उनीसँगै धरौटी माग गरिएका अन्य प्रतिवादी धरौटी रकम बुझाएर बुधबारै रिहा भए पनि मिलनलाई भने एक वर्षअघिको मुद्दाको अनुसन्धानका लागि प्रहरी वृत्त ठिमी लगिने भएको हो ।
What you should know
काठमाडौँ — अभद्र व्यवहारको कसुरमा धरौटी माग गरिएका चक्रे मिलन धरौटी रकम बुझाएर पनि तत्काल रिहा नहुने भएका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुसालको बुधबारको इजलासले मिलनसहित १९ जनालाई धरौटीमा छाड्न आदेश दिएको थियो ।
उनीसँगै धरौटी माग गरिएको अन्य प्रतिवादी धरौटी रकम बुझाएर आजै रिहा भए पनि मिलनलाई भने एक वर्ष अघिको मुद्दाको अनुसन्धानका लागि प्रहरी वृत्त ठिमी लगिने भएको छ ।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक माधव बुढाथोकीका अनुसार पहिले नै ठिमीको एक रेस्टुरेन्टमा भएको घटनामा अदालतमा मुद्दा दर्ता भएको थियो । ‘जाहेरवालाले वतन खुलाएपछि सरकारी वकिल कार्यलयबाट बयान लिने लगायतका काम समेत भएकाले थप अनुसन्धानको लागि थुनामा नै राख्न लागेका हौं,’ उनले भने,‘हामीले उनलाई सोझै काठमाडौं परिसरबाट प्रहरी वृत्त ठिमी लानेछौं । ’
मनिष रायमाझीले ज्यान मार्ने उद्योगमा सर्लाहीका अजित खवाससहित योजनाकारका रुपमा २०८१ भदौ १० गते मिलनका विरुद्ध जाहेरी दर्ता गराएका थिए । त्यसबेला मिलनको वतन नखुलेकाले पहिचान भएको थिएन । हाल पहिचान भएपछि मिलनमाथि पूरक अनुसन्धान सुरु भएको हो । अदालतले यसअघि मागदाबी नपुगेको भन्दै खवासलाई छोडिसकेको छ ।
गत साउन १५ गते पक्राउ परेका मिलनसहितका १९ जनालाई अभद्र व्यवहारको कसुरमा मुद्दा दायर गरिएको थियो ।
अदालतको आदेशमा मिलनसँगै राजेश खड्कालाई ३० हजार धरौटीमा छाड्न आदेश दिएको छ । त्यस्तै,गणेशबहादुर बोगटी, डिल्लीराज कँडेल र ऋतिक लामालाई २० हजार धरौटीमा छाड्न आदेश भएको छ ।
त्यस्तै, निराजन पौडेल, रोशन सुवेदी, सन्दिप केसी, यामु पौडेल, सौरभ सुनार, चन्द्रदेव कार्की, जितबहादुर लामा, प्रकाश गोले, अमिर आले मगर, राहुल खड्का, उत्तम महर्जन, प्रनिश केट्टेल, राजु परियार, सफल भन्ने सुजल शाहीलाई १० हजार धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौंको आदेश छ ।
मध्यराति चक्रेको जन्मदिन पार्टी मनाउने नाममा होहल्ला गरेको भन्दै प्रहरीले उनीहरूलाई समातेको थियो । महाराजगञ्जको होटल साम्बालामा चक्रेको जन्मदिनको पार्टी चलिरहेको बेला प्रहरीले उनीहरूलाई पक्राउ गरिएको हो । त्यो समयमा प्रहरीले ४७ जनालाई पक्राउ गरेपनि २८ जनालाई छाडेर १९ जनाविरुद्ध अनुसन्धान अघि बढाएको थियो ।
