मोबाइल चोरीको झुटो आरोप : कुटपिटबाट कसरी ज्यान गयो ३० वर्षीय नसिबको ?

झुटो आरोपमा छोराको ज्यान गएको घटनाले आहात छिन् नसिबकी आमा । छोराको अभावमा बुहारीले चार छोराहरु कसरी हुर्काउँछिन् भन्ने चिन्ताले पनि उनलाई उत्तिकै सताएको छ ।

भाद्र १८, २०८२

शिव पुरी

False accusation of mobile theft: How did 30-year-old Nasib die from beating?

What you should know

काठमाडौँ — कटहरिया बजारबाट झन्डै ५ सय मिटर पश्चिम–दक्षिण लागेपछि बहादुरपुर गाउँ आउँछ। यही गाउँछेउको दलित बस्ती केही दिनयता शोकमा छ। भदौ ११ मा ३० वर्षीय नसिब बैठाको वीरगन्जस्थित स्पोर्ट अस्पतालमा उपचारको क्रममा मृत्यु भयो।

उनको मृत्युको कारण थियो, मोबाइल चोरीको आरोपमा भएको कुटपिट । जबकि प्रहरी अनुसन्धानबाट नसिबले कसैको मोबाइल चोरेको पुष्टि हुन सकेको छैन। के त्यसो भए झन्डै ३०/३५ हजार रुपैयाँ पर्ने मोबाइल चोरेको झुटो आरोप र त्यसपछि भएको कुटपिटमा नसिबको मृत्यु भएको हो त?

सोमबार नसिबको घर पुग्दा उनकी आमा सुनैना शोकमग्न अवस्थामा थिइन्। उनको अनुहारमा गहिरो शोक देखिन्थ्यो अनि छोराको कुरा मात्र गर्दा पनि उनको स्वर थर्थराइरहेको थियो। घडेरीबाहेक सम्पत्ति केही नभएकी सुनैनाले एकै महिनामा श्रीमान् र छोरा गुमाएकी थिइन्। हुँदै नभएको बात लगाएर छोराको हत्या गरिएको बताउँदै उनले भनिन्, 'हामीलाई न्याय चाहिन्छ।'

False accusation of mobile theft: How did 30-year-old Nasib die from beating?

नसिब घर निर्माण गर्ने कम्पनीमा मिक्सर मेसिन चलाउने काम गर्थे। उनीसँगै काम गर्थे गर्भु दयाल। स्थानीय विजय यादव र उनका भाइ सञ्जयले नसिबमाथि मोबाइल चोरी गरेको आरोप लगाएका थिए। ३२ असारमा सञ्जयले इलाका प्रहरी कार्यालय कटहरियामा मोबाइल हराएको निवेदन दिँदै नसिबले मोबाइल चोरी गरेको आरोप लगाएका थिए। १ साउनमा प्रहरीले नसिबलाई यस विषयमा अनुसन्धान पनि गरेको थियो।

असार ३२ गते छिमेकी सञ्जय यादवले इलाका प्रहरी गरुडामा मोबाइल हराएको निवेदन दिएका थिए। प्रहरीले नसिबलाई बोलाएर साउन १ गते छलफल गराएको थियो। डीएसपी राजन कार्कीका अनुसार नसिबले मोबाइल चोरेको विषय अनुसन्धानबाट पुष्टि हुन सकेन। तर यो घटना यतिमै सकिएन।

१७ साउनमा सँगै काम गर्ने गर्भुले कुरैकुरामा मोबाइल चोरीको विषय झिकेर कटहरिया बजारमै नसिबमाथि हातपात गरे। त्यसको भोलिपल्ट १८ साउनमा विजय र सञ्जयले नसिबलाई बहादुर पुर गाउँको बगैँचामा लगेर बाँधेर सिक्री र चेनले निर्घात कुटपिट गरे। नसिबमाथि कुटपिट भएको देखेपछि स्थानीय दीपलालले कटहरिया चौकीमा फोन गरे। प्रहरी आएर नसिबको उद्धार गर्‍यो तर कुटपिटमा संलग्नमाथि कुनै कारबाही गरेन। बरु प्रहरीले यही विषयमा छलफल गरेर टुङ्ग्यायो। डिएसपी पन्तले त्यस दिन प्रहरी पुग्दा नसिबलाई बाँधेको अवस्थामा नदेखेको बताए। नसिबका परिवारका सदस्यले भने त्यस दिन निर्घात कुट्ने माथि प्रहरीले कुनै कारबाही नगरेको गुनासो सुनाए।

यो कुटपिटबाट नसिब बिरामी पनि परेका थिए। तर २४ साउनमा बिरामी बुवा बाबुलाल बैठाको मृत्यु भएपछि उनी किरिया कर्मको काममा व्यस्त भए। काजकिरिया सकेपछि नसिबलाई छाती दुख्ने लगायतको समस्या बढ्दै गयो। परिवारका सदस्यले सुरुमा उनलाई कटहरिया बजारमा रहेको सरकारी अस्पताल पुर्‍याए। त्यहाँ उपचार नभएपछि वीरगन्जस्थित नारायणी प्रादेशिक अस्पताल पुर्‍याए। त्यहाँ पनि उपचार सम्भव नभएपछि उनीहरू वीरगन्जस्थित स्पोर्ट अस्पताल पुगे। आमा सुनैनाले पाँच दिन आईसीयूमा राखेर उपचार गर्दा ४ लाख खर्च भएको बताइन्। यतिका धेरै खर्च भए पनि उनीहरूले नसिबलाई बचाउन सकेनन्।

नसिबको मृत्युपछि आमा सुनैनाले ११ भदौमा इलाका प्रहरी कार्यालय गरुडामा ५ जनाविरुद्ध कर्तव्यज्यान मुद्दा दर्ता गरेकी छिन्। डिएसपी राजन कार्कीले जाहेरीमा परेकामध्ये गर्भु पक्राउ परेका र अन्य चार फरार रहेको बताए।

नसिबको मृत्युले सुनैनाको परिवारमा भने आकाश खसेको छ। पत्नी गीता दासले एकदेखि सात वर्ष उमेरबीचका चार छोराहरू आफूले कसरी हुर्काउला भनेर प्रश्न गर्दै भनिन्, 'दलित र गरिब भएकै कारण श्रीमान् माथि झुटो आरोप लगाएर कुटपिट गरी हत्या गरियो।'

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully