुर पुनका वैदेशिक मामिला विज्ञ जीवन गुरुङ र अर्का सुन तस्कर दावा छिरिङबीच पनि संदिग्ध भूमिका खेलेको देखिन्छ ।
दावाजीन वाङकै खर्चमा खानपिन भइरहेको कुनै एकबखत् पूर्व सभामुख महराले दावाजिन वाङको लगानीमा खरिद गरेको सवारी साधन आफ्नो नाउमा राखिदिन भनेकाले उक्त डस्टर गाडी आफ्नो नाउमा राखी दावाजिन वाङलाई प्रयोग गर्न दिएको जीवनकुमार गुरुङले आयोगमा बयान दिएका छन् । त्यही गाडी सुन तस्कर दावा छिरिङले पनि प्रयोग गर्ने गरेको भेटिएको हो । ‘यसबाट दावाजीन वाङलाई लजिष्टिक सहयोग गर्नमा कृष्णबहादुर महराको भुमिका देखिन्छ,’ अहायोगको प्रतिवेदनमा उल्लेख छ ।
दावा छिरिङ हाल ६१ किलो सुन तस्करी प्रकरणमा पुर्पक्षका क्रममा जेलमा छन् । हाल सुन तस्करी प्रकरणमै जेलमै रहेका भारतीय नागरिक राघवराव मरगलेले ‘मैले सुने अनुसार सुनको तस्करीमा महरा र फरार चाइनिजहरूको लगानी छ’ बनी आयोगमा बयान दिएका छन् ।
सुन तस्करीकै अर्का अभियुक्त जीवनकुमार गुरुङले पनि महराको चिनिया गिरोहसँग अस्वभाविक सम्बन्ध रहेको कुरा स्वीकारेका छन् । ‘सहप्रतिवादीका रुपमा देखिएका जीवनकुमार गुरुङगले दावाजिन वाङ सँग १७ पटक, दिपेश पुनसँग २६६ पठक, राहुल महरासँग ४ पटक, निर्मल महरासँग ८ पटक, कृष्णबहादुर महरासाग ४१ पटक सम्पर्क रहेको भन्ने कलडिटेलबाट देखिएका १४ किलो सुन प्रकरणमा प्रतिबादी कायम भई मुद्दा चलिरहेका व्यक्ति जीवनकुमार गुरुङगसँग महरा, उनका दुबै छोराको उठबस एवं सम्पर्क पारिवारिक सम्पर्क सरहको रहेको तथ्यलाई जीवनकुमार गुरुङले आयोगमा बयान गर्दा स्वीकार गरेका छन् ।’ आयेगले उपलव्ध तथ्य र प्रमाण तथा अरु परिस्थितिजन्य प्रमाणले महरालाई सुन तस्करीमा मुख्य तस्करको मतियारका रुपमा सजायँ हुने गरी मुद्दा दायर गर्नुपर्ने राय दिएको छ ।
‘भेप तथा ब्रेक शु मा सुन लुकाई ल्याउने कार्यका प्रमुख व्यक्तिमध्ये एक रहेका दावाजिन वाङसँग कृष्णबहादुर महरा र निजको परिवारको निरन्तर सम्बन्ध रहेको भन्ने तथ्यलाई सहप्रतिवादीहरू सहित बुझिएका अन्य व्यक्तिहरूको कागज र परिस्थितिजन्य प्रमाणबाट पुष्टि भएको छ,’ आयोगले भनेको छ ।
‘संगठित रुपमा हुने ठूला प्रकृतिका अपराधहरू राज्यशक्तिको सहयोग वा संरक्षण बिना प्राय असम्भव मानिन्छन् । संगठित अपराधको परिभाषाको दायरा र प्रकृतिभित्र पर्ने आपराधिक कार्यको शृङखलाको कुनै कडीमा सहभागिता वा सहयोग गरेको देखिएपनि अपराध गरेको मानिने विधिशास्त्रीय मान्यता र संगठित अपराध निवारण ऐन, २०७० को दफा ३ र ४ को कानूनी व्यवस्थाका आधारमा हेर्दा बरामद भेप छुटाउन कोशिस गरेको निजको स्वीकारोक्तिको प्रत्यक्ष प्रमाण, डस्टर गाडी व्यवस्थापनको सम्बन्धमा देखिएको लजिस्टिक सहयोग सहितको निजको सहजीकरणको कार्य, दावाजिन वाङ सँगको निरन्तर र अर्थपूर्ण सम्बन्ध रहेको भन्ने सम्बन्धमा निजका छोरा राहुल भन्ने रेशम महरा र अर्का छोरा निर्मल महराको कागज तथा जीवनकुमार गुरुङको बयान ब्यहोरा समेतका प्रमाणहरूबाट निज कसूरदार हुन भन्ने देखिन्छ,’ आयोगले भनेको छ ।
अन्तरदेशीय संगठित अपराध गम्भीर प्रकृतिको अपराध मानिने र यसप्रकारको अपराधमा प्रत्यक्ष प्रमाणको अभाव हुने हुदा परिस्थितिजन्य प्रमाणको आधारमा दोषी पत्ता लगाउनु पर्ने र परिस्थितिजन्य प्रमाणको मालाकार रुप देर्खिएको अवस्थामा दोषी मानिने स्थापित न्यायिक मान्यता रहेको भन्दै महरालाई उन्मुक्ति दिन नमिल्ने आयोगको राय छ । आयोगले महरामाथि संगठित अपराध निवारण ऐन २०७० को दफा ३ र ४ बमोजिम मतियारका रुपमा तस्करलाई सघाएको र भन्सार ऐन २०६३ को दफा ५७ प्रतिकुल काम गरेकोले बिगो, कैद र जरिवानासहितको सजाय माग दाबी गरेको छ ।
