प्रकाशले भनेका छन्- 'जेन-जी आन्दोलनका दिन मेरो खुट्टाको रगतले रंगिएको सेतो जुत्ता तपाईंलाई याद छ होला, म त्यसलाई फेरि एकपटक छुन चाहन्छु ।'
काठमाडौँ — जेन–जी आन्दोलनमा गोली लागेर घाइते भएका दैलेखका २८ वर्षीय प्रकाश बोहरा अहिले पनि राष्ट्रिय ट्रमा सेन्टरको बेडमा उपचाररत छन् । दसैंका अवसरमा आफ्ना साथीहरूलाई शुभकामना दिँदै उनले सामाजिक सञ्जालमार्फत एउटा भावुक अनुरोध सार्वजनिक गरेका छन् ।
आन्दोलनका दौरान रगतले लतपतिएको आफ्नो सेतो जुत्ता खोजिदिनका लागि उनले सबैमा आग्रह गरेका हुन् ।
'यो उत्सवका बेला तपाईंहरू आफ्ना परिवारसँग रमाइरहनुभएको होला, म भने अझै अस्पतालको बेडमै छु,' प्रकाशले लेखेका छन्, 'जेन–जी आन्दोलनका दिन मेरो खुट्टाको रगतले रंगिएको सेतो जुत्ता तपाईंलाई याद छ होला । अस्पतालमा ल्याउँदा दायाँ जुत्ता सरसफाइको क्रममा कहाँ पुग्यो थाहा छैन ।'
गत भदौ २३ गते संसद् भवन अगाडिको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर प्रकाश ढलेका थिए । उनको बायाँ खुट्टामा गम्भीर चोट पुगेको छ । त्यहीबेला उनले लगाएको सेतो जुत्ता छुटेको थियो । रगतले रंगिएको उनको त्यो जुत्ता जेन–जी विद्रोहको 'आइकन' बनेको थियो ।
यो जुत्ताबारे सामाजिक सञ्जालमा अनेक अड्कलबाजी चलेका बेला कान्तिपुरले खोजबिन गर्दा यो जुत्ता २८ वर्षीय प्रकाश बोहराकै भएको पुष्टि भयो ।
स्वास्थ्य सुधार हुँदै गर्दा त्यो आफ्नो जुत्तालाई फेरि एकपटक स्पर्श गर्ने चाहना रहेको प्रकाशले बताएका छन् । 'त्यो जुत्ता केवल कपडा होइन, हाम्रो आन्दोलनको आवाज र हाम्रो पुस्ताको साहसको प्रतीक हो । फेरि नयाँ जुत्ता लगाएर हिँड्न सक्ने दिन पक्कै आउनेछ भन्ने विश्वास छ। तर त्यो रगतले रंगिएको जुत्तासँग एकपटक नजिक हुन पाएँ भने मेरो संघर्षको स्मृति पूरा हुनेछ,' उनले भनेका छन् ।
अस्पताल पुर्याउँदा उनको दायाँ जुत्ता मात्र साथमा थियो । 'त्यो सरसफाइको क्रममा कहाँ पुग्यो थाहा छैन । त्यो देब्रे जुत्ता, जुन आन्दोलनको प्रतीक बनेर सडकमै छुट्यो, तपाईंमध्ये कसैको नजरमा परेको छ वा भेटिएको छ ? कृपया मलाई त्यो जुत्ता एक पटक हेर्नुछ,' उनले उल्लेख गरेका छन्, 'म त्यसलाई फेरि एकपटक छुन चाहन्छु ।'
यो पनि : यसरी पत्ता लागे जेन-जी आन्दोलनको आइकोनिक जुत्ताका पात्र
