आयोगमा आइतबारसम्म एक दर्जन उजुरी दर्ता भएका छन् । ति मध्ये निजी क्षेत्रका दुई कम्पनीले क्षतिको विवरणसहित उजुरी दर्ता गराएका छन् ।
काठमाडौँ — २३ र २४ भदौका घटना जाँचबुझका लागि गठित जाँचबुझ आयोगले घटनाबारे इमेल र हुलाकबाट मात्रै नभएर ह्वाट्एप तथा वेबसाइटमा रहेको फर्म्याटमा पनि उजुरी दिनसक्ने बताएको छ ।
कान्तिपुरसँग कुरा गर्दै आयोगका सदस्य तथा प्रवक्ता विज्ञानराज शर्माले यो सबै सम्भव नभए नजिकैको प्रहरी कार्यालयमा आयोगका नाममा उजुरी दिन सकिने बताए ।
शर्माले आयोगमा आइतबारसम्म एक दर्जन उजुरी दर्ता भएको बताउँदै निजी क्षेत्रका दुई कम्पनीले क्षतिको विवरणसहित उजुरी दर्ता गराएको पनि बताए । उनले आयोगलाइ अहिले जनशक्तिको अभाव भएको बताउँदै सरकारसँग थप जनशक्तिको माग गरिएको बताए ।
उनले भने, 'सरकारी कर्मचारीलाई काजमा लिएर अनुसन्धान अघि बढाउने तयारी गरेका छौं । फरेन्सिक, साइबर सुरक्षासम्बन्धी र अन्य विज्ञ पनि मागेका छौं । देशभर पुग्न नसक्ने भएकाले विभिन्न निकायबाट विवरण मगाएका छौं ।'
आयोगका सदस्य तथा प्रवक्ता शर्माले काठमाडौंको हकमा २३ र २४ भदौमा माइतीघर मण्डलदेखि तीनकुनेसम्म भएका घटनामा चरणबद्ध रूपमा अनुसन्धान गरिने बताए । उनले सुरुमा फिल्डमा खटिएका व्यक्ति हुँदै अनुसन्धान अघि बढ्ने बताउँदै भने, 'हामी पक्राउ गर्ने अनि अभियोजन गर्दैनौं । बयानमा बोलाउँछौं । उहाँहरूको कुरा सुनेर त्यसअनुसार प्रतिवेदन बनाएर सिफारिस गर्छौं ।'
आयोगका प्रवक्ता शर्माका अनुसार ह्वाट्सएपमा सन्देश पठाउने नम्बर ९८५१०६८१२४ हो भने इमेल ठेगाना [email protected] रहेको छ ।
