लिपुलेक हुँदै सीमा व्यापार खोल्ने भारत-चीन सहमति

चिनियाँ विदेशमन्त्री वाङ यी को भारत भ्रमणका क्रममा दुई देशबीच लिपुलेक पास हुँदै सीमा व्यापारलाई खोल्ने सहमति भएको हो।

भाद्र ४, २०८२

राजेश मिश्र

India-China agreement to open border trade through Lipulekh

What you should know

काठमाडौँ — भारत र चीन एकपटक फेरि लिपुलेक पासबाट द्विपक्षीय व्यापार खोल्न सहमत भएका छन्। लिपुलेक पास नेपालको पश्चिमी सीमा लिम्पियाधुराबाट ५६ किलोमिटर भित्रको नेपालको भूमि हो। चिनियाँ विदेशमन्त्री वाङ यी को भारत भ्रमणका क्रममा दुई देशबीच लिपुलेक पास हुँदै सीमा व्यापारलाई खोल्ने सहमति भएको हो।

भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभालको निमन्त्रणमा चिनियाँ विदेशमन्त्री यीले भाद्र २ र ३ गते भारत भ्रमण गरेका हुन् ।

भारतीय विदेश मन्त्रालयद्वारा मंगलबार राति द्विपक्षीय सहमतिका विषयहरूमा लिपुलेक पासबाट द्विपक्षीय व्यापार खोल्ने कुरा उल्लेख छ। भारतीय विदेशमन्त्री एस जयशंकरसँगको द्विपक्षीय वार्तामा उक्त सहमति भएको हो।

विदेश मन्त्रालयद्वारा जारी सहमतिको बुँदा नम्बर ९ मा सीमा व्यापार खोल्ने विषय उल्लेख छ । त्यहाँ भनिएको छ– ‘दुईटै पक्ष तोकिएका तीन व्यापारिक बिन्दुहरू लिपुलेक पास, शिपकी ला पास र नाथू ला पास हुँदै सीमा व्यापार पुनः खोल्न सहमत भए ।’

१० वर्षको अन्तरालपछि भारत र चीन एकपटक फेरि नेपालको भूमि लिपुलेक हुँदै व्यापारको कुरा गरेका छन् । यसअघि वि.स २०७२(सन्२०१५) म भारत र चीनका प्रधानमन्त्रीबीच लिपुलेक पासबाट व्यापार गर्ने सहमति भएको थियो । भारतका प्रधानमन्त्री नरेन्द मोदी २०१५ मे १४ मा चीन भ्रमण गएका बेला समकक्षी ली खछियाङबीच लिपुलेक नाकाबाट द्विदेशीय व्यापार अभिवृद्धि गर्ने सहमति भएको थियो । त्यतिबेला मे १५ मा जारी संयुक्त वक्तव्यको बुँदा नम्बर २८ मा उक्त सहमतिको कुरा उल्लेख थियो । 

त्यहाँ भनिएको थियो– ‘नाथु ला, कियाङला/लिपुलेक पास शिपकी लामा पासबाट सीमा व्यापार विस्तार गर्न दुवै पक्ष सहमत भए ।’  नेपाललाई जानकारी समेत नदिई नेपालको भूमि हुँदै भारत र चीनले व्यापार विस्तार गर्ने सहमतिप्रति नेपालमा तिब्र बिरोध भएको थियो । भारत र चीनले गरेको त्यस सहमति प्रति नेपाल सरकारले औपचारिक रूपमा विमत्ति जनाएको थियो । त्यस सहमतिप्रति आपत्ति जनाउँदै नेपालले तत्कालै दुवै देशलाई कुटनीतिक नोट पठाएको थियो । 

भारत र चीनबीच चिसिएको सम्बन्ध सुधार हुने क्रम बढेसँगै दुवै देश फेरि एक पटक नेपालको भूमि हुँदै व्यापार गर्ने सहमति गरेका छन् । लिपुलेक पास नेपालले जारी गरेको औपचारिक नक्सामा नेपाल भित्रको भूभाग हो । सन् २०२० मा भारत र चीनबीच गलवानमा भएको झडपका कारण लामो सम्बन्ध तनावपूर्ण थियो । तर, गतवर्षदेखि दुवै देश सम्बन्धलाई सुधार्न प्रयत्नशील छन् । दुवै देश गलान झडप पूर्वको स्थितिमा फर्किन चरणवद्ध वार्ता तथा उच्च स्तरीय राजीतिक भेटघाट गरिरहेका छन् । 

लिपुलेक–कालापनी र लिम्पियाधुराको भूभागमाथि नेपालको धेरै पहिलेदेखिको दावी छ । तर, भारतले त्यस क्षेत्रमाथि आफ्नो नियन्त्रण कायम राखेको छ । सन् २०१९ को नोभेम्बरको पहिलो साता भारतले जारी गरेको नयाँ नक्सामा कालापानी र लिपुलेक क्षेत्रलाई भारतीय सीमाभित्र देखाएपछि दुई देशबीच विवाद चुलिंदै गएको हो ।

नेपालको भूमिलाई भारतले आफ्नो भन्दै दावी गरेर नक्सामा देखाएपछि नेपालले कुटनीतिक नोट पठाएर आपत्ति जनाएको थियो । वार्ताका लागि आग्रह पठाएको थियो । तर, भारतले त्यसलाई बेवस्ता गरेपछि नेपालले २०७७ जेठमा लिम्पियाधुरासम्मको नक्सा जारी गरेको थियो ।

जुन ‘चुच्चे नक्सा’का रूपमा चिनिएको छ । तर,  नेपालले नयाँ नक्सा अन्तर्राष्ट्रिय जगतलाई औपचारिक रूपमा अझैसम्म पठाएको छैन । त्यसको परिणाम उत्तरी छिमेकी चीनले सन् २०२३ मा जारी गरेको नयाँ नक्सामा लिपुलेक, कालापानी र लिम्पियाधुरालाई भारतपट्टि देखाइएको छ । 

सम्बन्धित समाचार र विचार 

सरकारले भारतलाई दियो लिपुलेकबारे 'कूटनीतिक नोट'

भारत, चीन र नेपालको लिपुलेक

राजेश मिश्र दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय मिश्र कान्तिपुर दैनिकका संवाददाता हुन्। उनी राजनीति, कुटनीति, निर्वाचन प्रणाली र संघीयताका बिषयमा लेख्छन् ।

Link copied successfully