उपेन्द्र यादवले भन्छन्– ‘गौर घटनाका सन्दर्भमा मैले तीनवटा कुरा बुझ्न सकेको छैन’

प्रभु साहले माओवादीका वाईसीएललाई लगेर आक्रमण गराएको र त्यसैका कारण त्यतिका धेरैको ज्यान जाने घटना भएको दाबी जसपा नेपालको अध्यक्ष रहेका उपेन्द्र यादवले गरेका छन् ।

भाद्र ८, २०८२

कान्तिपुर संवाददाता

Upendra Yadav says - ”I have not been able to understand three things regarding the Gaur incident”.

What you should know

काठमाडौँ — २७ जना माओवादी कार्यकर्ता मारिएको १८ वर्ष पुरानो गौर हत्याकाण्डबारे त्यतिबेलाको फोरम र हाल जसपा, नेपालको अध्यक्ष रहेका उपेन्द्र यादवले उक्त घटना भएका दिन के भएको थियो भन्ने तथ्यबारे विस्तारमा बताएका छन् ।

ईकान्तिपुरसँगको विस्तृत अन्तर्वार्तामा उनले उक्त घटना घटेलगत्तै गरिएका विभिन्न अनुसन्धानले उक्त घटना  प्रभु साहले माओवादीका वाईसीएललाई लगेर आक्रमण गराएको र त्यसैका कारण त्यतिका धेरैको ज्यान जाने घटना भएको दाबी सुनाए । गत संसदीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित भएका प्रभु साह अहिले आम जनता पार्टीका अध्यक्ष छन् । 

अध्यक्ष यादवले घटनाको दिन आफू काठमाडौंमा छलफलको  छलफलको कार्यक्रममा रहेको र घटनाबारे थाह पाएपछि आफू अचम्मित भएको बताएका छन् । उनले भने, 'यस्तो पनि भयो र ? कसले गर्‍यो यस्तो ? कसरी त्यस्तो दुर्भाग्यपूर्ण घटना भयो ?’

यादवले उक्त दुर्भाग्यपूर्ण घटनामा केही अतिरिञ्जना पनि भएको तर्क गरेका छन् । उनले घटनापछि केही मृतकको शव कैयौँ किलोमिटर परसम्म भेटिएको बताउँदै भने, 'त्यस्तो किन भयो ? किनकि, माओवादीले ड्रेस लगाएका थिए । अनि सबै बाहिरका थिए । विभिन्न जिल्लाबाट भित्र्याइएका कार्यकर्ता फरक अनुहार थिए । तिनले त्यहाँको बाटो समेत देखेका थिएनन् । जसको नेतृत्वमा त्यहाँ गएका थिए, ती व्यक्ति भागेका थिए । यसरी माओवादीप्रति पहिल्यैदेखि रहेको आक्रोशको भुमरीमा ती कार्यकर्तालाई पारिएको थियो ।'

यो घटनाको केही समयपछि आफूले उक्त घटनाबारे माओवादी नेतासँग पनि प्रश्न गरेको उनले बताए । उनले भने, 'माओवादी नेतासँगको भेटमा मैले पहिलो प्रश्न गरेको थिएँ– ‘गौरमा किन त्यस्तो घटना गर्नुभयो ?’ उहाँहरूको उत्तर थियो– ‘त्यो हाम्रो तर्फबाट मिस्टेक भएको हो ।’ आफ्ना साथीहरूले गल्ती गरेका हुन्, त्यो हामी रियलाइज गर्छौं भन्ने उहाँहरूको कुरा थियो ।' 

उनले उक्त घटना आफूहरूले गरेको माओवादीको दाबी सही थियो भने उनीहरू हामीसँग किन मिल्न आए भनेर पनि प्रश्न गरे । उनले भने, 'उहाँहरूले मिलेर अघि बढौँ भन्नुभयो । यदि माओवादीले गौर घटनालगत्तै लगाएको आरोप सही थियो भने त उहाँहरू मिल्नै आउनुहुने थिएन नि । उहाँहरूको पार्टीको आन्तरिक निर्णय पनि त्यस प्रकारको हुने थिएन । पछि त हामी सहकार्य नै गर्न थाल्यौँ । पहिलो संविधानसभाको चुनावपछि त प्रचण्डलाई प्रधानमन्त्री नै बनायौँ । मिलेरै काम गर्‍यौँ । कतिपय चुनाव त मिलेर पनि लड्यौँ ।'

ईकान्तिपुरसँगको कुराकानीमा उपेन्द्रले उक्त घटनाबारे आफूसँग केही प्रश्नहरु रहेको र तीमध्ये तीन प्रश्नको उत्तर आफूले अझैसम्म बुझ्न नसकेको बताए । उनले उक्त घटनापछिको पृष्ठभूमि बताउँदै भने, 'यी सबैका आधारमा गौर घटनाका सन्दर्भमा मैले तीनवटा कुरा बुझ्न सकेको छैन ।पहिलो, कार्यक्रमस्थलमा प्रशासनको उपस्थिति किन थिएन ? दोस्रो, त्यत्रो घटना घट्ने साजिस कसरी भयो ? कहाँबाट आएका थिए ? तेस्रो, चार/चारवटा अनुसन्धान भइसकेपछि त्यो केसलाई बन्द गर्नुपर्थ्यो वा अगाडि बढ्नुपर्थ्यो । त्यसो नगरी अहिले झन्डै १९ वर्षपछि किन अगाडि ल्याइयो ?'

उपेन्द्र यादवसँगको विस्तृत कुराकानी पढनुहोस् । 

कान्तिपुर संवाददाता

Link copied successfully