तीन दिनका लागि पदयात्रा रोक्न ट्रेकिङ एजेन्सिज एसोसिएसनको सर्कुलर

ट्रेकिङ एजेन्सीहरूलाई आगामी तीन दिन (असोज १८, १९ र २०) मा पदयात्रा (ट्रेकिङ) स्थगन गर्न अनुरोध गरिएको छ ।

आश्विन १८, २०८२

सुरज कुँवर

Circular of Trekking Agencies Association to stop trekking for three days

काठमाडौँ — देशभर जारी भारी वर्षा र बाढीको सम्भावित जोखिमका कारण नेपाल ट्रेकिङ एजेन्सीज एसोसिएसन  (टान)ले आफ्ना सदस्य ट्रेकिङ एजेन्सीहरूलाई आगामी तीन दिन (असोज १८, १९ र २०) मा पदयात्रा (ट्रेकिङ) स्थगन गर्न र अन्य पर्यटन गतिविधिबारे सावधानीपूर्वक योजना बनाउन अनुरोध गरेको छ। हाल देशभर २० हजार पर्यटक विभिन्न गन्तव्यमा गएका र जाने तरखरमा छन् ।

टानका महासचिव सोनाम ग्यान्जेन शेर्पाले शनिबार विज्ञप्ति जारी गर्दै जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानलाई उद्धृत गर्दै हालको मौसम अवस्था अत्यधिक अस्थिर रहेकाले यात्रु, पदयात्री, गाइड, सहयोगीहरूको सुरक्षालाई पहिलो प्राथमिकता दिनुपर्ने बताइएको छ।

‘मौसम विभागद्वारा जारी गरिएको मौसम पूर्वानुमान अध्ययन गरी आफ्ना तालिका मिलाउन र आगामी तीन दिन कुनै नयाँ ट्रेक सुरु नगर्नुहोस् । सोमबारपछि बाटो र अन्य पूर्वाधारहरूको स्थिति मूल्याङ्कन गरी ट्रेक सुरु गर्नहोला,’ विज्ञप्तिमा भनिएको छ । 

टानले  सदस्य एजेन्सीहरूलाई राजमार्गमा यात्रा नगर्न, स्थानीय प्रशासनका निर्देशन पालना गर्न र विशेषगरी काभ्रेभञ्ज्याङ–मन्थली मार्ग र अन्य जोखिमयुक्त स्थानहरूमा साँझ ५ बजेपछि यात्रा नगर्न अनुरोध गरेको छ।

विभिन्न गन्तव्यमा रहेका विदेशी स्वदेशी पदयात्री, गाइड र सहयोगी स्टाफहरूलाई स्थानीय बाटो तथा पूर्वाधारको स्थिति मूल्याङ्कन गरी सबै आवश्यक सुरक्षा उपाय अपनाउन निर्देशन दिएको छ।

संघले दक्ष ट्रेकिङ गाइडहरूलाई स्थानीय समुदाय, उद्यमी तथा सरकारी निकायसँग समन्वय गरी मौसमको अवस्था मूल्याङ्कन गर्न, विपद् आए उद्धारमा सहयोग गर्न र स्थानीय बासिन्दा तथा सम्पत्तिको सुरक्षामा सघाउन पनि आग्रह गरेको छ।

आपत्कालीन अवस्थाका लागि महासचिव सोनाम ग्यान्जेन शेर्पाको मोबाइल नम्बर ९८५१०७८७४८० र प्रमुख कार्यकारी अधिकृत रामचन्द्र सेढाईंको मोबाइल नम्बर ९८४३६८७५४८० लाई सम्पर्क गर्न टानले अनुरोध गरेको छ।

संघले सबै ट्रेकिङ एजेन्सी र पर्यटन व्यवसायीलाई यात्रुहरूको जीवन र सुरक्षालाई प्राथमिकता दिँदै जिम्मेवार ढंगले कार्य गर्न आग्रह गर्दै मौसम सामान्य नहुँदासम्म ट्रेकिङ स्थगित गर्न सुझाएको छ । 

सम्बन्धित अन्य समाचार 

ट्रेकिङमा तन्नेरी

सुरज कुँवर कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully