साथीलाई जस्तै फसाइने डरले त्रसित सिर्जना बहिरा स्कुलका विद्यार्थी आन्दोलित, प्रधानाध्यापकसहित ५ शिक्षक तथा कर्मचारीलाई कारबाहीको माग
What you should know
पोखरा — एक निर्दोष विद्यार्थीलाई फसाइएको भन्दै पोखरा महानगरपालिका–२६ अर्घौंमा रहेको सिर्जना बहिरा आवासीय विद्यालयका विद्यार्थी आन्दोलनमा उत्रिएका छन् ।
आक्रोशित विद्यार्थी र अभिभावकले विद्यालय प्रशासनविरुद्ध आइतबारदेखि आन्दोलन सुरु गर्दै प्रधानाध्यापकसहित पाँचजना शिक्षक र कर्मचारीमाथि कारबाहीको माग गरेका हुन् ।
घटनाको सुरुवात गत वर्ष पुस १४ देखि भएको हो । कक्षा ११ का विद्यार्थी विजय विश्वकर्मालाई अभिभावकलाई कुनै जानकारी नदिइकन अकस्मात् प्रहरी बोलाएर कास्की प्रहरी कार्यालयमा पठाइएको थियो । उनीमाथि विद्यालयकी एक १७ वर्षीया विद्यार्थीलाई जबर्जस्ती करणी गरेको आरोप लगाइएको थियो । विजयका बुबा प्रवीण विश्वकर्मा भन्छन्, ‘साँझ ७ बजे कास्की प्रहरीले मलाई फोन गरेर तपाईंको छोरा यहाँ प्रहरीमा आएको छ, तपाईं अहिले नै आउनुहोस् भने ।’
पुस १७ सम्म पनि विद्यालयले घटनाबारे अभिभावकलाई कुनै औपचारिक जानकारी दिएन । उनले भने, ‘विद्यालयलाई सोध्दा उनीहरूले हामीलाई थाह छैन भन्छन् । तपाईंहरूलाई थाह नभएर कसलाई थाह हुन्छ भनेर सोध्दा जवाफ पाइनँ ?’
२५ दिन जिल्ला प्रहरी कार्यालयको हिरासत बसेपछि माघ १० गते विजयलाई जिल्ला अदालतमा पेस गरियो । अदालतले उनलाई पुर्पक्षका लागि कारागार पठायो । सात महिना कारागारमा बसेर उनले कक्षा ११ को परीक्षा दिए र उत्तीर्ण भए । उनको डीएनए जाँचका लागि तीनपल्ट नमुना संकलन गरिए पनि रिपोर्ट अदालतमा बुझाइएको थिएन ।
साउन १३ गते अदालतको पेसीको दिन नाटकीय घटना भयो । आरोप लगाउने छात्रा आफैं अदालतमा उपस्थित भएर न्यायाधीश सामु बयान दिइन् । उनले भनिन्, ‘यो दोषी छैन, अर्कै मान्छे हो । मलाई विद्यालयका प्रधानाध्यापकलगायत केही शिक्षकले हो कि हो भन, यसलाई हो भन भन्न लगाएर जबर्जस्ती लेख्न लगाएका हुन् । वास्तवमा यो दोषी छैन ।’ उनले आमासँग काठमाडौं जाने क्रममा आफूमाथि केही युवाले जबर्जस्ती गरेको बयान उनले दिएकी थिइन् । त्यसै दिन साँझ ५–६ बजेतिर विजयलाई निर्दोष साबित गरी सफाइ दिइयो ।
विजयका बुबा प्रविण विश्वकर्माका अनुसार, उनले पहिलेदेखि नै विद्यालयको कुशासन, भ्रष्टाचार र अनियमितताविरुद्ध आवाज उठाउँदै थिए । उनले अख्तियार र अन्य सरकारी निकायमा समेत विद्यालयमा भइरहेको अनियमितता विरुद्ध उजुरी दिएका थिए । ‘मेरो यही सक्रियताको प्रतिशोधमा मेरो छोरालाई फसाइएको हो,’ उनले आक्रोश पोख्दै भने । उनले गत चैतमा प्रधानाध्यापकलाई विद्यार्थीले नै कालो मोसो दलेको घटना सम्झाउँदै यो सबै राजनीतिक पहुँच र शक्तिको आडमा भएको बताए । उनले थपे, ‘म एक साधारण मानिस, छोराछोरीको भविष्य देखेर मलाई यो सबै बेथिति सहृय भएन, त्यसैले बोल्न बाध्य भएँ । आज बोल्दा मेरो छोरा फसाइएको छ, भोलि अरूको छोराछोरीलाई पनि यही अवस्था नहोस् भनेर हामी आन्दोलनमा छौं ।’ उनले चैत ०८० मा अख्तियारमा उजुरी दर्ता गराएको र त्यो अहिले पनि विचाराधीन रहेको जानकारी दिए ।
गण्डकी बहिरा संघका अध्यक्ष किसान तामाङले पनि विद्यालय प्रशासनमाथि गम्भीर आरोप लगाएका छन् । उनका अनुसार, बहिरा विद्यार्थीको भविष्य सुनिश्चित गर्न ०४४ मा संघले नै स्थापना गरेको यो विद्यालय अहिले राजनीतिक खेलको मैदान बनेको छ । ‘हामीले पटकपटक पत्र पठाउँदा पनि व्यवस्थापन समितिले कुनै जवाफ दिएन,’ दोभाषे अञ्जली विकको सहयोगमा उनले भने, ‘उनीहरूले पीडित बालिकालाई पनि लुकाएर, दबाबमा राखेर बयान दिन लगाएका थिए ।
उनका अनुसार, प्रधानाध्यापक सुनिल भण्डारीको नियुक्तिमा पनि राजनीतिक चलखेल भएको थियो । पहिलेकी प्रधानाध्यापक अनिता सिग्देललाई दबाब दिएर हटाएपछि भण्डारीलाई ल्याइएको थियो । विद्यार्थीहरूको इच्छाविपरीत सुन्ने व्यक्तिलाई प्रधानाध्यापक बनाउँदा बहिरा विद्यार्थीको मनोभावना बुझिएको छैन । उनी भन्छन्, ‘हामीले प्रधानाध्यापकको घरमै गएर बहिरा व्यक्तिलाई नै प्रअ राख्नुपर्छ भनेका थियौं, तर उहाँले हाम्रो कुरा सुन्नुभएन । अहिले यही लापरबाहीको परिणाम हामीले भोगिरहेका छौं ।’
आइतबार बिहानैदेखि विद्यार्थीहरू प्रदर्शनमा उत्रिएका थिए । उनीहरूले प्रधानाध्यापक सुनील भण्डारी, सहायक प्रधानाध्यापक सावित्री बराल पराजुली, शिक्षिका प्रमिला थकाली, छात्रावासका कर्मचारी उदय भट्ट र धनमाया श्रेष्ठलाई विद्यालयबाट हटाउनुपर्ने माग राख्दै वडा कार्यालय र विद्यालयमा प्रदर्शन गरेका थिए । पाँचजनाको सरुवा नहुँदासम्म आन्दोलन नरोकिने विद्यार्थी तथा अभिभावकको भनाइ छ ।
आन्दोलनको नेतृत्व गरिरहेका कक्षा १२ का विद्यार्थी भेषराज ढकालले बहिरा विद्यार्थीको भविष्य अन्धकार भएको बताए । ‘हामी बहिराहरू बोल्न सक्दैनौं, हाम्रो आवाज दोभाषे हुन् । तर यहाँ दोभाषेहरूले नै गल्ती गर्दा निर्दोष साथीहरू फसेका छन्,’ उनले सांकेतिक भाषामा भने, ‘आज विजय फस्यो, भोलि हामी पनि फस्न सक्छौं भन्ने डर छ ।’ प्रहरी र अदालत समक्ष प्रधानाध्यापक सहितका शिक्षक र कर्मचारीले ती बालिकाको सांकेतिक भाषालाई गलत व्याख्या गरेर विजयलाई फसाइएको उनको आरोप छ ।
उनले ५ जना शिक्षक कर्मचारीलाई सरुवाको माग राख्दै भने, ‘यो बहिरा विद्यालय हो, हामीलाई सुन्ने प्रधानाध्यापक चाहिँदैन । बहिरा विद्यालयभित्र बसेर सुन्ने व्यक्तिले बहिराको मानवअधिकारको हनन गरेका छन् ।’ विद्यार्थीका अनुसार, प्रधानाध्यापकको लापरबाहीका कारण बहिरा विद्यार्थीको परीक्षाका उत्तरपुस्तिका नजाँचीकन नतिजा प्रकाशित गर्ने, खानाको गुणस्तर घटाउने र छात्रवृत्तिमा समेत लोभ गर्ने जस्ता कार्य भएका छन् ।
एक अर्की अभिभावकले पनि आफ्नो सन्तानको भविष्य अन्धकारा देखेपछि चुप लागेर बस्न नसकेको बताइन् । ‘म यहाँ मर्छु कि लड्छु भन्ने अवस्थामा छु,’ उनले भावुक हुँदै भनिन्, ‘हामी टाढा–टाढाबाट आएर छोराछोरीको भविष्यको लागि यहाँ आएका छौँ, तर यहाँ उनीहरूले पाइरहेको पीडा देखेर मन भाँचिएको छ ।’ उनले विद्यालयको चरम लापरबाही र अन्यायका कारण विद्यार्थीको भविष्यमाथि खेलबाड भएको आरोप लगाइन् ।
यता, प्रधानाध्यापक सुनिल भण्डारीले भने आफूमाथि लागेका सबै आरोपको खण्डन गरेका छन् । उनले यो सबै आफूलाई हटाउन गरिएको योजनावद्ध कदम भएको बताए । ‘अरुलाई पनि प्रअ हुने इच्छा थियो होला, उनीहरूबाटै परिचालित भएर आन्दोलन भयो,’ उनले भने, ‘कसैलाई फसाउने वा यस्तो भन भनेर भन्न लगाउने कुनै काम गरेको छैन ।’ उनले आफूमाथि लागेका आरोप कपोलकल्पित भएको बताउँदै यदि षड्यन्त्र भएको भए त्यसको प्रमाण पेस गर्न चुनौती दिएका छन् ।
हाल १ सय ८५ विद्यार्थी र ३३ कर्मचारी रहेको यस विद्यालयमा ४५ भन्दा बढी जिल्लाका विद्यार्थी पढ्छन् । सरकारले छात्रवृत्तिसहित आवासीय सुविधा दिएको छ, तर त्यही छात्रवृत्तिमाथि पनि लोभ गरिएको विद्यार्थीहरूको आरोप छ ।
