नेपाल विद्युत् प्राधिकरणको नाफा घट्यो

२०८१/८२ मा ३१ निजी प्रवर्द्धकसँग ९३२ मेगावाट जलविद्युत् र ८ प्रवर्द्धकसँग १७० मेगावाट सौर्य आयोजनाको सम्झौता भएको शाक्यले बताए।

भाद्र १, २०८२

कान्तिपुर संवाददाता

The profit of Nepal Electricity Authority decreased

What you should know

काठमाडौँ — आर्थिक वर्ष २०८१/८२ मा नेपाल विद्युत् प्राधिकरणको नाफा घटेको छ। प्राधिकरणको ४०औँ वार्षिकोत्सवका अवसरमा कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले करअघिको नाफा ९ अर्ब ६ करोड ७० लाख रुपैयाँमा झरेको जानकारी दिए।

उनका अनुसार २०८०/८१ मा भएको नाफाको तुलनामा यो ३७.३२ प्रतिशत कम हो। आर्थिक वर्ष २०८०/८१ मा प्राधिकरणको कर अघिको नाफा १३ अर्ब ३० करोड रुपैयाँ  थियो। २०७२/७३ मा ८ अर्ब ८९ करोड रुपैयाँ घाटा बेहोरेको प्राधिकरण त्यसयता लगातार नाफामा छ।

प्राधिकरणले निर्यातसहित विद्युत् बिक्रीबाट १ खर्ब २५ अर्ब २७ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ८.४६ प्रतिशत बढी हो। अन्य स्रोतबाट प्राप्त आम्दानीसहित २०८१/८२ मा कुल आम्दानी १ खर्ब ३८ अर्ब ८७ करोड र खर्च १ खर्ब २९ अर्ब ८१ करोड रुपैयाँ भएको शाक्यले बताए।

उनका अनुसार प्राधिकरणको कुल सम्पत्ति ६.२ प्रतिशतले बढेर ६ खर्ब ८४ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ। मुलुकको ऊर्जा माग पूरा गर्न प्राधिकरणले निजी क्षेत्रसँग विद्युत् खरिद सम्झौता गर्दै आएको छ।


The profit of Nepal Electricity Authority decreasedहाल निजी क्षेत्रबाट सञ्चालित २०४ आयोजना मार्फत २९ सय २९ मेगावाट विद्युत् उत्पादन भइरहेको छ। त्यस्तै १४२ आयोजना ४३ सय ३ मेगावाट क्षमतासहित निर्माण चरणमा छन्। कुल ४२ सय ३ मेगावाट क्षमताका १४८ आयोजना विभिन्न चरणमा रहेको प्राधिकरणले जनाएको छ।

२०८१/८२ मा मात्रै ३१ निजी प्रवर्द्धकसँग ९३२ मेगावाटका जलविद्युत् आयोजना र ८ प्रवर्द्धकसँग १७० मेगावाट क्षमताका सौर्य आयोजना खरिद सम्झौता भएको शाक्यले जानकारी दिए। उनका अनुसार अहिलेसम्म निजी प्रवर्द्धकसँग कुल ११ हजार ४३६ मेगावाट बराबरको विद्युत् खरिद सम्झौता (पीपीए) भइसकेको छ।

राष्ट्रिय योजना आयोगका सदस्य आरपी विच्छाले मुलुक अब ऊर्जा मिश्रणमा जानुपर्ने बताए । 

कान्तिपुर

Link copied successfully