परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार भदौ ३१ गते मंगलबार पूर्व ऊर्जा तथा सिँचाइमन्त्री दीपक खड्का, उनकी पत्नी विनता थापा खड्का र नाबालक छोरा गरी तीन जनाले राहदानी निकालेका हुन् ।
काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री आरजु राणालेझैं कांग्रेसकै अर्का नेता दीपक खड्का दम्पतीले पनि नयाँ राहदानी लिएको खुलेको छ । खड्का पूर्व ऊर्जा तथा सिँचाइमन्त्री हुन् ।
परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार भदौ ३१ गते मंगलबार खड्का, उनकी पत्नी विनता थापा खड्का र नाबालक छोरा गरी तीन जनाले राहदानी निकालेका हुन् ।
देउवा निवासनजिकै खड्काको निवास छ । भदौ २४ गते प्रदर्शनकारीहरुले उनको घर जलाउँदा ठूलो मात्रामा हजार र पाँच सय रुपैयाँको नोट र डलर पोलिएको बारे सामाजिक सञ्चालहरुमा चर्चा छ । उनी निकट एक नेताका अनुसार प्रदर्शनकारीहरु घर जलाउन लाग्दा उनी घरमै थिए । उनले केही नगद प्रदर्शनकारीहरुको भीडमा आफैंले फाल्न लगाएर उनीहरुको ध्यान मोडी घरबाट निस्केको कांग्रेसका नेताहरुले बताएका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री आरजु राणाले भने गत ३ असोजमा संविधान दिवसका दिन कूटनीतिक राहदानी लिएको खुलेको छ । देउवा दम्पतीले कहिले र कसरी राहदानी प्राप्त गरे भन्ने विषयमा परराष्ट्र र राहदानी विभागले औपचारिक रूपमा केही बताएका छैनन् ।
