आफैंलाई आगो लगाउनुअघि लक्ष्मणले भिडियो रेकर्ड गरेर रुबीको हत्या गरेको स्वीकारेका थिए

लक्ष्मणको दाहिने हातमा 'माई हार्ट रुबी कुमारी' ट्याटु खोपिएको छ । छातीमा समेत उनले रुबीको तस्बिर बनाएका छन् ।

भाद्र ११, २०८२

शिव पुरी

Before setting himself on fire, Laxman recorded a video and confessed to killing Ruby

What you should know

रौतहट — बन्द सुटकेसभित्र मृत भेटिएकी माधवनारायण-६ माधोपुरकी ३० वर्षीया रुबी साहको हत्या आरोपीलाई प्रहरीले थप उपचारका लागि काठमाडौं पठाएको छ । शरीर जलेर गम्भीर घाइते अवस्थामा बुधबार बिहान प्रहरीले फेला पारेको लक्ष्मण पासवानको अनुहार र शरीर जलेको छ ।

आत्महत्याको प्रयास गर्नुअघि पासवानले ९ मिनेटको भिडियो बनाएर रुबीको हत्या गरेको भनेर स्वीकारेका छन् । पासवानले बनाएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

गत शनिबार राति रुबीको हत्या गरी पासवानले सुटकेसमा राखेर गौर–सिर्सिया खण्डको मुडबलवा गेटनजिक छाडेर भागेका थिए । घटनापछि विभिन्न कोणबाट अनुसन्धानमा खटिएको प्रहरीले पासवानले नै हत्या गरेको भनेर ठम्याइसकेको थियो । उनको खोजी गर्ने क्रममा पासवानकै घर भएको माधोपुरमा शरीरमा आगो लगाएको अवस्थामा भेटिएको जिल्ला प्रहरीका डीएसपी राजु कार्कीले जानकारी दिए ।

‘हत्याको कारणबारे हामी गहिरिएर अनुसन्धान गर्दैछौँ । प्रेम प्रंसग पनि भन्ने आएको छ,’ उनले भने,‘अहिले नै यसो हो भन्न सकिँदैन । तर पासवानको भिडियो सुन्दा विगतमा दुवैबीच केही न केही सम्बन्ध हुन सक्छ । हामी बुझ्दै छौँ ।’ रौतहटको गरुडास्थित बेटर अस्पतालमा उपचारपछि पासवानलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा थप उपचारका लागि पठाइएको डीएसपी कार्कीले बताए ।

मोबाइल स्विच अफ गरेर लुकेका पासवानले शरीरमा आगो लगाउनुअघि ९ मिनेटको भिडयो रेकर्ड गरेका छन् । रुबीको हत्या गरेदेखि नै आफ्नो हात काँपिरहेको पासवानले भिडियोमा भनेका छन् । ‘रुबी मरिसकेपछि आफू बाचेर के गर्नु भन्ने लागेको छ । नेपाल प्रहरीलाई मेरो सलाम छ । तपाईंहरूले राम्रो काम गरिरहनु भएको छ,’ उनले भिडियोमा भनेका छन,‘मेरो जान मरिसकेकी छन् । म बाँचेर के गर्नु । पक्राउ परे जेल जानुपर्छ । १०/१५ वर्ष सजाय भोग्नुपर्छ । सजाय भोग्न तयार छु ।’

पासवानको दाहिने हातमा 'माई हार्ट रुबी कुमारी' ट्याटु खोपिएको छ । छातीमा समेत उनले रुबीको तस्बिर बनाएका छन् । माधव नारायण नगरपालिका-६ माधोपुर माइत र भारतको मुजफ्फरपुर घर भएकी रुबी गौरमा डेरा लिई ४ वर्षीया छोरालाई पढाउँदै आएकी थिइन् । लक्ष्मणको घर र रुबीको माइती एउटै टोलमै छ । 

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully