नेपाल वायुसेवा निगमको ग्वाङझाउ उडान अन्तिम समयमा रोकियो

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले वर्षौंदेखि तयारी गरेर अन्तिम समयमा ग्वाङझाउ उडान स्थगित भएको घटनाबारे छानबिन समिति गठन गरिएको बताए । 

आश्विन १०, २०८२

सुरज कुँवर

Nepal Airlines Corporation's Guangzhou flight was stopped at the last minute

काठमाडौँ — नेपाल वायुसेवा निगमले ११ औं अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा राखेको चीनको ग्वाङझाउ उडान अन्तिम समयमा रोकिएको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको निगमको यात्रु सेवा विभागका अनुसार बिहीबार राति १० बजेका लागि तय गरिएको पहिलो उडानमा ४१ यात्रु थिए । तीमध्ये १७ जना ग्वाङझाउको पहिलो व्यावसायिक उडानका लागि त्यहाँको एजेन्सी चाइना स्पिड एयरपोर्ट एण्ड एभिएसन सर्भिसले आयोजना गरेको कार्यक्रममा सहभागी हुन त्यहाँ जाँदै थिए । 

चीनले निगमले उडानअघि पेस गर्ने ‘फ्लाइट प्लान’ स्वीकृत नगरेका कारण उडान बिहीबार राति हुन नसकेको दाबी गरेको छ । ‘चीनको नागरिक उड्डयनसँग सम्बन्धित ५ वटा कार्यालय हुन्छन् । तीमध्ये कुनै एकले अन्तिम समयमा फ्लाइट प्लान स्वीकृत नगर्दा उडान रोकिन्छ,’ निगमका एक निर्देशकले भने,‘बिहीबार बेइजिङमा रहेको नेपाली दूतावास, निगमको ग्वाङझाउमा रहेको एजेन्ट कम्पनी र नेपालबाट थुप्रै प्रयास गर्दा निर्धारित उडानको अनुमति आएन । उक्त उडान २४ घण्टापछि शुक्रबारका लागि चीनबाट अनुमति आएको छ ।’

बिहीबारको उडान रद्द भएपछि निगमले काठमाडौंबाट टिकट किनेर उड्ने तरखरमा रहेका २४ यात्रुलाई राति ज्ञानेश्वरमा रहेको होटलमा राखेको थियो । त्यस्तै बिहीबार राति ग्वाङझाउबाट नेपाल आउने तरखरमा रहेका १ सय ३० जना यात्रुलाई पनि उतै होटलमा राखेको जनाएको छ । रोकिएका यात्रुहरु शुक्रबार राति पुनरतालिका गरिएको पहिलो उडानबाट निगमले पठाउने/ल्याउने तयारी गरेको छ । 

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले वर्षौंदेखि तयारी गरेर अन्तिम सयममा ग्वाङझाउ उडान स्थगित भएको घटनाबारे छानबिन समिति गठन गरिएको बताए । ‘किन ढिलाई भएको हो यसबारे छानबिन गर्न तीन सदस्यीय उपसमिति गठन गरिएको छ ।’ उनका अनुसार, निगमका उपमहाप्रबन्धक (प्राविधिक) डोलेश्वर कोइरालाको संयोजकत्वमा गठित समितिमा निर्देशक उमेश पौडेल सदस्य र गुणस्तर विभागका निर्देशक पोषक ज्ञवाली सदस्यसचिव रहेका छन् । 

अध्यक्ष अधिकारीले पहिलो उद्घाटन उडानसम्बन्धी सबै काम चेकलिस्ट अनुसार भएका थिए वा थिएनन् भन्ने छानबिन गर्ने र समयमै फ्लाइट प्लान स्वीकृति नपाउने कारण पत्ता लगाई सुझावसहित प्रतिवेदन बुझाउन छानबिन समितिलाई निर्देशन दिइएको बताए । 

निगमको कमर्सियल विभागका अनुसार, चीनले यसअघि पनि निगमका काठमाडौंबाट तय भएका दुइटा कार्गो उडानको ‘फ्लाइट प्लान’ स्वीकृत नगर्दा अन्तिम सयममा उडान स्थगन गरेको थियो । त्यसैगरी यसअघि निगमले न्यारोबडी जहाज ल्याएपछि २०७१ माघमा पहिलो दिल्ली उडान अन्तिम समयमा भारतले ‘कागजात नपुगेको’ कारण देखाउँदै बिहीबार ग्वाङझाउको उडानझैं अन्तिम समयमा उडान स्थगन गरेको थियो । 

तत्कालीन सरकारले मुख्यसचिवको संयोजत्कमा छानबिन समिति बनाएको थियो । त्यसबेला यही उडान स्थगन भएपछि तत्कालीन महाप्रबन्धक मदन खरेलले राजीनामा दिएका थिए ।

सुरज कुँवर कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully