देशभर बिहानदेखि वर्षा, कहाँ–कहाँ के भयो ?

इलाममा पहिरोमा परी एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । यस्तै, वर्षापछिको विपद्‌पछि देशभरका ११ स्थानका सडक अवरुद्ध भएका छन् ।

श्रावण २८, २०८२

कान्तिपुर संवाददाता

It has been raining all over the country since morning, what happened where?

What you should know

काठमाडौँ — बिहानदेखि देशका विभिन्न भू-भागहरुमा वर्षा भइरहेको छ । वर्षाका कारण पहिरोमा परी एक जनाको मृत्यु भएको छ भने दुई जना धाइते भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार इलामको रोङ गाउँपालिका-४ का ६० वर्षीय वीरबहादुर राईको पहिरोमा परी मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले कान्तिपुरसँगको संवादमा भनिन्- 'हालसम्म एक जनाको मृत्यु भएको र दुई जना घाइते भएका छन् । अहिलेसम्मको अपडेट यत्ति नै हो ।' उनका अनुसार वर्षाका कारण देशभर राजमार्ग र करिडोर गरी ११ वटा सडक खण्ड अवरुद्ध छन् । 'राति पनि वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अपडेट आउने क्रम जारी छ,' प्रवक्ता महतले भनिन्, 'सतर्कता अपनाउनुहोला ।' 

रातभर यी प्रदेशमा हुँदैछ भारी वर्षा 

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् बिनु महर्जनका अनुसार आज राति गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । 

त्यस्तै, लुम्बिनी, सुदूरपश्चिमका तराई र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । 

उनका अनुसार गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भाग, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका पहाडी तथा तराई भू-भागका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। साथै बाँकी प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । 

त्यस्तै, गण्डकी, लुम्बिनी, कर्णाली र सूदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा पूर्णतया बदली रहने महाशाखाले जनाएको छ । 

नदी किनार, डुबान हुने तटीय क्षेत्र र पहिरो जान सक्ने सम्भावित ठाउँमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

भोली दिउँसो पनि देशभर साधारणतया बदली रहनेछ । महाशाखाका अनुसार भोलि पनि कर्णाली र सुदूरपश्चिम लगायत देशको पहाडी भू-भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । 

मधेश प्रदेशलगायत देशका बाँकी तराई भू-भागका थोरै स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।द

कान्तिपुर

Link copied successfully