पाँचथर दुर्घटना : मृतक र घाइते सबैको पहिचान खुल्यो

दुर्घटनामा परी ६ जनाको मृत्यु भएको थियो भने अरू ६ जना घाइते भएका थिए।

आश्विन १९, २०८२

आनन्द गौतम, लक्ष्मी गौतम

Panchthar accident: The identities of the dead and injured have been revealed

What you should know

पाँचथर, ताप्लेजुङ — पाँचथरको कुम्मायक गाउँपालिका-३ कात्तिकेमा शनिबार दिउँसो भएको दुर्घटनामा ज्यान गुमाएका र घाइते सबैको पहिचान खुलेको छ । दुर्घटनामा परी ६ जनाको मृत्यु भएको थियो भने अरू ६ जना घाइते भए।

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ साँवाबाट धरानका लागि छुटेको मे १ ज ३०५५ नम्बरको बोलेरो शनिबार मध्यान्ह तमोर करिडोर सडकको कात्तिके खण्डमा सडकबाट करिब तीनसय मिटर तल खसेको थियो। 

प्रहरीका अनुसार दुर्घटनामा परी मृत्यु हुने सबै जना ताप्लेजुङका हुन्। दुर्घटनामा मेरिङ्देन गाउँपालिका-५ की २८ वर्षीया मनिषा कार्की, सोही वडाका २५ वर्षीय धनकुमार लिम्बू र ३२ वर्षीय अभिषेक लिम्बू, सोही गाउँपालिका वडा नं. ४ की २१ वर्षीया गीता हाङगाम, वडा नं. २ का ३३ वर्षीय बिनोद लुङवा र सिदिङवा गाउँपालिका-१ की २९ वर्षीया युना तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी रुपेश तामाङले जानकारी दिए ।

उनका अनुसार मेरिङदेन गाउँपालिका-५ का २२ वर्षीय महेश लिम्बू, मिक्वाखोला गाउँपालिका-४ का २५ वर्षीया मनु साँवा लिम्बू, ताप्लेजुङको  कालिखोलाका ७ वर्षीय सन्तोष लिम्वू, सुनसरीको इटहरी-७ का ३५वर्षीय महेश गुरागाई, मेरिङदेन-५ का २५ वर्षीय बिमल लिम्बू र मिक्वाखोला-४ ताप्लेजुङका २९ वर्षीय सञ्जुहाङ लिम्बू घाइते भएका छन्। 

घाइतेहरू अधिकांशको टाउको, ढाड र हातखुट्टामा चोट लागेको छ भने उनीहरूको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। दुर्घटनामा ज्यान गुमाएका ६ जनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पाँचथर ल्याइएको छ।

प्रहरीका अनुसार बोलेरोमा चालकसहित १२ जना यात्रु सवार थिए। दुर्घटनास्थल टाढा भएका कारण करिब एक घण्टापछि मात्रै घाइतेको उद्धार सम्भव भएको थियो। दुर्घटना के कारणले भएको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

स्थानीय सर्वसाधारण, जनप्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले घाइते र मृतकको उद्वार गरेका थिए। 

आनन्द गौतम गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

लक्ष्मी गौतम गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully