सहमतिसँगै विद्यार्थीहरूले सबै आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् ।
What you should know
पोखरा — पोखराको सिर्जना बहिरा आवासीय माध्यमिक विद्यालयमा देखिएको विवाद समाधान गर्न छानबिन समिति गठन हुने भएको छ । विद्यालयमा व्याप्त बेथितिको विरोधमा उत्रिएका विद्यार्थी र अभिभावकले राखेका माग पूरा गर्न छानबिन समिति गठन गर्ने निर्णय पोखरा-२६ को वडा कार्यालयमा सोमबार भएको हो । यो सहमतिसँगै विद्यार्थीहरूले सबै आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् ।
केही समयअघि विद्यालयमा अध्ययनरत विद्यार्थी विजय विकलाई त्यहीँकी एक बहिरा छात्रामाथि जबर्जस्ती करणी गरेको आरोप लगाइएको थियो । विद्यालय प्रशासनले विजयलाई उनका अभिभावकलाई समेत जानकारी नदिई प्रहरीको जिम्मा लगाएको थियो । उक्त घटनामा विजयले सात महिनासम्म जेल जीवन बिताउनुपर्यो ।
तर, अदालतले उनलाई निर्दोष ठहर गर्दै सफाइ दिएपछि विद्यार्थीले विजयमाथि षड्यन्त्र गरिएको बताउँदै आएका थिए ।विजयका बुबा प्रविण विश्वकर्माले विद्यालयमा व्याप्त भ्रष्टाचार र राजनीतिक पहुँचका कारण आफ्नो छोरालाई फसाइएको आरोप लगाएका थिए । गण्डकी बहिरा संघका अध्यक्ष किसान तामाङ र विद्यार्थी प्रतिनिधि भेषराज ढकालले पनि यस घटनालाई विद्यालय प्रशासनको कमजोरी र व्यक्तिगत प्रतिशोधका रूपमा चित्रण गरेका थिए ।
विजयलाई न्याय मिले पनि अन्य विद्यार्थीहरूमा 'भोलि हामीलाई पनि फसाइन्छ कि' भन्ने त्रास पैदा भएको थियो । यही त्रास र विद्यालयको अव्यवस्थाविरुद्ध विद्यार्थीहरूले आइतबारदेखि पठनपाठन ठप्प पारी आन्दोलन गर्दै आएका थिए । उनीहरूको मुख्य माग प्रधानाध्यापक सुनील भण्डारीसहित पाँचजना शिक्षक तथा कर्मचारीलाई सरूवा गरी कारबाही गर्नु थियो । विद्यार्थीहरूको आन्दोलनपछि वडा कार्यालयको सक्रियतामा सोमबार भएको सर्वपक्षीय भेलामा विद्यार्थी र सरोकारवालाबीच सहमति भएको हो ।
वडाध्यक्ष नरेन्द्र थापाका अनुसार, विद्यार्थीले उठाएका सबै समस्याको छानबिन गर्न महानगरको शिक्षा महाशाखालाई पत्राचार गरिने भएको छ । छानबिनपछि दोषी ठहरिएका जोकोहीलाई कारबाही गरिने प्रतिबद्धता उनले व्यक्त गरे ।
अध्यक्ष थापाले विद्यार्थीहलाई कुनै पनि समस्या भए सिधै वडा कार्यालयमा सम्पर्क गर्न आग्रह गरे । फरक प्रकृतिको विद्यालय भएकाले सिर्जना बहिरा माविको समस्या समाधानका लागि आफू गम्भीर रहेको उनले बताए । विद्यार्थी भेषराज ढकालले छानबिन पश्चात आफ्ना माग पूरा नभए पुनः आन्दोलनमा उत्रिने बताए ।
छलफलमा वडा अध्यक्ष नरेन्द्र थापा, वडा सदस्य तीर्थबहादुर राजभाट, वडा शिक्षा समितिका चन्द्रबहादुर रानाभाट, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाशलाल श्रेष्ठ र सदस्यहरू, गण्डकी बहिरा संघका अध्यक्ष किसान तामाङ, उपाध्यक्ष पार्वती भुजेल, महासचिव विश्वमित्र भिरकोटी, सल्लाहकार सूर्यमोहन बराल, दोभाषे अञ्जली विक, विद्यार्थी प्रतिनिधि भेषराज ढकाल, अमित सुनार, मलिना श्रेष्ठलगायत अभिभावक गौरादेवी पाइजा, रिंकु मगर र हृदयकुमार श्रेष्ठको सहभागिता रहेको थियो ।
