इमाडोलको एउटै गोदामबाट ८६ हजार थान भेप बरामद 

भेप तस्करीमा कोरला नाकाको प्रयोग

पुस २८, २०८१

ऋषिराम पौड्याल

86 thousand pieces of vape were recovered from a single warehouse in Imadol

काठमाडौँ — राजस्व अनुसन्धान विभाग र प्रहरीको संयुक्त प्रयासमा राजस्व छलेर नेपाल भित्र्याइएका विद्युतीय चुरोट(भेप) ठूलो मात्रामा बरामद गरेको छ । विभाग स्रोतका अनुसार दुई साताभित्र करिब १ लाख २० हजार थान भेप बरामद भएको छ ।

चीनबाट मुख्यतयाः रसुवागढी र तातोपानी नाकाबाट भेप आयात हुँदै आएको थियो । तर यस पटक भने कोरला नाकाको पनि प्रयोग भएको छ । राजस्व तिरेर भेप आयात गर्न पाउने कानुनी व्यवस्था भएपनि चोरी पैठारी रोकिएको छैन ।

भन्सार छलेर लुकाइछिपाई  भेप नेपाल भित्र्याउने गरेको सूचनाका आधारमा विभागले ललितपुरको महालक्ष्मी नगरपालिका इमाडोलको एक गोदामबाट मात्र एक साताअघि ८६ हजार थान भेप बरामद गरेको थियो । राजस्व अनुसन्धान विभाग र मातहतका कार्यालय तथा प्रहरीको विशेष निगरानीबाट मुस्ताङबाट ९५ कार्टुनमा १९ हजार थान भेप बरामद भएको छ । पथलैयाबाट १५ हजार र बुटवलबाट ४ हजार थान भेप बरामद गरिएको विभागले जनाएको छ । 

86 thousand pieces of vape were recovered from a single warehouse in Imadolराजस्व अनुसन्धान विभागले छापा मारेर बरामद गरेको भेप इमाडोलको एक गोदामबाट बरामद गरेर ट्रकमा राख्दै  । तस्बिरः राजस्व अनुसन्धान विभाग  

गत १९ गते मुस्ताङको कोरोला नाकामा बरामद गरेर ल्याइएको भेप प्रहरीले राजस्व अनुसन्धानलाई बुझाएको थियो । जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक सागर पौडेलका अनुसार गाडीमा राखेर घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित अन्नपूर्ण संरक्षण क्षेत्रको चेकपोस्ट नजिकैबाट गाडीलाई नियन्त्रणमा लिएको थियो । मुस्ताङ प्रहरीले गाडीसहित चालकलाई राजस्व अनुसन्धानमा बुझाएको थियो । 

राजस्वले मुस्ताङबाट ल्याएको गाडीमा भेटिएको भेपको अनुसन्धान गर्ने क्रममा प्राप्त सूचनाका आधारमा इमाडोलको गोदाममा छापा मारिएको थियो । त्यहाँबाट विभागले ठूलो परिमाणमा भेप बरामद गरेको थियो । राजस्वले हाल बरामद गरेको भेपको बजारमा मूल्य मात्रै २५ करोड रुपैयाँभन्दा बढी हुन्छ । बरामद भएका भेप विभिन्न 'फ्लेभर'को रहेको छ ।

एउटा भेपको बजार मूल्य १५ सय देखि २५ हजार रुपैयाँसम्म पर्ने विभागले जनाएको छ । एउटा भेपको धूवाँ बढीमा ३० हजार सर्को तान्न मिल्ने रहेको छ । भेपको ठूलो बजार भारत हो । त्यसैले भारत लैजाने क्रममा दक्षिणी नाकाको आसपासबाट भेप बरामद हुने गरेको छ । विभागका एक अधिकारीका अनुसार अनुसन्धानका क्रममा इमाडोलबाट दुई र मुस्ताङबाट एक जना पक्राउ परेका छन् । थप व्यक्तिको खोजी भइरहेको छ । पक्राउ परेकाहरुबाट भेपको मालिक र चोरी पैठारीका विषयमा जानकारी लिन बयान भइरहेको स्रोतले बतायो । 

ऋषिराम पौड्याल कान्तिपुरका संवाददाता हुन् । उनी निजामती प्रशासन, संसदीय मामिला, संघीयता र राजस्वसँग सम्बन्धित रिर्पोटिङ गर्छन् ।

Link copied successfully