मुलुकमै पर्याप्त उपलब्ध नभएपछि भारतीय मलमा निर्भर उनीहरू चर्को मूल्य तिर्न बाध्य छन् । गाउँमा ९ सय रुपैयाँ प्रतिबोरा पाइने युरिया मल वितरण भइरहेको छ ।
What you should know
काठमाडौँ — ९ सयमा पाइने युरिया मललाई ३ हजार ५ सयसम्म तिर्न बाध्य छन् किसान, सरकारलाई दिएको समर्थन कायमै : नागरिक उन्मुक्ति, माधव नेपालविरुद्ध केपी ओलीले हालेको मुद्दाले चार वर्षसम्म पनि पाएन पालो, अफगानी शरणार्थी सवार बस दुर्घटनामा ७३ जनाको मृत्युदेखि साफ यू–१७ वुमेन्स च्याम्पियनसिप : नेपालमाथि भारतको ७ गोलसम्मका खबर आज चर्चामा रहे ।
००००
एक महिनाअघि वर्षा नभएर सुक्खा खप्न बाध्य रुपन्देहीको मर्चवार क्षेत्रका किसान अहिले रासायनिक मलको ‘कालोबजारी’ले पीडित बनेका छन् । मुलुकमै पर्याप्त उपलब्ध नभएपछि भारतीय मलमा निर्भर उनीहरू चर्को मूल्य तिर्न बाध्य छन् । गाउँमा ९ सय रुपैयाँ प्रतिबोरा पाइने युरिया मल वितरण भइरहेको छ । तर, स्थानीय सहकारीबाट आवश्यकताअनुसार नपाएपछि घरदैलोमा ओसारिएको भारतीय युरिया मल प्रतिबोरा २ हजार ५ सयदेखि ३ हजार ५ सय रुपैयाँमा खरिद गरिरहेका छन् ।
००००
नागरिक उन्मुक्ति पार्टीले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन कायमै रहेको जनाएको छ । अध्यक्ष एवम् संसदीय दलकी नेता रन्जिता श्रेष्ठ चौधरीले सभामुख देवराज घिमिरेलाई बुधबार पत्र लेख्दै सरकारमाथि समर्थन तथा विश्वास कायमै रहेको जानकारी गराएकी हुन् ।
००००
नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालविरुद्ध दायर गरेको रिट चार वर्षदेखि सर्वोच्च अदालतमै अल्झिएको छ । मंगलबार न्यायाधीशद्वय नहकुल सुवेदी र नित्यनन्द पाण्डेयको इजलासमा पेसी तोकिए पनि हेर्न नभ्याउने हुँदै स्थगित भयो । उक्त मुद्दा १० नम्बरमा पालो परेको थियो तर ६ नम्बरसम्म मात्र सुनुवाइ भएपछि अर्को दिनका लागि सरेको हो । सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पौडेलका अनुसार अर्को सुनुवाइको पेसी तोकिएको छैन ।
००००
अफगानिस्तानमा एक बस दुर्घटनामा ७३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा १७ जना बालबालिका रहेका छन् । तालिबानका एक अधिकारीले बीबीसी पश्तोलाई दिएको जानकारी दएअनुसार अधिकांश मानिसहरु इरानबाट निकालिएका अफगानी प्रवासी रहेका छन् ।
००००
नेपालले साफ यू–१७ वुमेन्स च्याम्पियनसिपमा बुधबार खराब सुरुआत लिएको छ । भुटानको थिम्पुस्थित चाङलिमिथाङ रंगशालामा भएको प्रतियोगिताको पहिलो खेलमा भारतले नेपाललाई ७–० ले पराजित गरेको हो ।
