९ सयमा पाइने युरिया मललाई ३ हजार ५ सयसम्म तिर्न बाध्य छन् किसान

गाउँमा सहकारीले मल आपूर्ति गर्न नसक्दा किसानले महँगोमा भारतबाट ल्याइएको मल किनिरहेका छन्।

भाद्र ४, २०८२

दीपेन्द्र बडुवाल

Farmers are forced to pay up to 3,500 for urea fertilizer available at 900

What you should know

भैरहवा — एक महिनाअघि वर्षा नभएर सुक्खा खप्न बाध्य रुपन्देहीको मर्चवार क्षेत्रका किसान अहिले रासायनिक मलको ‘कालोबजारी’ले पीडित बनेका छन् । मुलुकमै पर्याप्त उपलब्ध नभएपछि भारतीय मलमा निर्भर उनीहरू चर्को मूल्य तिर्न बाध्य छन् ।

गाउँमा ९ सय रुपैयाँ प्रतिबोरा पाइने युरिया मल वितरण भइरहेको छ । तर, स्थानीय सहकारीबाट आवश्यकताअनुसार नपाएपछि घरदैलोमा ओसारिएको भारतीय युरिया मल प्रतिबोरा २ हजार ५ सयदेखि ३ हजार ५ सय रुपैयाँमा खरिद गरिरहेका छन् ।

सर्वसाधारणका अनुसार भारतबाट रातारात सीमा क्षेत्रमा भित्र्याइएको मल केही व्यक्तिले उज्यालो भएपछि स्थानीय बजार र घरदैलोमा पुर्‍याउने गरेका छन् । खेतमा हरियो भइसकेको धानले मल नपाएका बेला यसरी ओसारिएको मल चर्को मूल्यमा खरिद गरिरहेको किसानले बताए । रुपन्देहीको सम्मरीमाई–७ बेतकुइयाँका रमाशंकर यादवले भारतीय बजारमा ४५ किलो युरिया मलको बोराको २ सय ८० भारतीय रुपैयाँ मूल्य रहेको बताए । उनका अनुसार ओसारपसारमा संलग्न व्यक्तिले भारतबाट बढीमा ६ सय रुपैयाँ प्रतिबोरा मल ल्याएर नेपालतर्फ सीमा क्षेत्रमा भण्डारण गर्छन् । ‘नाकामा ल्याउने वित्तिकै मलको मूल्य २२ सय रुपैयाँ प्रतिबोरा हुन्छ,’ उनले भने, ‘सीमाबाट घरदैलोमा ल्याएपछि २५ सय रुपैयाँ प्रतिबोरा बिक्री गर्छन् ।’

सीमा क्षेत्रमा मल अभावका बेला भारतबाट ल्याएर गर्जो टार्ने गरिएको छ । मुलुकभित्र आवश्यकताअनुसार आपूर्ति गर्न नसकेपछि किसानको सुविधाका लागि नेपाली प्रशासनले मल ओसारपसारमा सुरक्षा खुकुलो गर्दै आएको छ । तर, पछिल्लो समय स्थानीय क्षेत्रमा ९ सय रुपैयाँ प्रतिबोरा पाइने मलको तेब्बर मूल्य चुकाउनु परेपछि किसान दुःखी छन् । भारतबाट ओसारिएको मलको उचित नाफा खानेभन्दा कालोबजारी गर्न थालेपछि किसान चिन्तित छन् ।

सम्मरीमाई–७ का ७३ वर्षीय नजाबुद्धिन मुसलमानलाई प्रत्येक वर्ष ४० बोरा युरिया मल चाहिन्छ । यसपटक पनि उनको खेतमा धान फस्टाइरहेको छ । पानी पर्याप्त भएकाले मल छर्ने बेला भएको छ । ‘अहिलेसम्म सहकारीबाट एक बोरा मल लगेको छैन,’ उनले भने, ‘भारतबाट मल ओसार्ने सँग ३५ सय रुपैयाँ प्रति बोरा खरिद गर्नुपरिरहेको छ ।’ भारतबाट ल्याएको एक बोरा मलको मूल्यले नेपालमा तीन बोरा खरिद गर्न सकिने उनले बताए । ‘पहिले पानी नपरेर समस्या भयो,’ उनले भने, ‘अहिले मल नपाएर दुःख छ, मल पाएको दिन खुसी हुन्छु ।’

सम्मरीमाई–७ का इन्द्रराज कोहारको २० कट्ठा खेतका लागि प्रत्येक वर्ष एक क्विन्टल डीएपी, दुई क्विन्टल युरिया र ५० किलो पोटास आवश्यक पर्छ । अहिलेसम्म सहकारीबाट दुई बोरा युरिया प्राप्त गरेको उनले बताए । ‘यहीँको मलले पुग्दैन,’ उनले भने, ‘अब भारतीय मलको खोजीमा छु ।’ मल खरिद गर्न उनीसँग बचत रकम हुँदैन । त्यसैले प्रत्येक वर्ष स्थानीय श्री महालक्ष्मी स्वावलम्बन बचत तथा ऋण सहकारीबाट मल किन्नका लागि ऋण लिने गरेको उनले बताए । मल खरिद र घरायसी गर्जो टार्नका लागि उनले अहिलेसम्म एक लाख ऋण पुर्‍याइसकेको बताए । ‘धान राम्रो फल्यो भने त्यसैले पेट भर्ने हो,’ उनले भने, ‘नत्र भने मल किन्न पनि ऋण लिनुपर्छ ।’ उनका अनुसार परम्परादेखि सीमा क्षेत्रका किसान भारतीय मलमै निर्भर छन् । तर, अहिले अचाक्ली मूल्य वृद्धि गरेर बिक्री गर्न थालेपछि मर्का परेको हो ।

स्थानीय अगुवा रामविकास चौधरीका अनुसार २–३ वर्षअघि सम्म नेपालमा भन्दा भारतमा रासायनिक मल सस्तो थियो । त्यसैले सिमावर्ती किसानले भारतबाटै मल ओसारेर अभाव पूर्ति गर्थे । त्यतिबेलासम्म भारतीय मलको मूल्य अधिकतम ५ सयदेखि एक हजार रुपैयाँ पर्थ्यो । ‘तस्करका कारण मूल्य बढेको हो,’ उनले भने, ‘भारतबाट राति ल्याएर सीमा क्षेत्रमा भण्डारण गर्छन् । बिहानदेखि त्यहीँ मल ओसारेर स्थानीय बजारमा पुर्‍याउँछन् ।’

गैरकृषि प्रयोजनका प्लाइउड, मदिरा लगायतमा पनि युरिया मल प्रयोग हुने गरेकाले तस्करी व्यापक भएको उनले बताए । ‘नाकामै साढे २२ सय रुपैयाँ प्रति बोरा बिक्री भइरहेको छ,’ उनले भने, ‘यसले किसानलाई असहज भयो ।’ यहाँबाट तस्करी भएको मल बोकेर जिल्लाका उत्तरी भागमा पुर्‍याउने गरिएको छ ।

मर्चवारबाट भैरहवा–लुम्बिनी सडकखण्डअन्तर्गत झुलनीपुर हुँदै मल ओसार्ने गरिएको छ । जिल्लाका रोहिणी, मर्चवारी र लुम्बिनी क्षेत्रमा तस्करी गरिएको मलका गोदाम रहेका छन् । ती गोदामबाट किसानले महँगोमा खरिद गरेर उपयोग गर्छन् । सम्मरीमाई–७ बेतकुइयाँबाट भारतीय सीमा करिब १४ किलोमिटर दक्षिण रहेको छ ।

सहकारीमा अभाव

वितरणका लागि छनोट भएका मर्चवारस्थित सहकारीमा माग अनुसार मल आपूर्ति हुन सकेको छैन । जसले गर्दा किसान–किसान झगडा बढेको छ । सम्मरीमाई–७ बेतकुइयाँस्थित श्री महालक्ष्मी स्वावलम्बन बचत तथा ऋण सहकारीका व्यवस्थापक महेश लोधका अनुसार सहकारीले १० गाउँका १ हजार १ सय घरधुरीलाई मल वितरण गर्ने जिम्मा पाएको बताए । उक्त गाउँमा ८ सय बिघाभन्दा बढीमा धान रोपाइँ गरिएको छ । एक बिघाका लागि एक क्विन्टल युरिया आवश्यक पर्छ । यस हिसाबले सबै किसानलाई पुर्‍याउन ८ सय क्विन्टल मल आवश्यक रहेको उनले बताए । 

सबैलाई पुर्‍याउन कम्तीमा १ हजार ७ सय बोरा युरिया आवश्यक पर्छ । अहिलेसम्म कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङबाट गरेर साढे ८ सय बोरा मल आपूर्ति भएको छ । ‘कृषि सामग्री कम्पनीमै मल गायब हुन्छ,’ उनले भने, ‘यहाँ किसान भारतीय मल किन्न बाध्य छन् ।’ थोरै मल वितरणका कारण सहकारीमा कलह निम्तिएको लोधले बताए । उनका अनुसार पैसा बुझाइसकेका किसानले मल नपाएपछि रकम फिर्ता माग्छन् । मल वितरणका दिन मध्यरातबाटै सहकारी अगाडि किसान लाम लाग्छन् । बिहान ७ बजे सहकारी खुलेपछि मलका लागि धक्कामुक्की सुरु हुन्छ । ‘सबैलाई पुर्‍याउने कोसिस गरे पनि गाली खाइन्छ,’ उनले भने, ‘तनाव हुने भएकाले मल वितरणका दिन प्रहरी बोलाउने गरेका छौँ ।’

सम्मरीमाई–५ स्थित भवानी स्वावलम्बन बहुउद्देश्यीय सहकारीका व्यवस्थापक अशोककुमार तिवारीका अनुसार उक्त वडाका १ हजार ६ सय घरधुरीका लागि १० हजार बोरा मल आवश्यक छ । अहिलेसम्म एक हजार बोरा मल आपूर्ति नभएको उनले बताए । अहिलेसम्म ३ सय ४० बोरा मात्र आएको छ । प्रत्येक वर्ष सहकारीको कार्यक्षेत्रमा रहेका ११ टोलका लागि १० हजार बोरा मल आवश्यक हुन्छ । वर्षभरिमा मुश्किलले दुई हजार बोरा मात्र आपूर्ति गरिन्छ । ‘बाँकी भारतबाट ल्याएको मल किनेर गुजारा चलाउने हो,’ उनले भने, ‘जनतालाई प्रजातन्त्र आएको छैन ।’ भारतबाट मल ओसार्न सहज नरहेको उनले बताए । उनका अनुसार मल खरिद गर्न जाँदा भारतीय सुरक्षाकर्मीले हातपात गर्छन् । दुर्व्यवहार सहेर मल ल्याएर नेपाल आएपछि स्वदेशी सुरक्षाकर्मीबाट पनि किसानले दुःख पाउने गरेको उनले बताए ।

प्रशासनको ‘बेवास्ता’

ग्रामीण क्षेत्रमा खुलेआम भारतबाट मल भित्र्याएर कालोबजारी गरिए पनि नियन्त्रणमा प्रशासनले बेवास्ता गरेको पाइएको छ । स्थानीयका अनुसार सीमा क्षेत्रबाट नजिक रहेका बस्तीमा दिउँसै मल बिक्री भइरहेको छ । जिल्लाको उत्तरी क्षेत्रमा प्रायः साँझ, बिहान र राति मल ओसार्ने गरिएको स्थानीय प्रत्यक्षदर्शीको भनाइ छ । मल तस्करीमा संलग्नले ठाउँ–ठाउँमा खाली भवन र एग्रोभेटमा यस्तो मल पुर्‍याउने गरेका छन् । ‘भारतबाट मल ल्याएर किसानले खेतबारीमा छर्किनु ठूलो कुरा होइन,’ सम्मरीमाई गाउँपालिकाका पूर्वअध्यक्ष जितेन्द्रनाथ शुक्ल (बब्लु)ले भने, ‘जनप्रतिनिधि र प्रशासनले कम्तीमा कालोबजारी नियन्त्रण गर्न सक्नुपर्थ्यो, त्यो भूमिका देखिएन ।’ मल अभावले पिरोलिएका किसानलाई कालोबजारीले ढाड सेकाएको उनले बताए ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले कडाइका बाबजुद सुरक्षाकर्मीको आँखा छलेर मल भित्र्याइएको हुनसक्ने बताए । ‘खुलेआम मल भित्र्याउन दिएका छैनौँ,’ उनले भने, ‘तस्करी गरेर महँगोमा बिक्री गरेको भए त्यो कालोबजारी हो, नियमन गरिन्छ ।’ मल तस्करी गरेर कालोबजारी गरेको भनेर उजुरी नपरेको उनले बताए ।

अवैध तरिकाले भित्र्याइएको मलको मूल्य निर्धारण नहुने र कालोबजारी गरेको भए कारबाही गरिने उनले बताए । जिल्ला सीमा निगरानीको काम सशस्त्र प्रहरीले गरिरहेका कारण सिमावर्ती पालिकामा मलको तस्करी र कालोबजारीबारे जानकारी लिएर आवश्यक कारबाही अगाडि बढाउने प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेले बताए । ‘मलमा के भएको यस विषयमा जानकारी लिन्छु,’ उनले भने, ‘आवश्यक परेमा अनुगमन टिम पठाएर भए पनि छानबिन गर्छौँ ।’

दीपेन्द्र

Link copied successfully