उत्तरपश्चिम पाकिस्तानमा आएको विनाशकारी बाढीमा कम्तीमा तीन सय ४४ जनाको ज्यान गएको छ भने एक सय ५० जनाभन्दा बढी बेपत्ता भएको प्रान्तीय विपद् व्यवस्थापन एजेन्सीका प्रमुख असफान्डियार खट्टकले आइतबार बताएका छन् ।
What you should know
काठमाडौँ — काठमाडौँ आइपुगे भारतीय विदेश सचिव मिश्री, उच्चस्तरीय भेटघाटमा व्यस्त, उत्तराखण्डमा बेपत्ता नभेटिएपछि उद्धार टोली फर्कियो, पीडित भन्छन्- 'दूतावासले सहयोग गरेन', सर्वोच्चले भन्यो - 'अनलाइन तथा सामाजिक सञ्जाल अनिवार्य दर्ता गर्नू', नेपाल विद्युत् प्राधिकरणको नाफा घट्योदेखि पाकिस्तानमा बाढी : ३४४ जनाको मृत्यु, १५० भन्दा बढी बेपत्तासम्मका खबर आज चर्चामा रहे ।
००००
भारतीय विदेश सचिव विक्रम मिस्री काठमाडौं आइपुगेका छन्। परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा मिस्री दुई दिने औपचारिक भ्रमणका लागि आइतबार बिहान ९ बजे काठमाडौँ ओर्लिएका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीको भदौ ३१ मा प्रस्तावित भारत भ्रमणको तयारी छलफलका लागि मिस्री नेपाल आएका हुन्।
००००
भारत उत्तराखण्ड राज्यको पौडी गढवालस्थित बाकुडाको बाढीपहिरोमा बेपत्ता बर्दियाका ५ जनाको उद्धारमा गएको एसडीआरएफ (स्टेट डिजास्टर रेस्पोन्स फोर्स) टोली पनि शनिबार फर्केको छ । साउन २१ गतेको बाढीपहिरोमा परि बर्दियाका मात्रै ५ जना बेपत्ता भएका थिए । एसडीआरएफ घटनास्थलबाट करिब १ सय किमि दुरीमा रहेको धुमाकोटसम्म पुगेर फर्केको त्यहाँका मजदुरले बताएका छन् ।
००००
सर्वोच्च अदालतको नौ न्यायाधीश संलग्न बृहत् पूर्ण इजलासले सामाजिक सञ्जाल, अनलाइन सञ्चारमाध्यम र अदालती सूचना संकलनका विषयमा सरकारका नाममा आदेश जारी गरेको छ । २०८१ असोज १३ गते भएको फैसलाको पूर्णपाठ शुक्रबार जारी गर्दै सर्वोच्चले अदालतका सूचना प्रकाशन र प्रसारणका लागि आवश्यक मापदण्ड नै बनाउन भनेको छ ।
००००
आर्थिक वर्ष २०८१/८२ मा नेपाल विद्युत् प्राधिकरणको नाफा घटेको छ । प्राधिकरणको ४०औँ वार्षिकोत्सवका अवसरमा कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले करअघिको नाफा ९ अर्ब ६ करोड ७० लाख रुपैयाँमा झरेको जानकारी दिए। उनका अनुसार २०८०/८१ मा भएको नाफाको तुलनामा यो ३७.३२ प्रतिशत कम हो।
००००
उत्तरपश्चिम पाकिस्तानमा आएको विनाशकारी बाढीमा कम्तीमा तीन सय ४४ जनाको ज्यान गएको छ भने एक सय ५० जनाभन्दा बढी बेपत्ता भएको प्रान्तीय विपद् व्यवस्थापन एजेन्सीका प्रमुख असफान्डियार खट्टकले आइतबार बताएका छन् । हजारौँ उद्धारकर्मी वर्षा र माटोको भारी चपेटाबीच बाँचेका मानिसहरूलाई खोज्दै, भग्नावशेषमुनि दबिएका घरहरू उत्खनन गरिरहेका छन् ।
