लोपोन्मुख गिद्धको संख्या बढाउन समुदायले १९ वर्षअघि सुरु गरेको जटायु रेस्टुरेन्टले संरक्षण र प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।
What you should know
नवलपुर — केही वर्ष अगाडिसम्म गिद्ध भन्ने बित्तिकै छुन नहुने, सिनो खाने प्राणी भएकाले मानिसले यसलाई मन पराउँदैनथे । प्रकृतिको कूचीकारको रूपमा रहेको यो चराको लोप हुने जोखिम बढेपछि अहिले समुदाय नै संरक्षणमा जुटेको छ ।
समुदायस्तरबाट लोपोन्मुख संरक्षणको काम सुरु भएपछि पूर्वी नवलपरासी र आसपासको क्षेत्रमा लोपोन्मुख गिद्धको संख्या बढेको छ । जिल्लाको कावासोती नगरपालिकाको पिठौलीमा समुदायबाट गिद्ध संरक्षणका लागि सन् २००६ मा जटायु रेस्टुरेन्ट स्थापना गरेको १९ वर्ष पुग्यो । सन् २००६ मा ७१ वटा गिद्ध गणना भएकोमा सन् २०२३ मा ५ सय ११ वटा लोपोन्मुख गिद्धको गणना भएको थियो ।
विश्वबाटै लोप हुन लागेको डगर प्रजातिको गिद्धको प्रवर्द्धनका लागि दक्षिण एसियाकै पहिलो पिठौलीमा जटायु रेस्टुरेन्ट खोलेर समुदाय नै संरक्षणमा जुटेको हो । यसको सिको गर्दै अहिले नेपालका विभिन्न स्थानमा गिद्ध संरक्षणका लागि समुदायस्तरबाट पहल भइरहेको छ । ‘कुनै पनि कामको अपनत्व समुदायले लियो भने सफलतामा पुर्याउँछ भन्ने उदाहरण हो,’ स्थानीय उत्तम लामिछानेले भने, ‘समुदाय र विभिन्न संस्थाबाट हुने प्रयास भएको छ । यसलाई अझै व्यवस्थित गर्न राज्यले पनि थप लगानी गर्न आवश्यक छ । ’
गिद्धको चरिचरन र उसका क्रियाकलापको निगरानीका लागि अहिले यो क्षेत्रमा रहेका गिद्धको पखेटामा स्याटलाइट ट्याग जडान गरिएको छ । चितवनस्थित कसरामा प्रजनन केन्द्रको स्थापना गरेर बच्चा हुर्किएपछि प्राकृतिक स्थानको लागि पिठौलीमा ल्याएर छाडिने गरेको छ । स्याटलाइट जडानपछि यहाँको गिद्ध पाकिस्तानसम्म पुगेको रेकर्ड छ ।
सन् १९९० सम्म नेपालमा लाखौंको सख्यामा देखिने गिद्धको संख्या स्वाट्टै घट्यो । एकाएक लोप हुन थालेपछि सुरक्षणकर्मी चिन्तित बने । त्यसपछि स्थानीय स्तरबाट संरक्षणमा साथ दिन सन् २००६ मा जटायु रेस्टुरेन्ट नामक गिद्ध संरक्षण केन्द्र सुरु गरिएको थियो । रेस्टुरेन्ट सञ्चालनमा आएको १९ वर्षमा ६ सयभन्दा बढी लोपोन्मुख गिद्ध बढेको चराविद् तथा जटायु रेस्टुरेन्टका परिकल्पनाकार डीबी चौधरीले बताए । ‘सुरुवाती चरणमा हामीलाई गिद्ध संरक्षणको अभियान सञ्चालन गर्न केही समस्या भयो । घरमाथि गिद्ध उड्दा अशुभ हुने सोचाइ थियो । अहिले गिद्ध धेरै देख्दा खुसी हुने समय आयो । अहिले अनुसन्धानकर्ता र पर्यटकको लागि पनि यो स्थान चिनिएको छ । संरक्षण सँगै पर्यापर्यटनमा यसले सहयोग गरेको छ,’ उनले भने ।
जटायु रेस्टुरेन्टमा प्रत्येक दिन गिद्धलाई सिनो खान दिइन्छ । नमुना सामुदायिक मध्यवर्ती वनभित्र रहेका सिमलको रुखमा गुड बनाएर बसेका गिद्धलाई हरेक दिन आहारा दिने गरिन्छ । यसका लागि कावासोतीका ४१ वर्षीय यमबहादुर नेपाली १९ वर्षदेखि रेस्टुरेन्टमा खटिँदै आएका छन् । गाउँमा कतै पशु चौपाया मरेपछि जटायु रेस्टुरेन्टमा खबर गर्छन् । अनि नेपाली सहयोगीसहित मरेका पशु लिन गाउँमा गएर गिद्धलाई खुवाउँछन् । पशु मरेको जानकारी नआएमा बजारबाट किनेर भए पनि आहारा दिने गरिन्छ ।
किसानले गाईवस्तुको उपचारमा ‘डाइक्लोफेनिक’ नामक औषधि प्रयोग गर्थे । उक्त औषधि खुवाइएका पशु मरेपछि गिद्धले खान्थे । पशुमा प्रयोग भएको उक्त औषधिको असर गिद्धमा देखियो । बाहिरको सिनो खाएर गिद्ध मर्न थालेपछि संरक्षणका लागि जटायु रेस्टुरेन्ट खोलिएको चौधरीले सुनाए । नेपालमा पाइने सानो खैरो, जंगार, सुन गिद्ध, गोब्रे, राज गिद्ध, हिमाली गिद्ध, खैरो गिद्ध र हाडफोर गिद्धमध्ये सानो खैरो, डगर, सुन गिद्ध र गोब्रे गिद्ध अति संकटोन्मुख अवस्थामा छन् ।
पशुको उपचारमा प्रयोग गरिने डाइक्लोफेनिक नामको औषधि बिक्री वितरणमा सरकारले सन् २००६ मा प्रतिबन्ध लगाएपछि सिनो खाएर गिद्ध मर्ने क्रम घटेको छ । तर, विद्युतीय हाइटेन्सन लाइनमा परेर सन् २०१० देखि अहिलेसम्म १ सय १० वटा बढी गिद्ध मरेको छ । डाइक्लोफेनेक प्रतिबन्धले गिद्धको संख्या बढ्दै गएको छ । तर, हाइटेन्सन लाइनको तीव्र बिस्तारले गिद्ध संरक्षणमा नयाँ चुनौती थपिएको संरक्षणकर्मी बताउँछन् । सोमबारदेखि भदौ २२ गतेसम्म विभिन्न कार्यक्रम गरेर १७ औं अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइँदै छ ।
