काठमाडौँ आइपुगे भारतीय विदेश सचिव मिश्री

मिस्रीले भारतीय प्रधानमन्त्री मोदीका तर्फबाट प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा हस्तान्तरण गर्नेछन् ।

भाद्र १, २०८२

कान्तिपुर संवाददाता

Indian Foreign Secretary Mishri arrived in Kathmandu

What you should know

काठमाडौँ — भारतीय विदेश सचिव विक्रम मिस्री काठमाडौं आइपुगेका छन्। परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा मिस्री दुई दिने औपचारिक भ्रमणका लागि आइतबार बिहान ९ बजे काठमाडौँ ओर्लिएका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको भदौ ३१ मा प्रस्तावित भारत भ्रमणको तयारी छलफलका लागि मिस्री नेपाल आएका हुन्। उनको भ्रमणको कार्यतालिकाबारे मन्त्रालयले औपचारिक जानकारी दिएको छैन। तर स्रोतका अनुसार मिश्रीको बसाइ सोल्टी होटलमा गरिएको छ।

विमानस्थलबाट उनी सीधै सोल्टी होटल पुग्नेछन्। त्यसपछि राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, विपक्षी दलका नेता पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री आरजु राणा देउवासँग छुट्टा-छुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ।

भेटमा मिस्रीले भारतीय प्रधानमन्त्री मोदीका तर्फबाट प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा हस्तान्तरण गर्नेछन् ।

Indian Foreign Secretary Mishri arrived in Kathmandu

यस अवसरमा नेपाल-भारतबीच सचिवस्तरीय द्विपक्षीय वार्ता समेत हुनेछ। आज बेलुका परराष्ट्र सचिव राईले मिश्रीको स्वागतमा रात्री भोजको समेत आयोजना गरेका छन्। 

ओली प्रधानमन्त्री बनेको १४ महिनापछि ओलीको भारत भ्रमण हुन लागेको हो । परराष्ट्रका एक अधिकारीका अनुसार मिस्रीको नेपाल भ्रमण प्रधानमन्त्री ओलीको भारत भ्रमणको आधार तथा माहौल तयार पार्नमा केन्द्रित हुनेछ ।

विदेश सचिव मिस्रीको काठमाडौंमा हुने भेटवार्ताले प्रधानमन्त्री तहमा कुन–कुन एजेन्डालाई प्रवेश गराउने र हस्ताक्षर हुन सक्ने विषयहरूको प्रारूप तयार पार्ने ती अधिकारीको भनाइ छ ।

भारत भ्रमणका क्रममा मोदी र ओलीबीच यस पटक दिल्लीबाहिर द्विपक्षीय वार्ताको तयारी छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार बोधगयामा दुई प्रधानमन्त्रीबीच औपचारिक भेटवार्ताको तयारी छ । बिहार राज्यको बोधगया सहर बौद्ध धर्मका अनुयायीहरूका लागि पवित्र तीर्थस्थलका रूपमा प्रसिद्ध छ । बुद्धले ज्ञान प्राप्त गरेको स्थलका रूपमा बोधगया चिनिन्छ ।

मिस्री सोमबार दिल्ली फर्किनेछन् ।उनी दोस्रो पटक नेपाल आएका हुन् । गत वर्ष साउन २७–२८ मा दुई दिनको भ्रमणका लागि उनी नेपाल आएका थिए ।

कान्तिपुर संवाददाता

Link copied successfully