जोखिम मोलेर रोशी खोला हुँदै यात्रु गन्तव्यतर्फ, पुष्पलाल मार्ग हुँदै ३३ हजार यात्रु राजधानी भित्रिँदै,नागढुंगा–मुग्लिङ सडकखण्ड सोमबारदेखि सञ्चालनमा,हेटौंडा–काठमाडौं जोड्ने सबै मार्ग सुचारु
What you should know
काभ्रे, सिन्धुली र दोलखा — दुई महिनाकी सुत्केरी उदयपुरकी दुर्गामाया तामाङ दिउँसोको टन्टलापुर घाममा भीरपाखा, उकालो–ओरालो गर्दै रोशी खोलाको तीरैतीर ५ घण्टा पैदल हिँडेर नमोबुद्ध र रोशी गाउँपालिकाको सिमाना चौंकीडाँडा आइपुगिन् । उनी बिहानै ९ बजे रोशीको घ्याङडाँडाबाट हिँडेकी थिइन् । ‘बाढीपहिरोले बाटो कतै सद्दे छैन, ५ घण्टामा बल्लबल्ल चौकीडाँडा आइपुगियो, यहाँबाट त बाटो राम्रो रहेछ, अब गाडीमा एक/दुई घण्टामा काठमाडौं पुगिन्छ कि !’ उनले भनिन् ।
दसैं मनाउनका लागि १४ असोजमा घ्याङडाँडास्थित माइती पुगेकी दुर्गामायाको १७ असोजको रातिदेखि परेको वर्षाले काठमाडौं फर्किने बाटो रोकियो । अविरल वर्षाका कारण राजमार्ग अवरुद्ध भएपछि सवारी आवागमन ठप्प भयो । तर दुर्गामायाले भने दुई महिनाको सन्तान च्यापेर सोमबार हिँडेरै काठमाडौं जाने गरी बाटो समाएकी हुन् । ‘बाटो खुल्न धेरै दिन लाग्छ जस्तो लागेर हिँडेरै भए पनि आइयो,’ चौकीडाँडामा भेटिएकी उनले भनिन्, ‘जहाँबाट गाडी पाइन्छ, त्यहींबाट चढ्ने भनेर हिँड्दाहिँड्दै ५ घण्टा लगाएर यहाँसम्म आइपुगियो ।’
दुर्गा जस्तै रोशी खोलाको छेउ–भित्ता समाउँदै चौंकीडाँडासम्म आइपुगेका थिए, प्रदीप तामाङ पनि । रोशी खोलाले बीपी राजमार्ग कटान गरेपछि उनी पनि मंगलटारदेखि हिँडेरै यहाँसम्म आइपुगेका हुन् । ‘बाटो पूरै बिग्रेको छ, कहिले खुल्छ भन्ने टुंगो नभएपछि हिँडेरै भए पनि काठमाडौं पुग्ने भनेर ८ बजे बिहानैदेखि हिँडेको,’ उनले थपे, ‘४ घण्टामा दुःखकष्ट गरेर यहाँसम्म आइपुगियो, यहाँबाट त गाडी पाइँदो रहेछ, अब गाडी चढेर जानुपर्ला ।’ उनका अनुसार, मंगलटारदेखि चौकीडाँडासम्मको बाटो निकै नै क्षतिग्रस्त हुँदा पैदल हिँड्नसमेत जोखिम छ ।
‘बाटो कतै छैन, खोला बढेको छ,’ पैदलै आइपुगेकी अर्की रोशी–५ की सन्तोषी लामाले भनिन्, ‘खोलैखोला हिँडेर मुस्किलले आइपुगियो, बूढापाका, बालबच्चा भएका आमालाई त हिँड्न पनि निकै कष्टकर छ ।’ दसैंको टीका लगाउन ससुराली घ्याङडाँडा पुगेका भक्तपुरका सुवास तामाङ बाढीपहिरोका कारण दुई दिन ससुरालीमै रोकिए । तर रोशी खोलाले राजमार्ग पूर्ण रूपमा बन्द भएको र खुल्न निकै दिन लाग्न सक्ने भएपछि हिँडेरै भए पनि गन्तव्यतर्फ लागेका हुन् ।
१७ असोजको रातिदेखि निरन्तर परेको वर्षाले बीपी राजमार्गको भकुन्डे–नेपालथोक सडकखण्डमा धेरै क्षति पुर्याएको सडक डिभिजन कार्यालय भक्तपुरका इन्जिनियर दुर्गाप्रसादले जानकारी दिए । उनका अनुसार, बीपी राजमार्गअन्तर्गत उक्त खण्डको १७ स्थानमा रोशी खोलाले क्षति पुर्याएको छ । ‘गत वर्ष असोजको दोस्रो सातामा आएको बाढीले जहाँ–जहाँ बढी क्षति पुर्याएको थियो, यस वर्ष पनि त्यहीँ बढी क्षति पुगेको छ,’ उनले भने, ‘अस्थायी मर्मत गरेर राखिएको डाइभर्सन अस्तिको बाढीले बगाएको छ, बीपी राजमार्गको करिब ४ किलोमिटर पूर्ण रूपमा क्षति भएको छ ।’
बीपी राजमार्गअन्तर्गत चौकीडाँडा, बोक्सेकुना, माम्ती, चारबेसी, घुमाउने लगायतका स्थानहरूमा निकै नै जोखिम रहेको दुर्गाप्रसादले बताए । उनका अनुसार, यी स्थानमा अब शून्यबाटै फेरि मर्मत सुरु गर्नुपर्नेछ । यथाशक्य चाँडो यातायात सुचारु गर्नका लागि तयारी भइरहेको पनि उनले बताए । ‘रोशी खोलमा पानीको बहाव घटेको छैन,’ उनले भने, ‘त्यसकारण पनि मर्मत कार्यमा कठिनाइ भइरहेको छ ।’ यद्यपि सोमबारदेखि नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाको सीमा क्षेत्र चौकीडाँडाबाट मर्मत कार्यको थालनी गरिएको छ । नेपालको पूर्वी नाका जोड्ने बीपी राजमार्ग अवरुद्ध हुँदा हजारौं यात्रुहरू प्रभावित भएका छन् ।
रोशीले बगाएको राजमार्गको ट्र्याक निर्माण गर्न सुरु
गत वर्षको असोज १०, ११ र १२ मा परेको अविरल वर्षाका कारण रोशी खोला बढीले बर्दिबासदेखि धुलिखेलसम्म कुल १ सय ६० किलोमिटर लामो बीपी राजमार्गको काभ्रे, भकुन्डेबेसीदेखि नेपालथोकसम्मको १० किलोमिटर सडक क्षतिग्रस्त भएको थियो । त्यसलाई अस्थायी मर्मत गरेर सञ्चालनमा ल्याएको वर्ष दिन नपुग्दै असोज १७ र १८ मा वर्षाले पुनः क्षति गराएको छ ।
बीपी राजमार्गअन्तर्गत नेपालथोक–धुलिखेल खण्डको दुम्जा प्रहरी चौकी नजिक रोशी खोलाले कटान गरेको सडक सोमबारबाट ट्र्याक खोल्न सुरु गरिएको छ । रोशी खोलालाई पूर्वतर्फ डाइभर्ट गरेर ट्र्याक बनाउन सुरु गरिएको हो । नेपालथोकदेखि बर्खेखोलासम्म सिन्धुलीतर्फ करिब ६ सय मिटर रोशी खोलाले बगाएको छ । डिभिजन सडक कार्यालय खाल्टेका प्रमुख पारसमणि हमालका अनुसार यो ट्र्याक खुलेपछि काभ्रेका माम्तीसम्म यातायात सुचारु हुनेछ । बीपी राजमार्गको धुलिखेल, सिन्धुली–बर्दिबास सडकको तीनखण्ड सञ्चालनमा रहेको समेत उनले बताए । १ सय १० किलोमिटर सडकमा यातायात सुचारु रहेको र ५० किलोमिटर पुनर्निर्माणको चरणमा रहेको हमालले बताए ।
कोशी र मधेशका सवारी पुष्पलाल मार्ग हुँदै काठमाडौंतर्फ
बीपी राजमार्ग वैकल्पिक सडकका रूपमा प्रयोगमा आएको पुष्पलाल मार्ग प्रयोग गरेर सोमबार दिउँसो २ बजेसम्म १८ सय सानाठूला सवारीसाधन काठमाडौंतर्फ लागेका छन् । ती सवारीसाधनबाट हालसम्म १९ हजार बढी यात्रु काठमाडौं भित्रिएको प्रहरीले जनाएको छ । सोमबार बिहानैदेखि पुष्पलाल मार्गमा सवारी चाप अत्यधिक बढेको छ । शनिबार दिउँसोबाट बीपी राजमार्गको विकल्पमा सवारी साधनले पुष्पलाल मार्ग प्रयोग गरेर यात्रुलाई राजधानी लैजान थालेका हुन् । तीन दिनमा पुष्पलाल मार्गबाट ३३ हजार बढी यात्रुले यात्रा गरेको उनले बताए ।
सवारी चाप बढेपछि राजमार्गमा सवारीसाधन र यात्रुको सहजताका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय र प्रहरी खटिएको दोलखाका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले बताए । बीपी राजमार्ग बाढी र पहिरोले अवरुद्ध बनेपछि सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, उदयपुर, रामेछाप लगायतबाट छुटेका साना तथा ठूला सवारीसाधनले पुष्पलाल मार्ग हुँदै मन्थली चरिकोटबाट अरनिको राजमार्ग प्रयोग गरेर राजधानी गइरहेका छन् ।
नागढुंगादेखि मुग्लिङसम्मको सडक सोमबारदेखि सञ्चालनमा
गत शुक्रबारदेखि अविरल परेको वर्षाको कारण संघीय राजधानी प्रवेशको नाकाको रूपमा रहेको धादिङ खण्ड पनि पूर्ण रूपमा प्रभावित बन्यो । देशका ६७ जिल्लालाई संघीय राजधानी काठमाडौंसँग जोड्ने पृथ्वी राजमार्गको मुग्लिङदेखि त्रिभुवन राजपथको नागढुंगासम्मको ९० किलोमिटर सडकको २२ स्थानमा सानाठूलो पहिरो खस्दा शुक्रबार र शनिबार यो सडकखण्डमा सवारी आउजाउ पूर्ण रूपमा बन्द भयो ।
मलेखु–मुग्लिङ सडकखण्डको जवाङ खोलामा शुक्रबार खसेको पहिरो राति नै पन्छाइए पनि पुनः पहिरो खस्दा जवाङ खोला खण्ड दिनभर जस्तै बन्द रहयो । यही खण्डअन्तर्गत मुग्लिङ नजिकै पानी धारा, घोप्टेभीर, धादिङपट्टिको जवाङ खोला ज्यामिरेघाटमा राजमार्ग पूर्ण रूपमा बन्द गर्ने गरी पहिरो खस्यो । यता मलेखु–नागढुंगा सडकखण्डको घाटबेसी, चिरौंदी, जहरेखेत, महादेवबेसीमा खसेको पहिरोले पनि शुक्रबारदेखि सोमबार दिउँसोसम्म ठाउँठाउँमा सवारी आवागमन अवरुद्ध भए । सोमबार दिउँसोदेखि भने नागढुंगादेखि मुग्लिङसम्मको सडकखण्डमा निर्बाध रूपमा सवारी आवागमन भइरहेको छ । यो सडकखण्ड निर्माणको चरणमा छ । तीन खण्डमा विभाजन गरी ठेक्का भएको यो सडकखण्डमा पहिरोको कारण राजमार्ग पटकपटक अवरुद्ध भए पनि शुक्रबारदेखि परेको वर्षाले अन्य क्षति भने नपुर्याएको नागढुंगा–मुग्लिङ सडक आयोजनाअन्तर्गत पूर्वी खण्डका इन्जिनियर केशव देवकोटाले बताए । निर्माणको चरणमा रहेकोमध्ये नागढुंगा–नौबिसे–मलेखु खण्डमा ४३.५ प्रतिशत र मलेखु–मुग्लिङ सडकखण्ड ३४.५ प्रतिशत कार्य प्रगति भएको छ ।
हेटौंडा–काठमाडौं जोड्ने सबै मार्ग सञ्चालन
असोज १७ र १८ को अविरल वर्षात्का कारण अवरुद्ध हेटौंडा–काठमाडौं आउजाउ गर्ने सम्पूर्ण बाटोहरू सोमबारबाट पूर्ण रूपमा सञ्चालनमा आएको छ ।
वर्षात्को समयमा पनि अवरोध सिर्जना नभएको त्रिभुवन राजपथ र हेटौंडा–कुलेखानी–फर्पिङ सडकखण्ड आइतबार बिहानैबाट सञ्चालनमा आएको थियो । इन्द्रसरोबर–४, सिस्नेरीमा खोलाको बहाव बढेपछि अवरुद्ध भएको हेटौंडा–कुलेखानी–सिस्नेरी सडक सोमबार बिहानबाट र कान्ति लोकपथ दिउँसोबाट सञ्चालनमा आएको हो ।
काठमाडौंबाट मकवानपुरसहित तराईका अधिकांश जिल्लाका यात्रुहरू हेटौंडा–फाखेल र हेटौंडा–सिस्नेरी (छोटो दूरी) को मार्ग भएर आउजाउ गर्ने गरेका छ । यस सडकखण्डहरू अवरुद्ध हुँदा दसैंको समयमा हेटौंडा–काठमाडौं आउजाउ गर्ने यात्रुले समस्या भोग्दै आएका थिए ।
स्थानीय प्रशासनले हेटौंडाबाट काठमाडौं जानेका लागि सिस्नेरीको मार्ग र काठमाडौंबाट हेटौंडा आउनेका लागि फाखेलको बाटो प्रयोगमा ल्याएको छ । जसका कारण सवारी जाममा कमी आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका निरीक्षक बच्चुराम फुयालले जानकारी दिए । बकैया गाउँपालिका–११ घट्टेपाखा सिमात घुम्तीमा गएको ठूलो पहिरो पन्छाएपछि कान्ति लोकपथ सञ्चालनमा आएसँगै हेटौंडा–काठमाडौं आउजाउ गर्ने सबै बाटो सञ्चालनमा आएको हो । मकवानपुरकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठसहित सुरक्षाका प्रमुख बिहानै पहिरो प्रभावित क्षेत्रमा पुगेर अनुगमन र व्यवस्थापन कार्यमा संलग्न भएका थिए ।
शुक्रबार रातिदेखिको लगातार वर्षाले कान्ति लोकपथका विभिन्न ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । प्रशासनका अनुसार ठिंगनदेखि बगुवा खोलासम्म खसेका तीनवटा ठूला पहिरोहरू शुक्रबार नै पन्छाइएको थियो । हेटौंडादेखि बगुवा खोलासम्मका साना–ठूला गरी आधा दर्जनभन्दा बढी पहिरोहरू हटाइएको छ ।
