जडीबुटी बोकेको कन्टेनरमा कसरी पुग्यो तस्करीको भेप ? वन कर्मचारीको ‘मिलेमतो’को आशंका

जडीबुटी बोकेको भनिएको कन्टेनरबाट सशस्त्र प्रहरीले चीनबाट तस्करी गरेर ल्याइएको ३९ हजार ९ सय थान भेप बरामद गरेसँगै जडीबुटीका मालिक कुन्साङ दोर्जी लामा फरार भएका छन् ।

भाद्र १०, २०८२

कान्तिपुर संवाददाता

How did the smuggled vape get into the container with herbs? Suspicion of 'collusion' of forest staff

What you should know

काठमाडौँ — जडीबुटी बोकेको भनिएको कन्टेनरमा करिब १० करोड रुपैयाँ मूल्य बराबरका तस्करीको विद्युतीय चुरोट (भेप) बरामद भएपछि जडीबुटीका मालिक कुन्साङ दोर्जी लामा फरार भएका छन् ।

आइतबार सशस्त्र प्रहरी बल (एपीएफ)को टोलीले उक्त कन्टेनर बरामद गरेको थियो । सेतक चिनी (जडीबुटी) ले भरिएको उक्त कन्टेनर हुम्लाको हिल्सा नाका हुँदै आएको थियो । जसमा चीनबाट तस्करी गरेर ल्याइएको ३९ हजार ९ सय थान भेप सशस्त्रले बरामद गरेको थियो । भेप बरामद भएसँगै कन्टेनरका मालिक फरार छन् । प्रहरीले कन्टेनरमा सवार हुम्लाको सिमकोटका २७ वर्षीय छिरिङ लामा तथा मुगु खत्याडका ३२ वर्षीय जनक रोकाय र २७ वर्षीय कन्टेनर चालक भूमि रोकाय पक्राउ परेका छन् । स्रोतका अनुसार जनक र छिरिङ जडीबुटी मालिक लामाका सहयोगी हुन् ।

हुम्लाको सिमकोटस्थित डिभिजन वन कार्यालयका निमित्त प्रमुख लोकजंग शाहीले कैलाश–ईश्वर जडीबुटी खरिद बिक्री केन्द्रका सञ्चालक कुन्साङ दोजी लामाले संकलन गरेको उल्लेख गरी ५ हजार केजी सेतक चिनी सिमकोटबाट सल्लीसल्ला–बाजुरा–कालिकोट–दैलेख–अछाम–कैलाली–बर्दिया–कोहलपुर हुँदै नेपालगन्ज (बाँके)सम्म जाने गरी जडीबुटी जाँचपास गरी पास जारी गरेका थिए । जडीबुटी वनको घाटगद्दीबाट कन्टेनरमा लोड गरी पठाएको मुचुल्का गरिएको थियो । त्यसको पर्सिपल्ट शनिबार (भदौ ७) गते बिहान करिब ५ बजेर ३० मिनेटमा कन्टेनर हुम्लाबाट नेपालगन्जतर्फ लाग्यो ।

How did the smuggled vape get into the container with herbs? Suspicion of 'collusion' of forest staff

त्यसअघि नै कन्टेनरमा तस्करीका भेप लुकाएर लैजान लागिएको सूचना राजस्व अनुसन्धान विभागमा पुगिसकेको थियो । विभागले कन्टेनर जाँचपासपछि त्यहीबाट सशस्त्र प्रहरीको संयन्त्र परिचालन गर्‍यो । प्राप्त सूचनाका आधारमा सशस्त्रले दैलेखको खिड्की जिउलाबाट कन्टेनरसहित चालक र अरु दुई जनालाई नियन्त्रणमा लियो । त्यसपछि राजस्व अनुसन्धान कार्यालयलाई बुझाउन सशस्त्रले कन्टेनर बाँकेतर्फ लैजाने आइतबार बिहान सुर्खेतको बांगेसिमलबाट नेपालगन्जबाट गएको राजस्व अनुसन्धान कार्यालयको टोलीलाई जिम्मा लगायो । त्यसपछि सशस्त्रको सुरक्षामा राजस्वले कन्टेनर कोहलपुर ल्याएर खोल्दा माथिल्लो भागमा २ हजार ४ सय ६ केजी सेतक चिनी र त्यसमुनि ३९ हजार ९ सय थान तस्करीका भेप फेला पर्‍यो । उता, सशस्त्रले कन्टेनर नियन्त्रणमा लिएपछि यसका मालिक लामा लगत्तैबाट सम्पर्कविहीन बनेका छन् । राजस्व अनुसन्धान विभागका महानिर्देशक तीर्थराज चिलुवालले बरामद भेप सिमकोटबाट डिभिजन वन कार्यालयले जाँचपास गरी छाडेको जडीबुटी बोकेको कन्टेनरबाट फेला परेको र यो संगठित गिरोहको योजनामा भएको देखिएकोले विस्तृत अनुसन्धान अघि बढाइएको बताए ।

‘वनले जडीबुटीजन्य वस्तु सेतक चिनी भनेर जाँचपास गरी पठाएको कन्टेनरबाट करिब ४० हजार थान भेप बरामद भएका छन्, जुन वस्तुको जाँचपास भएको हो, त्यसभन्दा बाहेकका सामान कन्टेनरमा भेटिइनुले यो संगठित गिरोहको योजनाबाटै काम भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखाउँछ,’ महानिर्देशक चिलुवालले कान्तिपुरसँग भने, ‘यसमा सूक्ष्म रूपले अनुसन्धान भइरहेको छ, जो–जसको संलग्नता भेटिन्छ, उनीहरूलाई कारबाहीको दायरामा ल्याइन्छ ।’ स्रोतका अनुसार हाल फरार रहेका लामा र निमित्त डिभिजनल वन अधिकृत लोकजंग शाहीबीच ‘अस्वाभाविक हिमचिम’ रहेका तथ्यहरू पनि भेटिएका छन् । यस विषयमा अनुसन्धान जारी रहेको स्रोतको भनाई छ । 

प्रतिकेजी २५ रुपैयाँ उल्लेख गरी एक लाख २५ हजार राजस्वको रसिद काटेर निमित्त डिभिजनल वन अधिकृत शाहीले कन्टेनर जाँचपास गराएर छाडेका थिए । जडीबुटी व्यवसायको आवरणमा तस्करी धन्दा चलाएका लामाले कैलाश–ईश्वर जडीबुटी खरिद बिक्री संस्थाका नाममा भदौ ३ मा जाँचपासका लागि वनमा निवेदन दिएका थिए । त्यसको दुई दिन पछाडि ५ भदौमा वनका निमित्त प्रमुख शाहीले जाँचपास गराएको देखिन्छ । 

How did the smuggled vape get into the container with herbs? Suspicion of 'collusion' of forest staff

राजस्व र सुरक्षा स्रोतका अनुसार जडीबुटीका नाममा जाँचपास गराएको कन्टेनरबाट भेप पास गराउन वनका निमित्त प्रमुख शाहीकै भूमिका शंकास्पद रहेकाले उनी पनि अनुसन्धान घेरामा तानिएका स्रोतले बतायो । शाही विगत १६ वर्षदेखि हुम्ला वन कार्यालयमा कार्यरत रहेको पनि खुलेको छ । वनका कर्मचारीलाई हातमा लिएर गिरोहले तस्करी धन्दा चलाएको हुन सक्ने आशंकापछि राजस्वले वनका कर्मचारीमाथि निगरानी बढाएको हो । हुम्लाका डिभिजन वन अधिकृत चन्द्रवीर गुरुङ गत साउन ६ देखि सुर्खेतस्थित वन मन्त्रालय झरेका थिए । त्यसपछि निमित्तको जिम्मेवारी शाहीले पाएका थिए । लगत्तै गिरोहले जडीबुटीकै आवरणमा तस्करी गरिएको भेप हुम्लाबाट नेपालगन्जसम्म पुर्‍याउन रफ्तारमा काम गरेको देखिन्छ । 

स्रोतका अनुसार पछिल्लो समय नेपाल–चीन सीमा नाकाबाट तस्करीको भेप भित्र्याएर नेपाल हुँदै भारतसम्म लैजाने गिरोह सक्रिय छ । यसअघि पनि चीनबाट तस्करीमा भित्रिएका भेपहरु मुस्ताङको लोमाथाङ र ललितपुरको इमाडोलसहित विभिन्न स्थानबाट बरामद भएका थिए ।

‘तस्करीको निरन्तरतास्वरुप नै यो पटक पनि हिल्सा नाकाबाट भित्रिएको भेप जडीबुटीको आवरणमा बाँकेबाट भारतसम्म पुर्‍याउने तयारी थियो, गोप्य सूचनाका आधारमा गिरोहको प्रयास सफल हुन सकेन,’ अनुसन्धानमा संलग्न एक अधिकारीले भने । 

शाहीले कन्टेनर जाँचपास गराएपछि फरेस्टर सन्तोष खत्री र वनकै अर्का कर्मचारी कृष्णबहादुर हमालले नेपालगन्जसम्म जानका लागि जाँचपास पत्र तयार पारेको देखिन्छ । कन्टेनर जाँचपासमा ‘नियमअनुसार सबडिभिजन कार्यालय हुम्लामा कार्यरत कर्मचारीको रोहबरमा लोड गराई एचयूएम–१ नम्बरको सिल लगाई दरपिठ गरी बाटोमा पर्ने वन चेक पोस्टहरूमा अनिवार्य चेकजाँच तथा दरपिठ गराई लैजानुहुन जानकारी गराइन्छ’ भनी कन्टेनर वाहकलाई पास उपलब्ध गराइएको थियो । तर, राजस्वले कन्टेनर खोलेर हेर्दा तोकिएको परिमाणमा जडीबुटी नदेखिनु, कन्टेनरको माथि जडीबुटी र तल कार्टुनमा बन्द गरिएका भेप राखिनुमा यो योजनाबद्ध रूपमा गरिएको तस्करी भएको राजस्वका अधिकारीको भनाई छ ।

यससँग सम्बन्धित अन्य समाचार :

भेप : भन्सारमा प्रतिबन्धित, बजारमा जहीँतहीँ

तातोपानी नाकाबाट काठमाडौं जाँदै गरेको कन्टेनरबाट साढे २५ लाख बराबरको भेप र अन्य सामान बरामद, चालक पक्राउ [अपडेट]

कान्तिपुर

Link copied successfully