गुन्डा नाइके चक्रे मिलनसँग जिल्ला अदालतले माग्यो ३० हजार धरौटी

बुधबार थुनछेक आदेश गर्दै जिल्ला अदालतले धरौटी माग गरेको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दिपककुमार श्रेष्ठले जानकारी दिए ।

श्रावण २८, २०८२

कान्तिपुर संवाददाता

The district court demanded 30,000 bail from gangster Nike Chakra Milan

काठमाडौँ — जिल्ला अदालत काठमाडौंले गुन्डा नाइके चक्रे मिलनसँग ३० हजार रुपैयाँ धरौटी माग गरेको छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मंगलबार मिलनसहितका १९ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो । बुधबार थुनछेक आदेश गर्दै जिल्ला अदालतले धरौटी माग गरेको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दिपककुमार श्रेष्ठले जानकारी दिए ।

जिल्ला प्रहरी परिसर काठमाडौंको अनुसन्धान प्रतिवेदनका आधारमा मिलनसहितका प्रतिवादीविरुद्ध अभद्र व्यवहारको कसुरमा मुद्दा दायर गरिएको थियो । न्यायाधीश खिमानन्द भुसालको इजलासले धरौटी माग गरेको हो । उनीहरू पटके कसुरमा मुद्दा दायर गरेको थियो ।

१५ साउनमा उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंको संयुक्त अपरेसनमा उनीहरू पक्राउ परेका थिए । उनीहरूसँगै प्रहरीले ४७ जनालाई पक्राउ गरेको थियो । जसमध्ये २८ जनालाई भने छाडिएको थियो । जिल्ला सरकारी वकिल कार्यालयले मिलनसहित गणेशबहादुर बोगटी, निराजन पौडेल, रोशन सुवेदी, राजेश खड्का, सन्दिप केसी, राहुल खड्का प्रतिवादी बनाएको थियो ।

त्यस्तै, यामु पौडेल, सौरभ सुनार, डिल्लीराज कँडेल, ऋतिक लामा, चन्द्रदेव कार्की, जितबहादुर लामा, प्रकाश गोले, अमिर आले मगर, उत्तम महर्जन, प्रनिश केटल, राजु परियार र सफल शाहीलाई पनि प्रतिवादी बनाइएको थियो ।

मध्यराति मिलनको जन्मदिन पार्टी मनाउने नाममा होहल्ला गरेको भन्दै प्रहरीले उनीहरूलाई साउन १५ गते पक्राउ गरेको  थियो । महाराजगञ्जको होटल साम्बालामा चक्रेको जन्मदिनको पार्टी चलिरहेको बेला प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।

कान्तिपुर

Link copied successfully