नेपाल वायुसेवा निगमले असोजदेखि चीनको ग्वाङझाउमा सिधा उडान गर्ने

भाद्र २९, २०८२

सुरज कुवँर

काठमाडौं — राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले आगामी असोज ९ गतेदेखि काठमाडौंबाट चीनको ग्वाङझाउ सिधा उडान गर्ने भएको छ । 

निगमका अनुसार, काठमाडौं–ग्वाङझाउ–काठमाडौं रुटको टिकट बिक्री आइतबारदेखि खुला गरिएको छ । निगमले एयरबस जहाज ल्याएपछि पहिलोपटक चीनमा उडान गर्न लागेको हो । यो रुटमा हाल हिमालय एयरलाइन्स र चीनको चाइना साउदर्न एयरलाइन्सले नियमित उडान गर्दै आइरहेका छन् । 

निगमले यो रुटमा व्यापारी, पर्यटक र विद्यार्थीले लाभ उठाउने जनाएको छ । निगमसँग हाल २ थान वाइडबडी ए–३३० र २ थान न्यारोबडी ए–३२० जहाज छन् । कम्पनीले भारतका तीनसहित आठ देशका १० गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ ।

सुरज कुवँर

Link copied successfully