फेसबुकमा 'PM Sushila Karki' सर्च गर्दा सोही नामका कम्तीमा २९ वटा 'अकाउन्ट' भेटियो, जसमध्ये अधिकांश तत्कालै खोलिएको छ भने कतिपयको नाम परिवर्तन गरिएको छ ।
काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीको नाममा सामाजिक सञ्जाल फेसबुकमा दर्जनौं नक्कली आइडी खुलेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रधानमन्त्रीको आधिकारिक फेसबुक नाम 'PM Sushila Karki' राखेसँगै सोही नाममा दर्जनौं नक्कली आइडी खुल्ने क्रम बढ्दो देखिन्छ ।
फेसबुकमा 'PM Sushila Karki' सर्च गर्दा सोही नामको कम्तीमा २९ वटा 'अकाउन्ट' भेटियो । जसमध्ये अधिकांश अकाउन्ट तत्कालै खोलिएको छ भने कतिपयको नाम परिवर्तन गरेको पाइयो ।
यसअघि पनि सामाजिक सञ्जाल एक्समा प्रधानमन्त्रीको नाममा फेक आइडी सञ्चालनमा ल्याइएको थियो । यसरी नक्कली अकाउन्ट खोल्न थालेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले विज्ञप्तिमार्फत आधिकारिक 'अकाउन्ट'बारे जानकारी गराएको थियो ।
आइतबार मात्रै मन्त्रिपरिषद् कार्यालयले प्रधानमन्त्री कार्कीको नाममा सामाजिक सञ्जाल फेसबुक, एक्स र इन्स्टाग्राममा औपचारिक 'अकाउन्ट' खोलेको जनाएको छ । जसको आधिकारिक लिंक यी हुन्- फेसबुक, एक्स र इन्स्टाग्राम ।
पुरानो हुँदाहुँदै नयाँ किन ?
यसअघिका प्रधानमन्त्रीले 'पीएमओ नेपाल' नामक फेसबुक र एक्स अकाउन्ट प्रयोग गर्दै आएका थिए । तर प्रधानमन्त्री कार्कीले आफ्नो छुट्टै अकाउन्ट सञ्चालनमा ल्याएकी हुन्।
प्रधानमन्त्री कार्यालयको सूचना प्रविधि महाशाखा हेर्ने सहसचिव सुवास ढकालका अनुसार प्रधानमन्त्रीको सचिवालयले निर्णय गरेर नै सामजिक सञ्जालमा नयाँ 'अकाउन्ट' सञ्चालनमा ल्याइएको हो ।
'सम्माननीय प्रधानमन्त्रीको सचिवालयबाट नै नयाँ अकाउन्ट खोल्ने निर्णय भयो । त्यसैले नयाँ अकाउन्ट सञ्चालनमा ल्याइएको हो । हामीसँग पुरानो आइडी पनि छ,' उनले भने ।
