मंगलबार रातिदेखिको अविरल वर्षाले उदयपुरको बेलका नगरपालिका–३ का ८५ वटा घर डुबानमा परेका छन् । बेलका नगरपालिका–३ स्थित सरस्वती आधारभूत विद्यालयसहित एबीसी टोलका ४० वटा र जुलेफी टोल, रामपुर ठोक्सिलाका ४५ वटा गरी ८५ घर डुबानमा परेका हुन् ।
What you should know
काठमाडौँ — झापाको बालुवाटार जग्गा प्रकरणमा माओवादी नेता पुरीसहित ९ जना भ्रष्टाचारमा दोषी ठहर, अविरल वर्षाले उदयपुरको बेलकामा ८५ घर डुबानमा, सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल खण्डको भुतखोलामा पुन: सडक भासियो, निर्वाचन आयोगले भन्यो : नाउपाको अध्यक्ष रञ्जिता श्रेष्ठ नैदेखि आसिम मुनिरपछि पाकिस्तानी प्रधानमन्त्रीले पनि दिए भारतलाई धम्कीसम्मका खबर चर्चामा रहे ।
००००
विशेष अदालत काठमाडौंले झापाको बालुवाटारको जग्गा प्रकरणमा माओवादी नेता गगन पुरीसहित ९ जनालाई दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशद्वय मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले सात जना मालपोत र नापीका कर्मचारी तथा दुई जना जग्गाधनीलाई दोषी ठहर गर्दै जरिवाना र कैदको फैसला सुनाएको हो ।
००००
मंगलबार रातिदेखिको अविरल वर्षाले उदयपुरको बेलका नगरपालिका–३ का ८५ वटा घर डुबानमा परेका छन् । बेलका नगरपालिका–३ स्थित सरस्वती आधारभूत विद्यालयसहित एबीसी टोलका ४० वटा र जुलेफी टोल, रामपुर ठोक्सिलाका ४५ वटा गरी ८५ घर डुबानमा परेका हुन् । वडाध्यक्ष टंकप्रसाद आचार्यका अनुसार कटुन्जे बबला, मैनामैनी तर्फबाट आउने सिसुवा खोला, जोगिनी खोला, बैरवा खोला, सेती खोला र गिदेरी खोलामा पानीको बहाव बढेर बस्ती पसेको हो ।
००००
सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान भूतखोला नजिकैको सडक पुन: भासिएको छ । सात वर्षअघि भासिन सुरु भएको सडकमा अघिल्लो वर्ष मात्र सडक डिभिजनले रोकथाम गरी कालोपत्र सुरुवात गरेको थियो । कालोपत्र एकतर्फी नसकिँदै पुन: सडक भासिएको सडक डिभिजन पाल्पाले जनाएको छ । राजमार्ग कम्तीमा २५ मिटर लम्बाईमा भासिएको छ ।
००००
निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रञ्जिता श्रेष्ठ नै भएको बताएको छ । उन्मुक्तिको साउन १५ मा भएको राष्ट्रिय भेलाले रञ्जितालाई हटाएर सांसद लालवीर चौधरीलाई अध्यक्ष चयन गरी अद्यावधिकका लागि आयोगमा पठाएको थियो । आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले राजनीतिक दलसम्बन्धी ऐन र पार्टीको विधानअनुसार रञ्जिता नै अध्यक्ष कायम भएको बताइन् ।
००००
पाकिस्तानी सेनाका प्रमुख आसिम मुनिरले केही दिनअघि भारतमा परमाणु आक्रमणको धम्की दिएको केही दिनपछि पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले पनि धम्की दिएका छन् । पाकिस्तानको राजधानी इस्लामावादमा आयोजित एक समारोहमा उनले पानी बन्द गर्ने धम्की दिने भारतले पाकिस्तानबाट एक थोपा पनि पानी लिन नसक्ने चेतावनी दिएका हुन् ।
