छोराको मृत्युपछि शव ल्याउनसमेत पैसा नभएको भन्दै बुवा जयनाथ घरमा आएर रोइकराइ गरेको माधवनारायण नगरपालिकाका नगरप्रमुख बैजनाथ यादवले बताए ।
What you should know
रौतहट — माधवनारायण नगरपालिका–६ माधोपुरकी ३० वर्षीया रुबी साहको हत्यामा संलग्न लक्ष्मण पासवानको शव ल्याउन उनका बुवा जयनाथ पासवानले बिहीबार जनप्रतिनिधि गुहारेका छन् । आर्थिक अवस्था निकै कमजोर जयनाथले काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा बुधबार मृत्यु भएका छोराको शव ल्याउन हारगुहार गरेका हुन् ।
शनिबार साँझ सदरमुकाम गौरस्थित काजल ब्युटीपार्लर जान हिँडेकी रुबीको हत्या गरी सुटकेसभित्र राखेर सडकमा छाडेपछि लक्ष्मण फरार भएका थिए । घटनाको तीन दिनपछि मंगलबार बिहान लक्ष्मणले माधोपुरस्थित घरनजिक बाटोमा पेट्रोल छर्की आत्महत्याको प्रयास गर्दै शरीरमा आगो लगाएका थि ए। अनुहार र शरीरमा आगो सल्केर गम्भीर घाइते भएका लक्ष्मणको उपचारका क्रममा बुधबार राति कीर्तिपुर अस्पतालमा मृत्यु भएको हो।
छोराको मृत्युपछि शव ल्याउनसमेत पैसा नभएको भन्दै बुवा जयनाथ घरमा आएर रोइकराइ गरेको माधवनारायण नगरपालिकाका नगरप्रमुख बैजनाथ यादवले बताए । ‘खानलाई समेत धौधौ हुने परिवारलाई काठमाडौंबाट शव ल्याउन निकै सकस छ,’ उनले भने, ‘शव ल्याउन आफूले सक्दो सहयोग गर्ने बचन दिएको छु। जे हुनु भइसकेको छ, अब यसलाई धेरै उचालेर के गर्नु?’
पाँच वर्ष मलेसिया बसेर दुई महिनाअघि मात्र लक्ष्मण घर आएका थिए । तर उनले कमाएको पैसा बुवाको उपचार र ऋण तिर्न खर्च भएको थियो । जयनाथको एक्लो छोरा थिए लक्ष्मण । लक्ष्मणका श्रीमती, दुई छोरा, आमा र बुवा छन्। ५/६ धुर घडेरीबाहेक पासवान परिवारको अन्य सम्पत्ति छैन।
आत्महत्याको प्रयास गर्नुअघि पासवानले नौ मिनेटको भिडियो बनाएर रुबीको हत्या गरेको स्वीकार गरेका थिए । भिडियोमा रुबीको हत्या गरेदेखि नै आफ्नो हात काँपिरहेको उनले बताएका छन्। उनले भनेका छन्, ‘रुबी मरिसकेपछि आफू बाँचेको के गर्नु भन्ने लागेको छ। मेरो जान मरेकी छिन्। म बाँचेको के गर्नु?’ लक्ष्मणको शव अहिले कीर्तिपुर अस्पतालमै रहेको छ।
