सनाखत भएकामा बैत्यश्वर गाउापालिका–८ क्षत्रपा, दोलखाकी २६ वर्षीया स्वस्थानी खड्का, काठमाडौं चन्द्रागिरि–५ का ४० वर्षीय महेन्द्र परियार र भुम्लु गाउापालिका–४, काभ्रेपलाञ्चोकका २६ वर्षीय सरोज खत्री ।
What you should know
काठमाडौँ — यही २४ भदौको प्रदर्शनका क्रममा सरकारीसँगै सयौं निजी उद्योग व्यवसाय, व्यापारिक संरचना, व्यापारिक घरानालगायतमा गरिएको आगजनी तथा तोडफोडले अर्बौं रुपैयाँ बराबरको क्षति पुगेको छ ।
सँगसँगै ती घरानाका व्यावसायिक प्रतिष्ठानमा आगजनीमा परेर मृत्यु हुनेहरूको संख्या पनि दर्जभन्दा बढी पुगेको पाइएको छ ।
प्रदर्शनमा व्यापारिक घराना र निजी घरमा मात्र १५ जनाले ज्यान गुमाएको पाइएको छ । त्यसमध्ये ३ जनाको मात्र सनाखत भएको छ । तर भाटभटेनी सुपरमार्केटको चुच्चेपाटी शाखामा ७, इटहरी शाखामा ४ र विराटनगर शाखामा १ जनाले ज्यान गुमाए पनि उनीहरूको सनाखत भएको छैन । सनाखत भएकामा बैत्यश्वर गाउँपालिका–८ क्षत्रपा, दोलखाकी २६ वर्षीया स्वस्थानी खड्का, काठमाडौं चन्द्रागिरि–५ का ४० वर्षीय महेन्द्र परियार र भुम्लु गाउँपालिका–४, काभ्रेपलाञ्चोकका २६ वर्षीय सरोज खत्री छन् ।
स्वस्थानी कानुन कानुन व्यवसायी बन्न चाहन्थिन् । नेपाल ल क्याम्पसमा कानुन अध्ययनरत बैत्यश्वर गाउँपालिका–८ क्षत्रपाकी २६ वर्षकी स्वस्थानी खड्का व्यक्तिगत कामका सिलसिलामा पोखरा पुगेकी थिइन् । उनी त्यतै २४ भदौको प्रदर्शनमा सहभागी भइन् । स्वस्थानीको ज्यान कसरी गयो भन्ने परिवारलाई थाहा छैन । उनको शव पोखराको हिमालयन अर्गनाइजेसनमा जलेको अवस्थामा फेला परेको थियो । उनी त्यस संस्थामा कसरी पुगिन् भन्ने पनि परिवारले थाहा पाइसकेको छैन ।
७ मंसिर २०५६ मा जन्मेकी स्वस्थानीको गाउँमा घाँसदाउरा गर्दै हुर्केकी हुन् । बाल्यकालदेखि नै हक्की स्वभावकी उनी विद्यालयमा कहिल्यै दोस्रो बनिनन् । विद्रोही स्वभावकी उनी बोल्न र परेको सहयोग गर्न अघि सर्ने गर्थिन् ।
स्वस्थानी बुबा राजेश र आमा बालकुमारी खड्काकी कान्छी छोरी हुन् । विद्यालय शिक्षा सकेर कानुन अध्ययन गरिरहेकी उनी अध्ययनका लागि खर्च जुटाउन राजधानीमा पार्लरमा काम गर्थिन् । ‘सानैदेखि वकिल बन्ने सपना बोकेकी ऊ कानुन विषय लिएर अध्ययन गरिरहेकी थिई,’ उनकी दिदी तारादेवी बस्नेतले भनिन् । ४० वर्षीय महेन्द्र परियार भने ज्याला मजदुरी गर्दै आएका थिए । २४ भदौमा खाना खाएर घरबाट निस्किएका थिए, काठमाडौंको चन्द्रागिरि–५ का ४० वर्षीय महेन्द्र परियार । साँझ अबेरसम्म नभेटिएपछि सोधीखोजी गर्न थालिएको उनका आफन्त गणेश परियारले बताए ।
सोधखोजकै क्रममा चन्द्रागिरिको विशाल ग्रुपको भवनमा महेन्द्र जलेको अवस्थामा भेटिए । ‘२६ भदौमा मात्र फेला पार्यौं । अनुहार, शरीर पूरै जलेको रहेछ । के कसरी घटना भयो, केही थाहा भएको छैन,’ उनले भने, ‘कसले किन र कसरी यस्तो घटना गर्यो, केही बुझ्न सकेको छैन ।’
त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरेर आइतबार आर्यघाटमा उनको अन्त्येष्टि गरिएको छ । ७० वर्षीया आमा सावित्री पनि छोराको मलामीमा सहभागी भइन् । महेन्द्र सावित्रीका एक्ला सन्तान हुन् । ‘उहाँ एउटा मात्र छोरा गुमाउनुपर्दाको साह्रै ठूलो शोकमा हुनुहुन्छ । आफन्तले पशुपतिसम्म ल्याएका थिए,’ गणेशले भने । आमाले मृत छोराको अन्तिम अवस्था हेर्छु भनेपछि चित्त बुझाउन पशुपति लगेको उनले सुनाए ।
वृद्ध अवस्थाकी आमाको एक्लो सहारा महेन्द्र रहेको चन्द्रागिरि–५ का वडाध्यक्ष राजेन्द्र महर्जनले बताए । ‘सिलाइकटाइ र घर निर्माणमा दैनिक ज्याला मजदुरी गरेर उनले आमाको रेखदेख, पालनपोषण गर्दै आएका थिए । मेरो छिमेकमै उनीहरूको घर छ । छोरा बितेपछि आमाको हेरविचार गर्ने कोही छैन,’ महर्जनले भने ।
जेन–जी आन्दोलनमा युवाको मृत्यु भएपछि २४ भदौको प्रदर्शनमा महेन्द्र सहभागी भएका थिए । ‘कपडा सिलाइबुनाइको काम छाडेर गएका रहेछन् । राति ८–९ बजेसम्म नफर्केपछि खोजी हुन थाल्यो,’ महर्जनले भने, ‘जलेको अवस्थामा शव फेला परेपछि अन्त्येष्टि भएको छ,’ उनले भने, ‘के कसरी भयो । प्रहरीले अनुसन्धान गर्दै होला ।’ आमा बेसहारा भएकाले राज्यले तत्कालै राहत र क्षतिपूर्ति दिनुपर्ने उनको भनाइ छ ।
चन्द्रागिरि क्षेत्रमा पनि सरकारी तथा निजी भवन र घरहरूमा तोडफोड र आगजनी भएको चन्द्रागिरिका मेयर घनश्याम गिरीले बताए । ‘वडा नम्बर ५ का महेन्द्र पनि विशाल ग्रुपको भवनमा आगजनीमा परेर मृत्यु भएको खबर थाहा पाएको छु,’ उनले भने, ‘के कसरी घटना भयो । विस्तृत थाहा छैन ।’
काभ्रेको भुम्लु गाउँपालिका–४ का २६ वर्षीय सरोज खत्री घरका जेठा छोरा थिए । उनको परिवार २०५९ सालमा काठमाडौं आएको थियो । सरोजकै कमाइबाट घर खर्च चलिरहेको थियो । भाइबहिनीको विद्यालयको शुल्क र आमाबुबाको औषधि खर्च उनले नै जुटाइरहेका थिए ।
सामाजिक सञ्जालमा जेन–जी आन्दोलनको पहिलो दिनको भिडियो भाइरल बन्यो । त्यसको प्रभाव परेपछि सरोज २४ भदौमा आन्दोलनमा सहभागी भएका थिए । सोही दिन आन्दोलनका क्रममा पूर्वप्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहालकी छोरी गंगा दाहालको नखिपोटस्थित घरमा जलेर उनको मृत्यु भयो ।
त्यो दिन उनको अन्तिम पटक साढे १ बजेतिर आमा सरिता खत्रीसँग फोनमा कुराकानी भएको थियो । त्यतिबेला उनले आफू सातदोबाटोमा भएको बताएका थिए । आमालाई खाना खान आइहाल्छु भनेका थिए । तर, बिहान उठेर गएको मान्छे कहिल्यै नफर्किने गरी अस्ताए । उनी घरबाट निस्कँदा बुबा धर्मराज बजार गएका थिए । जलेका कारणले धर्मराजले छोराको मुखसमेत राम्ररी हेर्न पाएनन् ।
सरोज डोजर चालक थिए । आमा सरिताका अनुसार उनी घरमा भाइ, बहिनी र बुबासँग कम र आमासँग बढी बोल्ने स्वभावका थिए । अहिलेसम्म झैझगडा गरेको थाहा नभएको उनी सुनाउँछिन् । उनको परिवार ललितपुरको सुनाकोठीमा खेत भाडामा लिएर टहरामा बस्दै आएको छ । आमा कोभिडयता नसा रोगबाट पीडित छन् । बुबा धर्मराज १२ वर्षदेखि बाथ रोगका बिरामी हुन् । धर्मराज गत वर्ष बाथ रोगका कारण थला परेका थिए । अहिले जसोतसो खेती किसान गर्छन् ।
आमा सरिता भन्छिन्, ‘जेन–जीको आन्दोलनको प्रभाव अरूलाई जस्तै छोरालाई पनि पर्यो ।’ घटना भएको दिन २ बजेपछि उनी सम्पर्कविहीन बनेका थिए । साँझ उनलाई खोज्न आमा र छोरी घरबाट निस्केका थिए । आमा सरिता भन्छिन्, ‘त्यो रात चिन्ताले निद्रा लागेन । राति पनि खोज्न गयौं, भेटिएन । रातभर फर्केला कि भनेर बसे । तर, फर्किएन ।’ २५ भदौ बिहान आमाछोरी सरोजलाई खोज्न सुमेरु अस्पताल पुगे । पछि दाहालको घरमा मान्छे फसेको थाहा पाए । ‘त्यस्तो होला भन्ने कल्पनासम्म थिएन,’ सरिताले भनिन् । घटनास्थलमा सरोजको शव घोप्टो परेको अवस्थामा फेला परेको थियो । शरीरको पछाडिको भाग पूरै जलिसकेको थियो । घुँडामुनिको भाग त जलेर खरानी भइसकेको थियो । ‘गोलो टाउको र उसले लगाएको जन्त्र देख्नेबित्तिकै छोरालाई चिनें,’ आमा सरिताले भनिन् ।
