खानेपानी मन्त्री प्रदीप यादवलाई फोनमार्फत धम्की दिएको आरोपमा पक्राउ परेकी किरण साहमाथि साइबर अपराध, सांसदलाई ज्यान मार्ने धम्की दिन नहुने र झुटो कुराको अफवाह फैल्याएको गरी तीन वटा अपराधसम्बन्धी कसूरमा मुद्दा चलाइएको छ ।
What you should know
काठमाडौँ — खानेपानी मन्त्री प्रदीप यादवलाई ‘धम्की’ दिएको आरोपमा वीरगन्जकी एक महिला पक्राउ परेकी छिन् । खानेपानी मन्त्रीलाई फोनमार्फत मार्ने धम्की दिएको आरोपमा बारा कलैया घर भइ हाल वीरगन्ज बस्दै आएको २३ वर्षीया किरण साहलाई प्रहरीले शनिबार पक्राउ गरेको हो ।
सामाजिक सञ्जालमा सक्रिय किरणले पक्राउ पर्नुअघि पनि टिकटक मार्फत हैजाको समस्यामा केन्द्रित रहेर अस्पतालबाटै प्रश्न गर्दै आएकी थिइन् । वीरगन्जमा बसेर वीरगन्जआसपास र भारतमा पनि स्टेज सोहरू गर्दै आएकी किरणको फेसबुकदेखि टिकटकसम्मका लाखौं फलोअर्स छन् । केही भोजपुरी चलचित्र र भिडियो एल्बमहरूमा अभिनय गरेकी यिनै किरणले खानेपानी मन्त्रीलाई फोन गरेकी थिइन् ।
किरणले आफ्ना परिवारका सदस्य हैजाका कारण बिरामी परेकाले केन्द्रीय खानेपनी मन्त्री तथा पर्साका सांसद यादवलाई फोन गरेर आफ्नो पीडा जाहेर गरेकी थिइन् । जिल्ला प्रहरी कार्यलय पर्साका डीएसपी किशोर लम्सालले कुराकानीका क्रममा ज्यान मार्नेसम्मको धम्की दिएको आरोप लगाउँदै मन्त्रीका स्वकीय सचिव हरीन्द्र यादवले उजुरी दिएको बताए ।
तर जिल्ला प्रहरी कार्यालय पर्साबाहिर सोमबार साँझ भेटिएकी किरणकी आमा सावित्री देवीले आफ्नी छोरीले झूट नबोलेको र कसैको उक्साहटमा नपरेको दाबी गरिन् । उनका अनुसार झाडापखालाकै कारण किरणका बुबा तुलसी साह र दिदी संझा साहकी २ वर्षीया छोरी कृतिका कुमारी हैजाले संक्रमित भई वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा भर्ना भई उपचार गराएको दाबी गरिन् । सावित्रीका अनुसार उनी पनि खोकीकै कारण केही दिन अस्पताल भर्ना हुनुपरेको थियो । बिहीबार आफू र पति समेत एकै साथ अस्पतालबाट डिस्चार्ज भएको तर पति तुलसीलाई पुनः काम ज्वरो आएर शनिबार अस्पतालमा भर्ना गरिएको उनले बताइन् ।
हैजा संक्रमित आफ्नी २ वर्षीया छोरी किर्तिका अझै पनि सोही अस्पतालमा उपचाररत रहेको किरणका भिनाजु शिव साहले बताए । ‘परिवारका तीन जना एकै साथ अस्पतालमा भर्ना भएपछि किरणलाई गम्भीर मानसिक तनाव भएको थियो,’ उनले भनिन्, ‘त्यस कारण उनले आफ्नो भडास मन्त्रीजीमाथि पोखेकी मात्र हुन्, यो विषयलाई यति गम्भीरताका साथ लिएर उनी उपर मुद्दै हाल्नु पर्ने अवस्था भने थिएन ।’
पक्राउ परेकी किरणले मन्त्रीलाई ‘धम्की’ दिएको भनिएको एउटा अडियो सामाजिक सञ्जालमा भाइरल छ । गत शुक्रबारदेखि सामाजिक सञ्जालमा भाइरल भएको अपुष्ट अडियोमा खानेपानी मन्त्रीलाई किरणले चर्को स्वरमा कराएको सुनिन्छ । वीरगन्जमा हैजा फेलिनुमा मन्त्री जिम्मेवार रहेको भन्दै ती महिलाले मन्त्रीलाई यसबारे प्रश्न गरेको अडियोमा सुनिन्छ । हैजाका कारण जनता अस्पतालमा भर्ना भएको तर खासै मतलब नराखेको भन्दै ती महिलाले मन्त्रीलाई कराएको अडियोमा सुनिन्छ ।
साथै अडियोमा ती महिलाले आफ्नो परिवार पनि हैजाका कारण अस्पतालको आईसीयूमा रहेको मन्त्रीसँग चर्को स्वरमा कुरा गरेकी छिन् । किरणले आईसीयूमा भर्ना भएका परिवारको स्तरीय उपचार नभएको भन्दै उनले मन्त्रीलाई ‘तपाईंलाई छोड्दिनँ, मलाई डर लाग्दैन’ भन्दै चुनौती दिएको अडियोमा सुनिन्छ । अडियोमा ती महिलाले भनेकी छिन्– ‘मेरो घरकै मान्छे आईसीयूमा भर्ना छ मन्त्रीजी । मैले छोड्दिनँ, मलाई डर लाग्दैन ।’
वीरगन्जमा हैजाले धेरैलाई समस्या पार्दा पनि मन्त्रीले कुनै कदम नलिएको भन्दै किरणले मन्त्रीमाथि आक्रोस पोखेको सुनिन्छ । मन्त्री यादवलाई फोनमार्फत मार्ने धम्की दिएको आरोपमा साहलाई शनिबार पक्राउ गरेको डीएसपी लम्सालले बताए ।
डीएसपी लम्सालका अनुसार बयानका क्रममा उनले मन्त्रीलाई मार्ने धम्की दिएको स्वीकार गरेकी छन् । ‘फोनबाट मारिदिन्छु भन्ने खालका धम्की दिएको रहेछ । मन्त्रीज्यूको सचिवालयबाट उजुरी आएपछि हामीले पक्राउ गरेका हौं,’ उनले भने ।
उनीविरुद्ध साइबर अपराध, सांसदलाई ज्यान मार्ने धम्की दिन नहुने र झुटो कुराको अफवाह फैल्याएको गरी तीन वटा अपराधसम्बन्धी कसूरमा मुद्दा चलाइएको डीएसपी लम्सालले बताए । डीएसपी लम्सालका अनुसार, शनिबार वीरगन्जबाट पक्राउ परेकी साहलाई अदालतमा सोधपुछपछि आइतबार जिल्ला अदालतमा पेस गरिएको थियो । अदालतले अनुसन्धानका लागि तीन दिनको म्याद दिएको छ । डीएसपी लम्सालले साहमाथि जुनजुन अपराधको दाबी गरिएको त्यही विषयमा केन्द्रित रहेर मात्र अनुसन्धान भइरहेको बताए ।
पूर्वसंघीय सांसद तथा पूर्व मन्त्री करिमा बेगमले जिम्मेवार जनप्रतिनिधिले जनतालाई थुन्न लगाएर गलत गरेको बताइन् । ‘लोकतन्त्रमा जनताले नेतालाई गाली गर्छन्, नेता भएपछि त्यति सुन्ने हिम्मत पनि हुनुपर्छ ?,’ उनले भनिन्, ‘म पनि सांसद र मन्त्री भइसकेकी हुँ, जनता जनार्दनको पीडा र आक्रोश हामीले नसुने कसले सुन्ने ।’ उनले किरणको अविलम्ब रिहाई नभए महिलाहरूले आफ्नो प्रदर्शन सशक्त बनाउने चेतावनी दिइन् ।
किरणको रिहाइको माग गर्दै सोमबार जिल्ला प्रहरी कार्यालय पर्सा परिसरबाहिर प्रदर्शन गरेका थिए । प्रदर्शनमा सहभागी महिलावादीहरूले किरणले जनप्रतिनिधिलाई आफ्नो गुनासो पोख्दा हत्याराकै आरोप लगाएर थुन्नु गलत भएको बताए । हातमा विभिन्न नारा लेखिएका प्ले कार्ड बोकेका उनीहरूले किरणले संघीय सरकारका खानेपानी मन्त्री प्रदीप यादवलाई फोन गरेर आफ्नो पीडा पोख्दा जेल नै हाल्नुपर्ने अपराध नगरेको जिकिर गर्दै रिहाईको माग गरे ।
समाजवादी दलित मुक्ति समाजकी केन्द्रीय कोषाध्यक्ष ताराकुमारी रामले किरणले नेपाल सरकारको जिम्मेवार मन्त्री र जनप्रतिनिधिलाई आफ्नो गुनासो राख्दा अपराधीसरह व्यवहार गर्नु सरासर गलत भएको बताइन् । ‘के लोकतन्त्रमा एक आमनागरिकले आफ्नो पीडा र गुनासो पनि पोख्न पाउँदैनन् त ?,’ उनले भनिन्, ‘जनप्रतिनिधिले आम जनताको गुनासो र आक्रोश सुन्नु पर्नेमा उल्टै थुन्न लाउने यो कस्तो लोकतन्त्र हो ।’
