निजामती कर्मचारीको अवकाश उमेरसम्बन्धी निर्णय उल्ट्याउन सरकारका मन्त्रीहरू नै सक्रिय रूपमा लागे पनि अन्तिममा उक्त अडानबाट सरकार पछि हटेको हो ।
What you should know
काठमाडौँ — विधायन व्यवस्थापन समितिबाट संघीय निजामती विधेयक सर्वसम्मत रूपमा पास भएको छ । विधेयकसम्बन्धी समितिको पूरै प्रतिवेदन वाचन गरेर पास गरिएको हो । विधेयक आजै राष्ट्रिय सभाबाट पारित गर्ने कार्यसूची रहेको छ ।
निजामती कर्मचारीको अवकाश उमेरसम्बन्धी निर्णय उल्ट्याउन सरकारका मन्त्रीहरू नै सक्रिय रूपमा लागे पनि अन्तिममा उक्त अडानबाट सरकार पछि हटेको हो ।
विधायन व्यवस्थापन समितिले शुक्रबारको बैठकबाट निजामती कर्मचारीको अवकाश उमेर हद ६० वर्ष हुने र तीन चरणमा कार्यान्वयनमा आउने निर्णय गरेको थियो । अब ऐनको दफा ५८ मा अवकाश उमेर कार्यान्वयन विधि ऐन प्रारम्भ भएको मितिले निजामती कर्मचारीको अनिवार्य अवकाश हुने उमेर चालु आर्थिक वर्षसम्म ५८ वर्ष, त्यसपछि ५९ वर्ष र त्यसको १ वर्षपछि सबै कर्मचारीको उमेर ६० वर्ष कायम हुनेछ ।
उक्त व्यवस्था उल्ट्याउनुपर्ने र ऐन प्रारम्भ भएदेखि नै अवकाशमा जाने कर्मचारीको उमेर ५९ हुनुपर्ने सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेको थियो । मन्त्रीले समितिको निर्णय उल्टिनुपर्ने भनेपछि सत्तापक्ष कांग्रेस र एमालेका सांसदले पनि साथ दिएका थिए । दुई दिन यसै विषयमा समिति अनिर्णीत भएको थियो । मंगलबारको बैठकमा मन्त्री न्यौपानेले समितिको निर्णय उल्टिनुपर्ने अडान छोडेकी थिइन् ।
