किरन कोलीकी आमा बैतडीबाट न्याय खोज्दै काठमाडौंमा

किरन कोलीकी आमा राजमति भन्छिन्– ‘छोराको लागि न्याय लिएरै जान्छु । बरु मर्न परे यहीँ मर्छु ।’

भाद्र २२, २०८२

आरती पौडेल

Kiran Koli's mother seeks justice from Baitadi in Kathmandu

What you should know

काठमाडौँ — राजमति कोली सुदूरपश्चिमको बैतडीबाट काठमाडौं आएर माइतीघर मण्डलको एउटा छेउमा बसेर न्यायको याचना गर्न थालेको चार दिन भइसक्यो । १२ वर्षीय छोरालाई साथमा लिएर माइतीघरको एक कुनामा आफ्ना मृतक छोरा(किरन कोली)को फोटो फ्रेम साथमा लिएर बसिरहेकी छिन् उनी । सन्तानको वियोग स्वीकार्न नसकेकी उनी घरीघरी भक्कानिँदै रोइरहेकी हुन्छिन् ।

उनका छोरा किरन कोलीको मृत्यु प्रकरणको कथा बुझ्न हामी साउन १७ को घटनामा पुग्नुपर्छ । 

बैतडीको डिलासैनी गाउँपालिका–३ गिरीबगडका १४ वर्षीय किरन कोलीको मृत्यु १७ साउनमा भयो । उनको मृत्युको घटना सामान्य भने थिएन । किनकि घरबाट ५ सय मिटर दुरीमा रहेको चमेलिया नदीमा साथीहरुसँग नुहाउन पुगेका उनी नजिकै रहेको बालुवाको थुप्रोमा चढेर खेल्दा करेन्ट लागेर मृत्यु भयो ।

मृत्युको यो घटनाको केही दिनपछि एकाएक सामाजिक सञ्जालमा फैलियो । एकपछि अर्को गर्दै सार्वजनिक भएका नयाँ तथ्यबाट थाहा भयो, नदी छेउमा बालुवा थुपार्ने काम निङ्लासैनी कन्स्ट्रक्सनले गरेको थियो । यो कम्पनी  सुदूरपश्चिमका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्रबहादुर पालकी श्रीमती मनिषा पालको नाममा दर्ता रहेछ ।

मन्त्री जोडिएको कम्पनीले थुपारेको बालुवामा चढेर दुर्घटना भएकाले विवादमा परिने भएपछि एमालेबाट निर्वाचित वडाध्यक्ष रघुवीर बोहराले उनको खातामा पाँच लाख जम्मा गरिदिए । उनका अनुसार यो कुरा उनलाई थाहा थिएन । उनी छोराको मृत्यु स्वीकार्न नसकेर बेहोस भएका बेला खातामा पैसा हालेर घटना दबाउन र न्याय प्रभावित पार्न स्थानीय नेता र अगुवा मिलेर यो सब काम गरेको उनको भनाइ छ । 

घटनापछि उनी स्थानीय चौकीमा घटनाबारे जाहेरी दिन पनि खोजेकी थिइन् । तर प्रहरीले जाहेरी नै दर्ता गरेनन् । उनी सदरमुकाम पुगेर जिल्ला प्रहरी कार्यालय पनि पुगिन् तर न्याय मिलेन । त्यसपछि उनले हुलाकबाटै जाहेरी पठाइन् ।

घटनाको एक महिनापछि मृत्यु भएका बालक किरणको विषयमा हुलाकमार्फत पूरक जाहेरी प्राप्त भएको र सनाखतका लागि पत्र पठाइसकेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । प्रहरी नायब उपरीक्षक दीपककुमार रायले हुलाकबाट पूरक जाहेरी प्राप्त भएको र त्यसमाथि अनुसन्धान भइरहेको बताए । 

तर उनले उक्त घटनामा न्याय सजिलै नमिल्ने शंका लागेको बताइन् । उनले घटनाका बारेमा आफूले खिचेको फोटो र भिडियो स्थानीय प्रहरीले जबरजस्ती डिलिट गरिदिएको अनि न्याय दबाउन आफूलाई थाहै नदिई पाँच लाख खातामा हालिदिएको र तत्कालै प्रहरीले जाहेरी लिन नमानेको जस्ता कुराबाट न्याय कठिन छ भन्ने लागेको बताइन् ।

त्यही भएर उनी देवर र १२ वर्षीय छोरा लिएर काठमाडौं आएकी हुन् उनी । ३६ वर्षीया उनले सुनाइन्, ‘छोराको लागि न्याय लिएरै जान्छु । बरु मर्न परे यहीँ मर्छु ।’ स्थानीय खोलाबाट गिटी बालुवा बोकेर परिवार पालिरहेकी उनले छोराको मृत्युको शोक बोकेर आफूलाई काठमाडौं आउन बाध्य पारिएको बताइन् । 

Kiran Koli's mother seeks justice from Baitadi in Kathmandu

उनले 'गल्ती नै नभई किन मेरो खातामा पाँच लाख रुपैयाँ आयो ? किन पुलिसले जाहेरी लिन मानेन् ? घटनापछि खिचेका फोटाहरू किन मेरो मोबाइल मागेर पुलिसले फालिदियो, किन सबुत मेटाउन खोजियो ?' जस्ता प्रश्न बोकेर उत्तरको खोजीमा बर्बराइरहेकी छिन् ।  

उनका देवर तुलाराम कोली (किरन) भतिजको मृत्युका बेला साउदी अरब थिए । एकल भाउजूका लागि र मृतक भतिजको न्यायका दिलाउन आफू साउदीबाट आएको उनले बताए । उनले भने, ‘मृतक किरनको न्यायका लागि बोल्ने कोही छैन । त्यही भएर भतिजलाई न्याय दिलाउन आएको हुँ न्याय दिलाएरै छोड्छु ।’

तुलारामले जति पहल गर्दा पनि कसैले नसुनेपछि आफूहरू न्याय माग्न काठमाडौं आउन बाध्य भएको बताउँछन् । उनी भन्छन्, ‘हामीले पुलिस चौकी गएर निवेदन दर्ता गर्न खोज्दा दर्ता नै भएन, कति पहल गर्‍यौँ कतैबाट न्याय नपाएपछि यहाँ आएका हौँ ।’

उनका श्रीमान्‌को केही वर्ष अगाडि मृत्यु भइसकेको छ । उनका चार सन्तान थिए । जसमध्ये दुई छोरीको विवाह भइसकेको छ । उनको साथमा अब कान्छा छोरा छन्, किरन उनका जेठा छोरा थिए । 

उनका अनुसार किरन ठूलो हुँदै गएका थिए । केही वर्षपछि किरन आफ्नो सहारा बन्ने सपना बुनेकी थिइन् । तर बालुवाको थुप्रोमा खेल्ने क्रममा करेन्ट लागेर छोराको मृत्यु भएसँगै आफूले छोराको लागि देखेका सपना पनि चकनाचुर भएको आँखाभरि आँसु बनाउँदै भक्कानिन्छिन् । 

आरती पौडेल

Link copied successfully