जेन-जी आन्दोलनको आइकोनिक जुत्ता कसको थियो भनेर खोज्न हामीलाई जति समय लाग्यो त्योभन्दा धेरै यसबारे फैलिएका अफवाह र मिथ्या सूचना चिर्दै सत्यको नजिक पुग्न लाग्यो ।
काठमाडौँ — एउटा जुत्ताले पनि कति गहिरो कथा बोक्दो रहेछ ! यो कुरा हामीले जेन-जी विद्रोहपछि सामाजिक सञ्जालमा भाइरल बनेको रगताम्य जुत्ताको कथा खोज्ने क्रममा थाहा पायौं ।
एकदिन न्युजरुममा कुरा उठ्यो, जेन-जी विद्रोहको प्रतीक बनेको त्यो रगताम्य जुत्ता कसको होला ? यो जुत्ताबारे सामाजिक सञ्जालमा अनेकन अडकलबाजी चलिरहेका थिए । तर कसैले पनि प्रमाणसहित यो जुत्ता कसको हो भनेर खोतल्न सकिरहेका थिएनन् । कसैले भनेका थिए, यो कुनै सहिदको जुत्ता हो । कसैले भनेका थिए, यो आन्दोलनलाई उचाइ दिन तयार पारिएको कलात्मक काम हुन सक्छ । कसैले भनेका थिए, एआईबाट पो बनाइएको हो कि ?
सत्यको गहिराई नभेटिएसम्म चल्ने अडकलबाजी नै हुन् । हामी तीनैजना यसको तथ्य उधिन्न हिड्यौं । हाम्रो खोजी सामाजिक सञ्जालबाटै सुरु भयो । रगतले लतपतिएका जुत्ता भएका अनेकन भिडियोहरु सामाजिक सञ्जालमा भाइरल बनिरहेका थिए । तर ती दृश्यमा अनुमान थिए, ठ्याक्कै कसको भन्न सकिने आधार थिएनन् । हामी तीनै जना आन्दोलनमा हिँडेका र सेतो जुत्ता लगाएका मान्छेहरु खोजिरहेका थिए । त्यहाँबाट केही क्लु भेटन सकिन्छ कि भन्ने हाम्रो अनुमान थियो ।
पहिलो दिनको आन्दोलनमा होमिएका एक जनासँग रगतले लत्पतिएको जुत्ताको कलर मिल्यो । हामीले तीनै मान्छेको जुत्ता पो हो कि भनेर यहीसँग सम्बन्धित अन्य भिडियो खोज्न थाल्यौं । हामीले दिनमा ५ घन्टासम्म लगातार अनेकन भिडियो हेर्यौँ । कुरा मिले मिले जस्तो हुन्थ्यो तर मिल्दैनथ्यो । प्रमाण जुटेजस्तो हुन्थ्यो तर फेरि केही तथ्यहरु बाझिन्थे ।
यसरी भेटिएला जस्तो नलागेपछि हामीले आन्दोलनका दिन क–कसलाई गोली लागेको थियो र कोको घाइते थिए भनेर खोज्न थाल्यौं । पक्कै पनि कोही सहिद वा कोही घाइतेको जुत्ता हुनुपर्छ भन्ने अनुमानतिर सोझिएर भिडियोहरु खोज्न थाल्यौं । रक्तमुछेल जुत्ता कसको थियो ? हरेक दिन न्युज मिटिङमा यही कुरा हुन्थ्यो । यस्तो कुरा हुन थालेकै तीन चार दिन भइसकेको थियो । सबै साथीहरुको जिज्ञासा थियो, आखिर जुत्ता कसको थियो । तर कसैसँग पनि यकिन उत्तर थिएन । अनेकन अनुमान थिए । र ती प्रत्येक अनुमान सही हुन् कि हैनन भनेर हामीले छलफल जारी राखेका थियौं ।
हामीले आन्दोलनमा पुगेका र सेतो जुत्ता लगाएका कैयन तस्बिर जम्मा पार्दै गुगलमा रिभर्स सर्च गर्दै एक एक गरेर खोजिरहेका थियौं । कुनै अनुमान मिलेजस्तो हुन्थ्यो । कुनै अनुमान सुरुमै मिल्दैनथ्यो ।
एकथरीले सामाजिक सञ्जालमा यो जुत्ता आन्दोलनका सहिद ईश्वत अधिकारीको हो भन्ने कुरा गरिरहेका थिए । हामीले ईश्वतका नजिकका मान्छेसँग पनि सम्पर्क गर्यौं । उनले त्यो दिन सेतो जुत्ता त लगाएका थिए तर त्यो रगतले लतपतिएको जुत्ताभन्दा फरक थियो ।
एक जनाले सामाजिक सञ्जालमा 'मेरो भाइको जुत्ता' भनेर रुँदै भिडियो पोस्ट्याएका थिए । हामीले ती मान्छेसँग सम्पर्क गर्ने प्रयास गर्यौं । उनी जापानमा बस्ने रहेछन् । उनले त्यो भिडियो आफूले भावुक भएर प्रतीकात्मक रुपमा बनाएको बताए ।
एकथरीले सामाजिक सञ्जालमा भनिरहेका थिए, 'यो जुत्ताको फोटो फेक हो ।' कसैले पेन्टिङ हो भनेका थिए । कसैले इन्स्टलेसन आर्ट । हामीले केही चित्रकारहरुसँग पनि यस विषयमा सोध्यौं । तर सबैले भने यो पेन्टिङ हैन । किनकि यसमा यति धेरै डिटेलिङ छ कि यो पेन्टिङ हुनै सक्दैन ।
हामी तीन जनाले काम बाँडेका थियौं । एक जना भिजुअल इन्भेस्टिगेसन गर्ने, एक जना अस्पतालतिर जाने घाइते भेट्ने र चिकित्सकहरुबाट केही क्लु पाइन्छ कि भनेर खोज्ने अनि त्यो दिनका घाइते बोक्ने एम्बुलेन्स चालकसँग भेट्ने ।
अर्को एक जना आन्दोलनमा लागेका जेन-जी प्रतिनिधि, प्रहरी र अन्य सुरक्षा एजेन्सीसँग भेटेर क्लुहरु खोज्ने ।
हामीले एकदिन सोसल मिडिया इन्फ्लुएन्सरहरुसँग पो यसको केही उत्तर छ कि भनेर केहीसँग सम्पर्क गर्यौं । उनीहरुले पनि अनुमान मात्रै सुनाए । तथ्य भेटिएन ।
एक दिन मध्यरात हामी तीनले छलफल गर्यौं । हामीले केही क्लु पाएका थियौं । त्यो क्लु अन्य अनुमानभन्दा अलिक बलियो थियो । अब हामी यसैमा केन्द्रित हुनुपर्ने थियो ।
हामीले एक जनाबाट सूचना पाएका थियौं । ट्रमा सेन्टरमा एक जना घाइते छन् । त्यो तिनैको जुत्ता हो रे । हामीले त्यही सूत्र पछ्यायौं । ती घाइतेकी श्रीमती राधिका बोहोरासँग कुरा गर्यौं । त्यसपछि हामी सबैलाई लाग्यो, अब हामी सत्यको नजिक पुग्यौं ।
बुधबार बिहान हामी ट्रमा सेन्टर पुग्यौं । घाइते प्रकाश बोहोरासँग भेट्यौं । क्रस भेरिफाईका लागि अनेकन तथ्यसहितका प्रश्नहरु सोध्यौं । उनले भनेका दाबी हुन् कि हैनन भनेर विभिन्न कोणबाट जाँच्यौं । हामीले जुत्ताबारे अस्पतालका चिकित्सक र सफाइकर्मीबाट पनि थप विवरण लियौं । घाइते सहभागी भएको भिडियो फुटेजहरुको सत्यता पनि जाँच्यौं । अनि हामी निष्कर्षमा पुग्यौं, जेन -जी आन्दोलनको आइकोनिक जुत्ता दैलेख घर भएका प्रकाश बोहोराकै थियो ।
त्यसपछि हामी समाचार लेख्न कस्सियौं । सामाजिक सञ्जालभरि हुरीसरी फैलिएको हल्ला र अनेकन अफवाहभन्दा फरक उत्तर थियो । सत्ता नै उल्ट्याउने र नेपाली राजनीतिको नापनक्सा नै बदल्ने जेन-जी विद्रोहको आइकोनिक जुत्ता प्रकाश बोहोराको थियो । रोजगारीको खोजीमा रुसी सेनामा भर्ती भएर युक्रेनविरुद्धको लडाइँमा होमिएका, त्यहाँबाट नेपाल फर्केर केही गर्न सकिन्छ कि भन्ने प्रयत्न गर्दा गर्दै आत्तिएका अनि फेरि कतार जान कस्सिएर कागजपत्रको काम गर्न काठमाडौं आएका । प्रकाश आम नेपाली युवाहरुको प्रतिनिधि पात्र थिए । जो यो विधि, व्यवस्था र शासकहरुको शैलीबाट आजित र निराश थिए ।
सत्य पहिल्याउन र आम जिज्ञासाको उत्तर खोज्न हामी तीनलाई ठ्याक्कै एक साता लाग्यो । तथ्यहरु बटुलेपछि हामीले रिपोर्टिङ फाइल गर्यौं । अनि समाचार छापियो, 'सुशासनका पाइला पर्खिरहेका जुत्ता' शीर्षकमा ।
