निजामती विधेयकसम्बन्धी विधायन समितिको प्रतिवेदन राष्ट्रिय सभामा पेस

सहसचिव, सचिव र मुख्यसचिवलाई अवकाश वा राजीनामापछि दुई वर्षसम्म संवैधानिक, कूटनीतिक वा अन्य सरकारी नियुक्ति लिन नपाउने

भाद्र १७, २०८२

कान्तिपुर संवाददाता

Report of the Legislation Committee on Civil Bills submitted to the National Assembly

What you should know

काठमाडौँ — संघीय निजामती सेवा विधेयक सम्बन्धी राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको प्रतिवेदन राष्ट्रिय सभाको बैठकमा पेस भएको छ । 

समिति सभापति तुलसा दाहालले राष्ट्रिय सभाको मंगलबारको बैठकमा समितिको प्रतिवेदन पेस गरेकी हुन् ।

समिति सभापति दाहालले निजामती कर्मचारीका सेवा, शर्त र सुविधा सम्बन्धी कानुनलाई संघीयता अनुकूल बनाउने कार्य यो विधेयकले गरेको जानकारी दिइन् । यो विधेयकले प्रशासनिक संघीयता कार्यान्वयनमा भूमिका खेल्ने बताइन् । 

निजामती कर्मचारीका लागि दुई वर्षे 'कुलिङ अफ पिरियड'को व्यवस्था गरिएको पनि सभापति दाहालको भनाइ थियो । 'निजामती सेवाका कर्मचारीले आफ्नो कामप्रति व्यवसायिक, निष्ठावान र प्रतिबद्ध बनाउँदै नीति निर्माण एवं कार्यान्वयनमा स्वार्थको द्वन्द्व नहोस् भनी अवकाश भएको मितिले दुई वर्षसम्म अन्यत्र सेवा गर्न वा कुनै नियुक्ति नपाउने गरी प्रबन्ध गरेको छ,' उनले भनिन् ।

राष्ट्रिय सभाले सहसचिव, सचिव र मुख्यसचिवलाई अवकाश वा राजीनामापछि दुई वर्षसम्म संवैधानिक, कूटनीतिक वा अन्य सरकारी नियुक्ति लिन नपाउने व्यवस्था गरेको छ । 

राष्ट्रिय सभामा निजामती वधेयकमा ४३ सांसदले १९३ बुँदामा संशोधन राखेको सभापति दाहालले जानकारी दिइन् । विधेयकमाथि भदौ २ देखि समितिमा छलफल भएको थियो । राष्ट्रिय सभामा निजामती विधेयकमाथि ९८ दफामा संशोधन र एक दफा र एक अनुसूची थप गरिएको सभापतिले जानकारी दिइन् ।

निजामती विधेयक राष्ट्रिय सभाको मंगलबारको बैठकबाटै पारित गर्ने तयारी छ ।

कान्तिपुर

Link copied successfully