रुबी हत्या प्रकरण : मुख्य आरोपित लक्ष्मणको मुत्यु भएपछि के हुन्छ मुद्दा ?

रुबीको हत्या गर्ने मुख्य अभियुक्तको नै मृत्यु भइसकेकाले अब अरु पनि संलग्न छन् कि भनेर अनुसन्धान जारी राख्ने जिल्ला प्रहरी प्रमुखसपी नेत्रमनि गिरीले बताए ।

भाद्र १२, २०८२

शिव पुरी

Ruby murder case: What happens to the case after the death of the main accused Laxman?

What you should know

गौर — रौतहटको माधवनारायण नगरपालिका–६ स्थित माधोपुरकी ३० वर्षीया रुबी साहको हत्याका मुख्य आरोपित लक्ष्मण पासवानको पनि मृत्यु भएपछि अब के मुद्दा के हुन्छ भन्ने सबैको जिज्ञासा रहेको छ । 

अनुसन्धानमा जुटेको प्रहरीले यो हत्यामा रुबीकै प्रेमी लक्ष्मण पासवान जिम्मेवार रहेको निष्कर्ष निकाल्न नपाउँदै ९ मिनेटको भिडियो बनाएर लक्ष्मणले हत्याको जिम्मेवारी लिँदै आफैलाई आगो लगाए । रौतहटको माधवपुरबाट समनपुर जाने बाटो छेउबाट प्रहरीले उनलाई नियन्त्रणमा लियो । उपचारकै क्रममा कीर्तिपुरस्थित बर्न अस्पताल लक्ष्मणको मृत्यु भयो । 

हालसम्मको अनुसन्धानमा मुख्य अभियुक्त लक्ष्मणमात्र भएको खुलेको छ । प्रहरीको अनुसन्धानमा अरु व्यक्तिको संलग्नता नदेखिएकाले यो प्रकरण अब थप अनुसन्धान तथा अभियोजनका लागि नबढ्ने फौजदारी कानुनका जानकारहरूको टिप्पणी छ । मुलुकी फौजदारी संहिताको परिच्छेद-१२को ज्यान सम्बन्धी कसुरमा ज्यान मार्ने नियतले कुनै काम गर्न नहुने भन्दछ । यदि लक्ष्मणको मृत्यु नभएको भए उनलाई यही व्यवस्थाअन्तर्गत अनुसन्धान भई जिल्ला अदालतमा अभियोगपत्र दायर हुन्थ्यो । तर उनको मृत्यु भएकाले अब अनुसन्धानको कुरा समाप्त भएको फौजदारी कानुनका जानकार एवं सर्वोच्च अदालत बारका पूर्व सचिव  अधिवक्ता ऋषिराम घिमिरेले बताए । उनले फौजदारी कसुरमा आरोपको अन्त्यसँगै अभियोग पनि समाप्त हुने टिप्पणी गरे । यस सम्बन्धमा सर्वोच्च अदालतमा दर्जनौँ नजिर रहेको उनले बताए । 

अब प्रहरीले घटनामा मुख्य आरोपी एक जना मात्र भएको र अनुसन्धानकै समयमा उनको निधन भएकाले मुद्दा नचल्ने भन्दै जिल्ला सरकारी वकिल कार्यालयमा फाइल पेस गर्न सक्छ । प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा नचल्ने भन्दै फाइल बन्द गर्छ । यदि अरु पनि आरोपित भएको अवस्थामा भने निधन भएका व्यक्तिको हकमा सजाय माग दाबी गर्न नपर्ने र अन्यको हकमा दाबी गर्दै अभियोगपत्र पेस गर्नुपर्ने थियो । यदि अदालतमा विचाराधीन भएको अवस्थामा मृत्यु भएको भए अदालतलाई निधन भएकोले बन्दको औचित्य समाप्त भएको भनी जानकारी दिनुपर्ने थियो । रुबीको हकमा भने सरकारी वकिलले नै फाइल क्लोज गर्न सक्ने छ ।

प्रहरी के भन्छ ?

रुबीको हत्या गर्ने मुख्य अभियुक्तको नै मृत्यु भइसकेकाले अब अरु पनि संलग्न छन् कि भनेर अनुसन्धान जारी राख्ने जिल्ला प्रहरी प्रमुखसपी नेत्रमनि गिरीले बताए । 'अहिले अनुसन्धान जारी छ । हामी यसैमा लागेका छौं,' उनले भने, 'घटनामा अरु पनि छन् कि भन्नेतिर पनि हाम्रो अनुसन्धान जारी रहन्छ ।'

अहिले नै रुबी हत्याको मिसिल बन्द नहुने उनले बताए । पीडितले पनि हत्यामा अरुको पनि संलग्नता छ कि भनेर शंका गरेको प्रहरीको भनाइ छ ।

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully