अवकाशको उमेर ६० वर्ष लागु गर्दा अपनाउने कार्यान्वयन विधिमा विवाद
काठमाडौँ — संघीय निजामती विधेयकमा कर्मचारीको अवकाश उमेर कार्यान्वयन विधिमा शुक्रबार भएको सहमति उल्ट्याउने कि नउल्ट्याउने भन्ने विवाद हुँदा राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा विवाद भएको छ ।
सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेसँगै सत्तापक्ष कांग्रेस र एमालेका सांसदले शुक्रबारको सहमति उल्ट्याउन खोज्ने र उक्त सहमति मानेर जानुपर्ने विपक्षी माओवादी, एकीकृत समाजवादी, जसपा नेपालको अडानले सहमति जुट्न सकेको छैन ।
मन्त्री न्यौपानेले विधेयक पारित भएलगत्तै कर्मचारीको अवकाश उमेर ५९ वर्ष हुनुपर्ने अडान राखेकी छ्न् । उनको अडानलाई शुक्रबारको बैठकमा आगामी आर्थिक वर्षदेखि मात्रै अवकाश उमेर ५९ हुने भनी सर्वसम्मत निर्णय गरेका कांग्रेस र एमालेका सांसदले समर्थन गरेका छन् ।
माओवादी, एकीकृत समाजवादी र जसपा नेपालका सांसदले भने समितिको बैठकले यसअघि सर्वसम्मत पारित गरेको व्यवस्था अहिले उच्चपदस्थ कर्मचारीको दबाबमा उल्ट्याउन नसकिने बताएका छन् ।
दुवै पक्षले अडान नछोडेपछि सभापति तुलसा दाहालले समितिको बैठक १५ मिनेटका लागि स्थगित गरेकी छन् ।
