इलाका प्रहरी कार्यालय, गरुडाका डीएसपी राजन कार्की भन्छन् : मोबाइल चोरी गरेको पुष्टि भएको छैन, कुटपिट गर्नेहरूमाथि अनुसन्धान हुँदैछ
What you should know
रौतहट — कटहरिया नगरपालिका–४ मा मोबाइल चोरीको आरोपमा कुटपिटबाट एक दलित युवकको मृत्यु भएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । भदौ ११ गते उपचारको क्रममा ती युवकको मृत्यु भएको हो ।
कटहरिया नगरपालिका–४ बहादुरपुरका ३० वर्षीय नसिब बैठा मोबाइल चोरीको आरोपमा गत साउन १७ गते छिमेकीको कुटाइबाट घाइते भएका थिए । उपचारका क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।
छोराको हत्या भएको भन्दै आमा सुनैना देवीले छिमेकी गर्भुदयाल सरभङ, सञ्जय यादव, उनका भाइ विजय यादवसहित चार जनाविरुद्ध कर्तव्यज्यान मुद्दामा जाहेरी दर्ता गराएकी छन् । ‘कुटपिटबाट नसिबको छातीमा चोट लागेको भन्ने बुझिएको छ,’ इलाका प्रहरी गरुडाका डीएसपी राजन कार्कीले भने, ‘घटनामा संलग्न चार जनाविरुद्ध कर्तव्यज्यान मुद्दामा जाहेरी दर्ता भएको छ । अहिले तीन जना फरार छन् । उनीहरूको खोजी भइरहेको छ ।’
कुटपिटबाट घाइते नसिबको उपचारका क्रममा वीरगन्जस्थित स्पोर्ट हस्पिटलमा मृत्यु भएको हो । कटहरिया बजारको एक खाजा पसलमा स्थानीय गर्भुदयाल सरभङले आफ्नो मोबाइल चोरी भएको आरोप लगाउँदै केही युवाको सहयोगमा नसिबलाई कुटपिट गरेका थिए । भोलिपल्ट गाउँकै सञ्जय यादव र उनका भाइ विजय यादवले पनि मोबाइल चोरी गरेको आशंकामा नसिबलाई गाउँभन्दा पर आँपको बगैँचामा लगेर निर्घात कुटपिट गरेको पीडित पक्षको भनाइ छ । विजय र सञ्जय अहिले फरार रहेको डीएसपी कार्कीले बताए ।
सञ्जय यादवले इलाका प्रहरी कार्यालय कटहरियामा गएको असार ३२ गते नसिबले मोबाइल चोरी गरेको भनी निवेदन दिएका थिए । प्रहरीले साउन १ गते नसिबलाई प्रहरी कार्यालयमा बोलाई छलफलसमेत गरेको थियो । ‘छलफलमा मोबाइल चोरी भएको कतैबाट पुष्टि नभएपछि बैठालाई छाडेका हौं,’ डीएसपी कार्कीले भने, ‘घटनाबारे थप अनुसन्धान हुँदै छ ।’ नसिबका चार जना स–साना छोरा छन् ।
