मन्त्रिपरिषद् कार्यालयले प्रधानमन्त्रीको आधिकारिक फेसबुक नाम ‘पीएम सुशीला कार्की’ हुने उल्लेख गरेसँगै सोही नाममा दर्जनौँ नक्कली आइडी खुलेका छन् ।
What you should know
काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीको नाममा सामाजिक सञ्जाल फेसबुकमा दर्जनौँ नक्कली आइडी खुलेका छन् । प्रधानमन्त्रीका नाममा नक्कली ’अकाउन्ट’ खुल्न थालेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार विज्ञप्तिमार्फत आधिकारिक ‘अकाउन्ट’बारे जनाएको थियो ।
मन्त्रिपरिषद् कार्यालयले प्रधानमन्त्रीको आधिकारिक फेसबुक नाम ‘पीएम सुशीला कार्की’ हुने उल्लेख गरेसँगै सोही नाममा दर्जनौँ नक्कली आइडी खुलेका हुन् । यो सामग्री तयार पार्दासम्म फेसबुकको सर्च बारमा अंग्रेजीमा ‘पीएम सुशीला कार्की’ टाइप गरी ‘पिपुल’ सर्च गर्दा २९ वटा ‘अकाउन्ट’ भेटियो ।
जसमध्ये अधिकांश अकाउन्ट तत्कालै खोलिएको छन् । यो सामग्री तयार पार्दासम्म प्रधानमन्त्रीको आधिकारिक फेसबुक ‘अकाउन्ट’मा १३ हजार र एक्समा ३ हजार बढी फलोअर्स पुगेका छन् ।
कुन मन्त्रीको कति फेक अकाउन्ट ?
प्रधानमन्त्रीका नाममा मात्रै ‘फेक’ अकाउन्ट छैनन्, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसहित तीन मन्त्रालय सम्हालिरहेका मन्त्री कुलमान घिसिङको नाममा पनि दर्जनौँ फेक अकाउन्ट खुलेका छन् । कुलमानले हाल भौतिकसँगै ऊर्जा जलस्रोत तथा सिँचाइ र सहरी विकास मन्त्रालय सम्हालेका छन् ।
नेपाल विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशक रहँदादेखि नै घिसिङका नाममा नक्कली अकाउन्ट खुलेका थिए । अहिले मन्त्री बनेपछि त्यो संख्या झन् बढेको देखिन्छ । घिसिङको तस्बिर र नाम प्रयोग गरेर, फेसबुक र एक्समा दर्जनौँ ‘अकाउन्ट’ खुलेका छन् । जसमा हजारौं फलोअर्स छन् । फेसबुकको सर्च बारमा अंग्रेजीमा‘कुलमान घिसिङ’ टाइप गरेर ‘पिपुल’ सर्च गर्दा फेसबुकमा कुलमानको तस्बिर प्रयोग गरेका १२ वटा ‘अकाउन्ट’भेटिए । त्यसैगरी एक्समा सर्च गर्दा १३ वटा ‘अकाउन्ट’ भेटिए ।
त्यस्तै सामाजिक सञ्जाल टिकटकको सर्चबारमा अंग्रेजीमा ‘कुलमान घिसिङ’ टाइप गरेर ‘युजर’ सर्च गर्दा उनको फोटो प्रयोग गरिएको २१ वटा ‘अकाउन्ट’ भेटियो । २१ वटामध्ये एउटा अकाउन्टमा २२ हजार फलोअर्स छन् । तर त्यो आधिकारिक होइन । यो सामग्री तयार पार्दासम्म उनको आधिकारिक अकाउन्ट ‘@kmghising’ मा ३ हजार ८८ जना फलोअर्स छन् ।
कुलमान घिसिङको आधिकारिक ‘अकाउन्ट’ कुन हो त भनेर हामीले कुलमानका स्वकीय सचिव सचेन गौतमसँग सम्पर्क गर्यौं । उनका अनुसार मन्त्री घिसिङको आधिकारि फेसबुक अकाउन्टमा २६ हजार फलोअर्स छन् । उनले भने, ‘उहाँका नाममा धेरै ‘अकाउन्ट’ खुलेका छन् । फेसबुकमा कहिलेकाहीँ पोस्ट गर्नुहुन्छ । एक्समा त्यति धेरै एक्टिभ हुनुहुन्न ।’
एक्समा भेटिएको शीर्ष ’अकाउन्ट’मा यो समाचार तयार पार्दासम्म २३ हजारभन्दा धेरै फलोअर्स छन् । तर त्यो आधिकारिक होइन । उनको आधिकारिक अकाउन्ट ‘@KMGhising’ मा २ हजार ५ सय ८१ फलोअर्समात्रै छन् ।
०००
अर्थमन्त्री रामेश्वरप्रसाद खनालको नाममा पनि फेसबुकमा नक्कली पेज सञ्चालनमा छ । ‘रामेश्वर खनाल फ्यान्स्’ नामको सो पेजबाट विभिन्न सामग्री पोस्ट भएका छन् । अर्थमन्त्रालयसँग सम्बन्धित विभिन्न पोस्ट राख्ने यो पेजमा ६६ हजार फलोअर्स छन् ।
यो पेज सन् २०१४ देखि नै सञ्चालनमा रहेको देखिन्छ ।‘पेज ट्रान्सपरेन्सी हिस्ट्री’ हेर्दा यो पेजको नाम हालसम्म पाँच पटक परिवर्तन भएको देखिन्छ । यो पेज मन्त्री खनालको आधिकारिक पेज भने होइन ।
यो सामग्री तयार पार्दासम्म मन्त्री खनालको आधिकारिक Rameshore Khanal अकाउन्टमा ३६ हजार फलोअर्स छन् ।
त्यस्तै शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनको नाम फेसबुकको सर्चबारमा अंग्रेजीमा ‘महावीर पुन’ टाइप गरी पिपुलमा सर्च गर्दा ‘डा.महावीर पुन–भिजन फर द फ्युचर’नामक अकाउन्ट भेटियो । त्यसका अलावा अन्य अकाउन्ट भेटिएन ।
त्यसैगरी एक्समा सर्च गर्दा दुई ‘महाविर पुन’कै नाममा दुई वटा अकाउन्ट सञ्चालनमा आएको भेटिए । तर ती अकाउन्ट सक्रिय छैनन् । यो सामग्री तयार पार्दासम्म मन्त्री पुनको आधिकारिक फेसबुक अकाउन्टमा ६ लाख ६१ हजार र एक्समा २ लाख ८२ हजारभन्दा बढी फलोअर्स छन् ।
०००
गृहमन्त्री ओमप्रकाश अर्याल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्यालयसहित तीन मन्त्रालय सम्हालिरहेका अनिलकुमार सिन्हा, कृषिमन्त्री मदनप्रसाद परियार र सञ्चारमन्त्री जगदीश खरेलको नाममा नक्कली अकाउन्ट भेटिएन ।
मन्त्रालयका अकाउन्ट किन निष्क्रिय ?
२३ गतेको जेन-जी आन्दोलनपछि बनेको मन्त्रिमण्डलका मन्त्रीहरूले प्राय: आफ्नै व्यक्तिगत ‘अकाउन्ट’बाट सूचना जानकारी दिइराखेका छन् । केही बाहेकका मन्त्रालयको आधिकारिक ‘अकाउन्ट’ सबै निष्क्रिय देखिन्छ ।
प्रधानमन्त्रीको आधिकारिक ‘पीएमओ नेपाल’ नामक एक्स अकाउन्ट गत सेप्टेम्बर ३ देखि निष्क्रिय र सोही नामको फेसबुक अकाउन्टले १३ सेप्टेम्बरमा ‘कभर फोटो’ अपडेट गरेको छ । त्यसयता यो अकाउन्ट निष्क्रिय छ । यसअघिका प्रधानमन्त्रीहरूले यो अकाउन्ट सञ्चालन गर्दै आएका थिए ।
प्रधानमन्त्री सुशीला कार्कीमातहत रहेका ९ मन्त्रालयमध्ये ३ मन्त्रालयको सामाजिक सञ्जाल अकाउन्ट सक्रिय छन् ६ मन्त्रालयको अकाउन्ट निष्क्रिय । उनीमातहत रहेको परराष्ट्र, स्वास्थ्य, र पर्यटन मन्त्रालयको अकाउन्ट सक्रिय छ ।
स्वास्थ्य मन्त्रालयको फेसबुक पेजबाट पछिल्लो अक्टोबर ६ मा पोस्ट अपडेट गरेको छ । तर एक्स अकाउन्ट भने मार्च १२ देखि निष्क्रिय छ । परराष्ट्र मन्त्रालयको एक्स अकाउन्टबाट गत सेप्टेम्बर २५ मा पोस्ट अपडेट गरेको छ भने फेसबुकबाट ११ सेप्टेम्बरमा पोस्ट अपडेट भएको छ । त्यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको फेसबुक पेजमा २९ सेप्टेम्बरमा ‘गुनासो सम्बोधन सम्बन्धी जानकारी’ शीर्षकको सूचना पोस्ट भएको छ । तर, एक्स अकाउन्ट गत मार्च ९ देखि केही अपडेट छैन ।
यीबाहेक प्रधानमन्त्री मातहत रहेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको फेसबुक अकाउन्टमा १३ अगस्ट र एक्स अकाउन्ट २०२२ डिसेम्बर १५ देखि निष्क्रिय छ । त्यस्तै युवा तथा खेलकुद मन्त्रालयको फेसबुक २६ अगस्ट र एक्स ७ मे देखि निष्क्रिय छ । वन तथा वातावरण मन्त्रालयको फेसबुक २८ अगस्ट र एक्स २५ अगस्ट देखि निष्कृय छ । त्यस्तै श्रम मन्त्रालयको फेसबुक अगस्ट १८ र एक्स ३० अगस्टदेखि निष्क्रिय छ ।
प्रधानमन्त्री कार्यालयमातहत नै रेहका रक्षा र खानेपानी मन्त्रालयको कुनै पनि आधिकारिक सामाजिक सञ्जाल अकाउन्ट भेटिएन ।
अन्य मन्त्रालय कति अपडेट ?
गृह मन्त्रालयको आधिकारिक एक्स अकाउन्ट सक्रिय छ । यस अकाउन्टबाट गत शनिबार (४ अक्टोबर) मात्रै सार्वजनिक बिदासम्बन्धी सूचना पोस्ट गरेको छ । फेसबुक पेजमा पनि ‘सार्वजनिक बिदासम्बन्धी सूचना’ पोस्ट भएको छ ।
अर्थ मन्त्रालयको एक्स अकाउन्टमा पनि अक्टोबर ४ मा अपडेट भएको छ । यद्यपि अर्थ मन्त्रालयको आधिकारीक फेसबुक अकाउन्ट भेटिएन । रामेश्वर खनालमातहतै रहेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको फेसबुक र एक्स दुवै अकाउन्ट २०२४ मार्च २८ देखि निष्क्रिय छ ।
पुर्वन्यायधिस समेत रहेका अनिलकुमार सिन्हाले कानुन मन्त्रालय सम्हालेका छन् । तर मन्त्रालयको आधिकारिक समाजिक सञ्जाल एक्स र फेसबुक अकाउन्ट आधिकारिक अकाउन्ट भेटिएन । सिन्हाले नै सम्हालेका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको आधिकारि फेसबुक पेज गत सेप्टेम्बर २ मा अपडेट भएको देखिन्छ । यद्यपि यस मन्त्रालयको आधिकारिक एक्स अकाउन्ट छैन । त्यस्तै सिन्हामातहतकै उद्योग मन्त्रालयको एक्स अकाउन्ट २०२४ सेप्टेम्बर १२ देखि निष्क्रिय छ । यस मन्त्रालयको पनि आधिकारिक फेसबुक अकाउन्ट भेटिएन ।
कुलमान घिसिङ मातहतको भौतिक पूर्वाधार तथा यातायातको फेसबुक पेज २०२३ अप्रिज ५ देखि निष्क्रिय छ । यो मन्त्रालयको आधिकारिक एक्स अकाउन्ट भेटिएन । त्यस्तै सहरी विकास मन्त्रालयको फेसबुक र एक्स अकाउन्ट २०२४ अगस्ट १२ देखि निष्क्रिय छ । घिसिङमातहतै रहेको ऊर्जा मन्त्रालयको कुनै पनि आधिकारिक सामाजिक सञ्जाल अकाउन्ट भेटिएन ।
महावीर पुनले सम्हालेका शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको फेसबुक अकाउन्ट १६ सेप्टेम्बरमा अपडेट भएको छ । यद्यपि एक्स अकाउन्ट गत अगस्ट १७ देखि निष्क्रिय छ । त्यस्तै मदनप्रसाद परियारले सम्हालेका कृषि मन्त्रालयको आधिकारिक फेसबुक अकाउन्ट २०२४ अगस्ट १५ र एक्स अकाउन्ट २०२५ अप्रिल ५ देखि निष्क्रिय छ ।
जगदीश खरेलले सम्हालेका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आधिकारिक फेसबुक अकाउन्ट २०२५ मार्च ७ देखि निष्क्रिय छ भने एक्स अकाउन्टमा २०२३ डिसेम्बर २९ देखि केही पोस्ट भएको छैन ।
