काठमाडौंका पत्रकार सुरेश रजकको मृत्यु भएको पाँच महिना पुग्यो भने कैलालीका पत्रकार सुरेश भुलको हत्या भएको आठ महिना भयो । तर दुवै पत्रकारको मृत्युमा न त गम्भीर छानबिन भयो न त भएका छानबिन भएका प्रतिवेदन नै सार्वजनिक गरेर थप खोजबिन गर्ने काम भयो ।
What you should know
काठमाडौँ — ठ्याक्कै पाँच महिना भयो, काठमाडौंको तीनकुनेमा भएको राजवादीको प्रदर्शनमा रिपोर्टिङ गर्न पुगेका पत्रकार सुरेश रजकको मृत्यु भएको । २०८१ चैत १५ मा राजावादीहरुले तीनकुनेस्थित ‘मार्बल हाउस’मा लगाएको आगोमा जलेर उनको मृत्यु भएको थियो ।
पोस्टमार्टम रिपोर्टमा उनको जलेर मृत्यु भएको देखिएपनि रजकका परिवारले यसमा चित्त बुझाएका थिएनन् । रजकको मृत्युबारे छानबिन गर्न महासंघका उपाध्यक्ष उमिद बागचन्दको संयोजकत्वमा छानबिन समिति बनाएको थियो । महासंघले रजकको रहस्यमय हत्याका सम्बन्धमा स्वतन्त्र छानबिन गरी सत्यतथ्य पत्ता लगाई दोषीलाई कारबाहीको दायरामा ल्याउन उच्चस्तरीय स्वतन्त्र छानबिन समिति गठन गर्नुपर्ने माग गरेको थियो । 
तर परिवार भने अझैसम्म पनि महासंघले बनाएको प्रतिवेदन सार्वजनिक नभएको बताउँछन् । 'पत्रकारहरुको छाता संगठन भनिएको महासंघको प्रतिवेदनमा के छ ? हामीलाई केही जानकारी छैन,' सुरेश रजकका दाई दिनेश रजकले कान्तिपुरसँगको टेलिफोन संवादमा भने, 'महासंघले ‘हत्या भएको देखाएको छ, राज्यको तर्फबाट थप अनुसन्धान गर्न लगाउँछौँ’ भन्नुभएको थियो । तर अहिलेसम्म केही पनि थाहा छैन ।'
महासंघका महासचिव रामप्रसाद दाहालले भने परिवारले पनि प्रतिवेदन हेर्न चाहे हेर्न पाउने बताए । 'हामीले परिवारकै सदस्यलाई बोलाएर गृहमन्त्री समक्ष प्रतिवेदन बुझाएका हौँ,' महासंघका महासचिव दाहालले भने, 'हेर्न चाहनुभयो भने हामी रिपोर्ट उपलब्ध गराउँछौँ ।'
मौन मानव अधिकार आयोग
यो घटनाका सम्बन्धमा मानव अधिकार आयोगले अझैसम्म कुनै रिपोर्ट सार्वजनिक गरेको छैन । परिवारले रजकको मृत्युको छानबिनका लागि गत जेठ चार गते नै राष्ट्रिय मानवअधिकार आयोगमा पनि उजुरी दिएका थिए । आयोगले छानबिन भइसकेको र केही दिनमै प्रतिवेदन सार्वजनिक गर्ने बताए पनि हालसम्म सार्वजनिक गरेको छैन ।
उजुरी लिएर गएका परिवारका सदस्यसँग त्यतिबेला आयोगकी अनुसन्धान अधिकृत मञ्जु खतिवडाले प्रतिवेदन केही दिनभित्र सार्वजनिक गर्ने बताएकी थिइन् । 'तीनकुने घटनाको विषयमा हामीले रेगुलर इन्भेस्टिगेसन (अनुसन्धान) भन्दा पनि फास्ट ट्रयाकमा अनुसन्धान हुनुपर्छ । यो गम्भीर विषय हो भनेर आयोगले गम्भीरताका साथ लिएको विषय हो । अनुसन्धान शुक्रबार नै सकिएको छ । अहिले प्रिन्ट हुँदैछ,' रजकको परिवारसँग उनले त्यतिबेला भनेकी थिइन्, 'सायद अब एक दुई दिनमा हामी सञ्चारकर्मीबीच आउनेछौं । हामीले के देख्यौं, के पायौं । र, हामी राज्यको ध्यानाकर्षण गराउँछौं ।'
अनुसन्धान अधिकृतले एक, दुई दिन भनेको ३ महिना बितिसक्यो । तर अझै पनि प्रतिवेदन सार्वजनिक भएको छैन । ‘रिपोर्ट तयार छ । प्रिन्ट गर्न मात्रै बाँकी हो । दुई/तीन दिनमा सार्वजनिक हुन्छ भनेको पनि आज ३ महिना पुग्न लागिसक्यो अहिलेसम्म सार्वजनिक भएको छैन,' सुरेशका दाई दिनेशले भने, 'के भयो भनेर बुझ्न खोज्दा आयोगकाहरु अहिले त फोन पनि उठाउँदैनन्।'
आयोगका सहसचिव टिकाराम पोखरेलले प्रतिवेदनको पहिलो चरणको काम सकिएको र दोस्रो चरणको काम भइरहेको बताए । उनले भने, 'हामीले पहिलो चरणको काम सकिसकेका छौँ । दोस्रो चरणको काम हुँदै छ । सक्किए लगत्तै सार्वजनिक गर्छौँ ।'
महासंघले भुलेका भुल
सुरेश रजकको मृत्यु भएको ५ महिनाअघि अर्थात् कात्तिक २६ गते कैलालीका पत्रकार सुरेश भुलको हत्या भएको थियो । कात्तिक २४ को साँझ सुरेशलाई छिमेकी लगायतको समूहले घरमै आएर कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते भएका सुरेशको उपचारकै क्रममा मृत्यु भएको थियो ।
सूचनाको हकका लागि राष्ट्रिय महासंघका कैलालीका सूचना आयुक्तसमेत रहेका भुललाई बाख्रा चोरको आरोप लगाएर हत्या गरिएको थियो । हत्याको ८ महिना बित्यो । तर परिवारले अझैसम्म न्याय पाएको महसुस गरेका छैनन् ।
भुलकी श्रीमती कल्पना सार्कीले कान्तिपुरसँगको टेलिफोन संवादमा भनिन्, 'घटनामा संलग्न आठ जना पक्राउ परेका थिए । जसमध्ये २ जना रिहा भइसकेका छन् । मुख्य कुटपिट गर्ने अझै पक्राउ परेको छैन,' उनले उल्टै प्रश्न गरिन्, 'यो कसरी न्याय भयो ।'
भुलको हत्याको विषयमा छानबिन गर्न नेपाल पत्रकार महासंघको तत्कालीन कार्यसमितिका केन्द्रीय सचिव हेमकर्ण विकको संयोजकत्वमा मिसन टोली खटाएको थियो । मिसन टोलीले घटना घटेको १५ दिनभित्र सत्यतथ्य छानबिनसहित प्रतिवेदन सार्वजनिक गर्ने भनेपनि अहिलेसम्म उक्त प्रतिवेदन सार्वजनिक भएको छैन ।
छानबिन समितिका संयोजक हेमकर्ण विक भने घटना घटेको एक हप्ताभित्र नै प्रतिवेदन बुझाएको बताउँछन् । 'हामीले घटना घटेको एक हप्ताभित्र नै प्रतिवेदन बुझाएका हौँ,' विकले भने, 'त्यसपछि चुनावको चटारो थियो क्यारे । महासंघले सार्वजनिक गरे नगरेको थाहा भएन ।'
महासंघका महासचिव रामप्रसाद दाहाल आफूलाई त्यसबारे जानकारी नभएको बताउँछन् । 'त्यो डकुमेन्ट हेर्नुपर्छ । अहिले मलाई थाहा भएन,' दाहालले भने, 'डकुमेन्ट नहेरी केही भन्न सकिन्नँ ।'
भुलका परिवार पनि घटनाबारे कुनै थप छानबिन नभएको बताउँछन् । सुरुमा सबैले चासो दिएपनि अहिले कसैले सहयोग गरेपनि अहिले कसैले सहयोग नगरेको कल्पनाको गुनासो छ । 'सुरुमा महासंघ, मानव अधिकार आयोग, पत्रकारहरु सबैले चासो दिएका थिए । अहिले आरोपीहरु भटाभट निस्किरहेका छन् । कसैलाई मतलब छैन,' कल्पनाले भनिन्, 'छानबिनले यस्तो देखायो, उस्तो देखायो भनेर मलाई अहिलेसम्म कुनै पनि निकायले बोलाएको छैन । न त सुनाएको छ नै ।'
