गिद्धका भान्से

यमबहादुर नेपाली १८ वर्षदेखि आहार जोहो गरेर गिद्धलाई खुवाउने जिम्मेवारीमा छन्

भाद्र ३१, २०८०

नवीन पौडेल

नवलपुर — सहरमा खुलेका थरीथरीका परिकार पस्किने रेस्टुरेन्टमा बेला–बेलामा साथीभाइ–परिवारसहित खानपान र रमाउने चलन बढ्दो छ ।

यहाँको कावासोती नगरपालिका–७ स्थित पिठौलीमा गिद्ध संरक्षणका लागि लामो समयदेखि ‘जटायु रेस्टुरेन्ट’ सञ्चालनमा छ । संकटमा परेका गिद्ध संरक्षणका लागि खोलिएको रेस्टुरेन्टको उद्देश्य सुरक्षित आहारा (सिनो) खुवाउनु हो ।

रेस्टुरेन्टमा प्रत्येक दिन गिद्ध रमाई–रमाई सिनो खान्छन् । ढुक्कसित आहारा खाना पाएपछि गिद्धले पिठौली आसपास सिमलका रूखमा गुँड बनाएर बसेका छन् । पिठौलीस्थित नमुना सामुदायिक वनभित्र बेग्लै रेस्टुरेन्ट छ । त्यहाँ गिद्धलाई परिकार पस्किने तरिका फरक छ । सही तरिकाले सिनो व्यवस्थापन नगरे गिद्धले खाँदैनन् । त्यसैले रेस्टुरेन्टमा एक जना भान्से व्यवस्था गरिएको छ । 

कावासोती–७ का ४० वर्षीय यमबहादुर नेपालीले १८ वर्षदेखि रेस्टुरेन्टमा ‘कुक’को काम गर्दै आएका छन् । उनलाई संरक्षणकर्मी ‘कुक’ भने सम्बोधन गर्छन् । आहार जोहो गरेर गिद्धलाई खुवाउने जिम्मेवारी नेपालीले लिएका हुन् ।

रेस्टुरेन्ट नजिकै उनको घर छ । ‘बिहानैदेखि गिद्धलाई आहारा कसरी जुटाउने भन्ने चिन्ता सुरु हुन्छ,’ उनले भने, ‘गाउँघरमा कतै पशु चौपाया मरेको जानकारी आउँछ कि भनेर कुरेर बस्छु ।’ कतैबाट पशु मरेको जानकारी नआए रेस्टुरेन्ट पुगेर अघिल्लो दिन बचाएर राखेको आहारा खुवाउने गरेको उनले बताए । त्यसपछि रेस्टुरेन्ट क्षेत्रमै गौशालामा पालिएका गाईबस्तुलाई घाँसपराल हाल्छन् । रेस्टुरेन्ट वरपर झुम्मिने मयूरलगायत अन्य पन्छीलाई समेत आहारा पुर्‍याउने गरेको उनले बताए । रेस्टुरेन्ट पुग्नेबित्तिकै आहाराको पर्खाइमा बसेका गिद्ध नजिकै आउँछन् । उनको वरिपरि झुम्मिएर कराउन सुरु गर्छन् । ‘पन्छीको यही माया र स्नेहले मलाई रेस्टुरेन्ट छाड्न मन लाग्दैन,’ उनले आफ्नो प्रतिबद्धताको झल्को सुनाउँदै भने, ‘१८ वर्षदेखि गिद्धसित घुलमिल भएर काम गरिरहेको छु ।’

उनका अनुसार गिद्धले आहारा खाने स्थानमा बँदेल, थरीथरीका पन्छी र एकसिंगै गैंडा आइरहन्छन् । ‘म आफ्नो काम गरिरहन्छु,’ उनले भने, ‘बाधा पुर्‍याउने र होहल्ला गर्ने काम नगरेसम्म वन्यजन्तुले आक्रमण गर्दैनन् ।’ 

गिद्ध दयालु पन्छी भएकाले आक्रमण नगर्ने उनको भनाइ छ । ‘जति भोकाए पनि कुनै मरेको जनावर नपाएसम्म गिद्धले खाँदैन,’ गिद्धले आफूलाई आफन्तजस्तै माया गर्ने गरेको उल्लेख गर्दै उनले भने, ‘त्यसैले म रेस्टुरेन्टमा छिर्नेबित्तिकै झुम्मिन आउँछन् ।’ गिद्धलाई आहारा खुवाउन नपाएको दिन दुःखी बन्ने गरेको उनले बताए । 

‘म दिनभरि आहाराको खोजीमा हुन्छु,’ उनले भने, ‘कुनै दिन तीन/चारवटा पशु एकै पटक मरे भने आहारा बढी हुन्छ । भोलि पल्टलाई पुग्दैन ।’ उनको यस कार्यमा परिवारको साथ छ । दुई छोरी र श्रीमतीले उनलाई सघाउँछन् । उनीहरूले पनि गिद्धको आहारविहार र चालचलनबारे जानकारी हासिल गरेका छन् । यमबहादुर कामले बाहिर गएका बेला छोरी र श्रीमतीले गिद्धलाई आहारा दिने गरेका छन् । 

‘जंगलबीचको रेस्टुरेन्ट पुग्न घरबाट ५ मिनेट पैदल हिँड्नुपर्छ,’ पत्नी सीताले भनिन्, ‘मासु खान पाइने आसमा मांसहारी साना प्रजातिका वन्यजन्तु रेस्टुरेन्ट वरिपरि घुमिरहन्छन् ।’ वर्षौंदेखि आहार दिँदा गिद्धको आनीबानीसित अभ्यस्त भइसकेको उनले बताइन् । यमबहादुरले रेस्टुरेन्टलाई जागिर र जीविकोपार्जनको रूपमा नलिएको बताए । 

‘यसलाई अवसर र सिकाइका रूपमा लिएको छु,’ उनले भने, ‘आहारा खुवाउँदा खुवाउँदै गिद्धको प्रकार, यसको आनीबानी र बासस्थानका बारेमा सिकाउन सक्ने भइसकें ।’ उनका अनुसार २०६३ सालमा जटायु रेस्टुरेन्ट खोल्ने कुरा उठेपछि आसपासका स्थानीयले विरोध गरे । त्यसपछि यसको नाम गिद्ध नभएर जटायु राखिएको उनले बताए । गाउँघरमा गिद्धलाई ‘अशुभ’ मान्ने परम्परा रहेकाले सुरुवातमा विरोध भएको उनले बताए ।

 संसारबाट गिद्ध लोप हुने अवस्थामा पुगेकाले स्थानीयवासी तथा संरक्षणकर्मी डीबी चौधरीको अगुवाइमा रेस्टुरेन्ट खोलिएको थियो । रेस्टुरेन्ट सुरु गरेपछि गिद्धलाई आहारा जुटाउन धौ–धौ भएको चौधरीले बताए । ‘रेस्टुरेन्टमा काम गर्ने जनशक्ति पाउन मुस्किल पर्‍यो,’ चौधरीले भने, ‘जटायु रेस्टुरेन्टमा गिद्धलाई खाना खुवाउने काम गर्न कोही तयार भएनन् ।’ त्यही बेला संरक्षणमा चासो राख्ने यमबहादुरले रुचि देखाए । त्यसपछि उनलाई रेस्टुरेन्टको मुख्य ‘सेफ’ बनाइएको चौधरीले बताए । त्यसबेला यमबहादुर वन हेरालुको काम गर्थे । जटायु रेस्टुरेन्टमा भान्सेको काम नौलो लागेपछि आफू आहारा तयार गर्ने र गिद्धलाई पस्किने काममा लागेको नेपालीले बताए ।

२०६३ सालदेखि अहिलेसम्म यमबहादुर दैनिकी गिद्ध, गौशाला र प्रकृति संरक्षणको क्षेत्रमा काम गरिरहेका छन् । गाउँघरमा मरेको चौपाया फेला नपरे सदरमुकाम कावासोती बजार पुगेर राँगाको मासु ल्याएर खुवाउँछन् । ‘नेपालबाट गिद्ध लोप हुन लागेको अवस्थामा रेस्टुरेन्ट सञ्चालनमा ल्याएका हौं,’ रेस्टुरेन्टका संयोजक चौधरीले भने, ‘सुरुवातबाटै यमबहादुरले काम गरिरहनुभएको छ । उहाँलाई देख्दा गिद्ध खुसी हुन्छन् ।’ 

गिद्ध संरक्षणमै बाँकी जीवन बिताउने यमबहादुर बताउँछन् । रेस्टुरेन्ट बनाउने बेला हाँसोमा उडाउनेहरू अहिले तिनै गिद्ध अवलोकन गर्न आउने गरेको उनले बताए । गिद्धलाई आहारको जोहो गर्न यहाँ गौशाला निर्माण गरिएको छ । जिल्लाका विभिन्न स्थानबाट बूढा भएका बस्तुभाउ यही गौशालामा ल्याउने गरिएको छ । गौशालामा संरक्षण गरिएका गाईबस्तु मरेपछि गिद्धलाई आहाराका रूपमा खुवाउने गरिन्छ ।

सन् १९९० सम्म नेपालमा लाखौंको संख्यामा देखिने गिद्धको संख्या स्वाट्टै घट्यो । एकाएक लोप हुन थालेपछि संरक्षणकर्मी चिन्तित बने । त्यसपछि समुदायस्तरबाट संरक्षण गर्न सन् २००६ मा पहिलो पटक जटायु रेस्टुरेन्ट नामक गिद्ध संरक्षण केन्द्र सुरु गरिएको थियो । यो रेस्टुरेन्टका कारण गिद्ध संरक्षणमा मद्दत पुग्ने देखिएपछि मुलुकका विभिन्न स्थानमा यस्तै केन्द्र सञ्चालनमा छन् । रेस्टुरेन्ट सञ्चालनमा आएको १८ वर्षमा ६ सयभन्दा बढी लोपोन्मुख गिद्ध बढेको चराविद् चौधरीले बताए । उनका अनुसार सन् २००६ मा ७ प्रजातिका ७२ वटा गिद्ध गणना गरिएको थियो । अहिले यस क्षेत्रमा ८ प्रजातिका ६ सयभन्दा बढी गिद्ध गणना गरिएको छ ।

‘प्रकृति स्वस्थ हुन वातावरण सफा हुनुपर्छ र वातावरण सफा राख्न गिद्धको महत्त्वपूर्ण भूमिका हुन्छ,’ चौधरीले भने, ‘सुरुमा गिद्ध संरक्षण गर्नुपर्छ भन्दा हाँसेर उडाउनेहरू अहिले संस्थाको नेतृत्व लिन र संरक्षण गर्न लागिपरेका छन् ।’ किसानले गाईबस्तुको उपचारमा ‘डाइक्लोफेनेक’ नामक औषधि प्रयोग गर्थे । उक्त औषधि खुवाइएका पशु मरेपछि गिद्धले खान्थे । पशुमा प्रयोग भएको उक्त औषधिको असर गिद्धमा देखियो । 

उक्त औषधिले गिद्धको मिर्गौलामा असर गरेर मर्ने गरेको चौधरीले बताए । एकाएक गिद्ध मर्न थालेपछि कारण खोज्दै जाँदा डाइक्लोफेनेक औषधि कारण भएको विज्ञले पत्ता लगाएपछि सरकारले २०६३ सालमा उक्त औषधिको उत्पादन, प्रयोग, आयात र बिक्री वितरणमा रोक लगाएको थियो । त्यसपछि घरपालुवा वस्तुको सिनो खाँदा गिद्ध मर्न छाडेको चौधरीले सुनाए । ‘बाहिरको सिनो खाएर गिद्ध मर्न थालेपछि संरक्षणका लागि जटायु रेस्टुरेन्ट खोलिएको हो,’ उनले भने । मुलुकमा अहिले सानो खैरो, जंगार, सुन गिद्ध, गोब्रे, राज गिद्ध, हिमाली गिद्ध, खैरो गिद्ध र हाडफोर गिद्धमध्ये सानो खैरो, डंगर, सुन गिद्ध र गोब्रे गिद्ध अति संकटोन्मुख अवस्थामा छन् ।

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully