दक्षिण एसियाका देशहरूसँग भारतको सम्बन्धमा कहीँ न कहीँ समस्या छ : उपमहासचिव ज्ञवाली

एमाले उपमहासचिव ज्ञवालीले कान्तिपुरसँगको कुराकानीमा पाकिस्तानदेखि माल्दिभ्स, श्रीलंका र बंगलादेशसँगको सम्बन्धमा पनि भारतको सम्बन्ध सुमधुर नरहेको दृष्टान्त दिए ।

भाद्र ९, २०८२

किशोर दहाल

There is a problem somewhere in India's relations with South Asian countries: Deputy Secretary General Gyawali

What you should know

काठमाडौँ — एमाले उपमहासचिव तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले लिपुलेकका विषयमा उत्पन्न विवाद नसल्टाएसम्म नेपाल र भारतबीच न्यायो, समस्यारहित, हार्दिक, पारस्परिक सम्मान र विश्वासयुक्त सम्बन्ध विकास गर्न कठिन हुने बताएका छन् ।

कान्तिपुरसँगको कुराकानीमा उनले चीनको पछिल्लो भूमिकामाथि पनि प्रश्न उठाए । सन् २०१५ पछि लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्र नेपालको हो भनेर तथ्य, प्रमाणसहित औपचारिक रूपमै चीनलाई जानकारी गराए पनि त्यसलाई चीनले बेवास्ता गर्दै लिपुलेकलाई दुईपक्षीय व्यापारको बिन्दु बनाउन भारतसँग सहमति गरेको बताए । भारत र चीनको यो समझदारी नेपालका निम्ति अनपेक्षित रहेको बताउँदै उनले भने, 'चीनले नेपालको संवेदनशीलतालाई ध्यान नदिएको निष्कर्ष निस्किन्छ ।' 

उनले ठूला देशहरूमा अहिले आफ्नो स्वार्थभन्दा पर केही पनि नहेर्ने प्रवृत्ति देखिएको बताए । उनले चीन र भारत दुवैको असल छिमेकी हुनुको नाताले यी देशबीच सम्बन्ध सुध्रिएकामा आफूहरु खुसी हुने भए पनि सम्बन्ध सुधारको मूल्य नेपालले, नेपालको भौगोलिक अखण्डताले, सार्वभौमसत्ताले चुकाउन नमिल्ने बताए । 

ज्ञवालीले भारतको पछिल्लो भूमिकाले उसले आफ्नो छिमेकीसँगको सम्बन्धलाई कस्तो बनाउन चाहन्छ भन्ने प्रश्न उसैतर्फ उठेको बताए । उनले भने, 'भारत दक्षिण एसियाको सबैभन्दा ठूलो देश हो । क्षेत्रीय शक्ति हो । भविष्यमा विश्वशक्ति बन्ने आकांक्षा पालेको पनि देखिन्छ ‍। विश्वभर प्रोफाइल बढाउँदै अघि बढिरहेको देशले सबैभन्दा पहिले छिमेकसँग कस्तो सम्बन्ध राख्ने भनेर ‘रिभ्यु’ गर्नुपर्छ ।'

विश्वभर प्रोफाइल बढाउँदै अघि बढिरहेको देशले सबैभन्दा पहिले छिमेकसँग कस्तो सम्बन्ध राख्ने भनेर ‘रिभ्यु’ गर्नुपर्छ । उनले भारतको दक्षिण एसियाका सानाठूला सबै देशसँग सम्बन्धमा कहीँ न कहीँ समस्या रहेको बताउँदै भारतको पाकिस्तान देखि माल्दिभ्स, श्रीलंका र बंगलादेशसँगको सम्बन्धमा पनि सुमधुर नरहेको दृष्टान्त दिए । 

उनले भारतको विकास र सुरक्षाका निम्ति नेपालले आफ्नो तर्फबाट धेरै योगदान गरेको बताउँदै नेपालसँग भारतको सम्बन्ध राम्रो नहुनुपर्ने कुनै कारण नभएको बताए । उनले भने, 'नेपालले जायज ढंगले उठाएका विषयको सम्बोधन नहुनुपर्ने कुनै कारण देखिँदैन । हामीसँग मात्रै भारतको विवाद भएको भए हामीले नै समस्यालाई ठीक ढंगले ‘डिल’ गर्न जानेनौं कि भन्ने हुन सक्थ्यो। तर कहीं न कहीं भारतले छिमेकसँगको सम्बन्धमा उदारता राख्न नसकेको, छिमेकका देशको संवेदनशीलतामा गम्भीर हुन नसकेको, समस्यालाई वार्ताबाटै समाधान गर्ने पहल लिन नसकेको बरु बेवास्ता गर्न खोजेको जस्तो देखिन्छ । यो स्वभावलाई भारतले बदल्नुपर्छ ।' 

उपमहासचिव ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणमा पनि यो विषय उठाउने बताए । उनले दुई मित्रदेशबीच कुनै पनि विषय लुकाउन नहुने बताउँदै लुकाएर मात्रै समस्याको समाधान नहुने बताए । उनले भने, 'मित्रहरूका बीचमा खुला ढंगले छलफल हुनुपर्छ । एक–अर्कालाई आफ्ना सवाल निर्धक्क भन्नुपर्छ । समाधान तत्काल ननिस्किन सक्ला तर अर्को मित्रले थाहा पाउनुपर्छ कि– मेरो मित्रको पोजिसन के हो ? दोस्रो, समस्यालाई कूटनीति माध्यमबाट छिटोभन्दा छिटो समाधान गर्नुपर्छ ।'

उनले खुला छलफल नभएमा मित्रतामा कहीँ न कहीँ बिझाउने अवस्था भइरहने बताए । उनले थपे, 'लामो यात्रामा हिँड्ने हो भने जुत्ता टकटक्याएर ढुंगाका टुक्रा निकाल्नुपर्छ । नत्र त्यसैले बिझाइरहन्छ। नेपाल र भारतको सहयात्रामा लामो पृष्ठभूमि पार गरेर यहाँसम्म आइपुगेका छौं। लामो समयसम्म सँगै अगाडि बढ्नुपर्नेछ। तर जुत्ताभित्र ढुंगाको टुक्रा रहिरह्यो भने खुट्टामा घाउ बन्छ। हामी त्यस्तो चाहँदैनौं।'

एमाले उपमहासचिव ज्ञवालीसँगको विस्तृत कुराकानी पढनुहोस् । 

किशोर दहाल कान्तिपुरको दैनिकको अप-एड व्युरोका संयोजक हुन् । उनी राजनीतिक इतिहास र संसदीय परम्पराबारे रुचि राख्छन् ।

Link copied successfully