पत्रकार रजकको हत्यामा जोडिएका शंकास्पद व्यक्तिहरूलाई विपक्षी बनाई ज्यानसम्बन्धी कसुरमा महासंघले किटानी जाहेरी दिनुपर्ने निष्कर्ष
काठमाडौँ — नेपाल पत्रकार महासंघले चैत १५ गते राजावादीको प्रदर्शनमा ज्यान गुमाएका पत्रकार सुरेश रजकको घटना अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति गठन हुनुपर्ने बताएको छ । सुरेश रजक मृत्यु प्रकरणको अध्ययन गर्न बनेको महासंघको समितिले उक्त रायसहितको प्रतिवेदन बुझाएको हो ।
उक्त घटनाबारे अनुसन्धान गर्न उपाध्यक्ष उमिद प्रसाद बागचन्दको संयोजकत्वमा ७ सदस्यीय समिति अध्ययन समिति गठन गरेको थियो । यही समितीले बुझाएको प्रतिवेदनमा यस्तो निष्कर्ष निकालिएको हो ।
प्रतिवेदनमा रजकको मृत्यु शंकास्पद रहेको र हालसम्मको अध्ययनबाट पनि केही प्रश्न बाँकी नै रहेको उल्लेख गरिएको छ । प्रतिवेदनमा आगो लगाइएको कोठामा अन्तिमसम्म रजकमात्रै त्यहाँ रहेको देखिने भिडियो कुन समयको हो ? त्यहाँको दृश्य खिच्नेहरू को–को थिए ? अन्तिम अवस्थासम्म त्यहाँ को-को थिए ? आगो लागेपछि सबै भाग्दा उनी किन भागेनन् ? सबै फर्किएर बाहिर निस्किँदा रजक मात्रै किन निस्किन सकेनन् ? यी प्रश्नहरूको जवाफ खोजी गर्नुपर्ने कुरा प्रतिवेदनमा उल्लेख गरिएको छ ।
प्रतिवेदनमा रजकको मृत्युका सर्न्दभमा केही प्रश्न उठाइएको छ, 'रजकले प्रयोग गरिरहेको क्यामेराको अवशेष किन नभेटिएको ? उनका दुई वटा मोबाइलमध्ये एउटा मोबाइल सबै जल्यो कि कसैले लग्यो ? कतै प्रदर्शनकारीहरूले आफूहरू देखिने गरी भिडियो खिचिरहेको देखेपछि क्यामेरा पर्सन रजकमाथि सांघातिक आक्रमण त गरेनन् ? कतै प्रदर्शनकारीले उनको क्यामेरा र मोबाइल खोसेर आक्रमण गरी होस् बनाएकै कारण त उनी त्यहाँबाट भाग्न नपाएका होइनन् ?' यस्ता शंकास्पद प्रश्नहरू उब्जिएकाले यिनको उत्तर खोज्नका लागि प्रतिवेदनले उच्चस्तरीय छानबिन समिति गठन गर्न विलम्ब गर्न नहुने निष्कर्ष निकालेको छ । प्रतिवेदनमा पत्रकार रजकको हत्यामा जोडिएका शंकास्पद व्यक्तिहरूलाई विपक्षी बनाई ज्यानसम्बन्धी कसुरमा महासंघले किटानी जाहेरी दिनुपर्ने निष्कर्ष पनि निकालेको छ ।
महासंघलाई बुझाईएको प्रतिवेदनमा त्यस दिनको घटनाले पत्रकार तथा सञ्चारगृहहरूलाई त्रसित र आतंकित बनाएको उल्लेख गरिएको छ । प्रतिवेदनमा राजसंस्था ब्युँताउन सहयोग नगरेको, र गणतन्त्रको पक्षमा वकालत गरेको आरोपमा राजसंस्था पक्षधरहरू सञ्चार गृहप्रति रुष्ट देखिएको उल्लेख गरिएको छ । प्रतिवेदनमा लेखिएको छ, ‘जसकारण तीनकुनेमा प्रदर्शनको दिन सञ्चार माध्यम र मूलधारका सञ्चारमाध्यममा कार्यरत पत्रकारलाई सुनियोजित रुपमा ‘टार्गेट’ बनाएर आक्रमण गर्ने योजना बनाएको देखिन्छ ।’
महासंघका अनुसार २०८१ सालमा मात्रै कैलालीका पत्रकार सुरेश भुल र काठमाडौंका पत्रकार सुरेश रजकको हत्या भएको र २०५६ सालयता ३८ पत्रकारको हत्या भएको छ । महासंघले पत्रकारहरू कार्यस्थलमा असुरक्षित हुनुपरेको चिन्ता व्यक्त गरेको छ । २०८१ वैशाख २२ देखि २०८२ वैशाख १७ सम्मको अवधीमा प्रेस स्वतन्त्रता हनन्का ७३ वटा घटना रेकर्ड भएका भन्दै यी घटनामा १५१ जना पत्रकार तथा सञ्चारकर्मी र ५ वटा सञ्चार संस्था पीडित भएको उल्लेख गरेको छ ।
भौतिक आक्रमण र पेसागत असुरक्षा दुवैले पत्रकारहरूलाई त्रासमा राखेको अवस्था छ । पछिल्लो समय सञ्चार प्रविधिको तीव्र विकासले पनि पत्रकारिता क्षेत्र र पत्रकारहरूको सुरक्षामा अभूतपूर्व चुनौतीहरू थपेको प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदनमा सामाजिक सञ्जालमा लोकप्रियतावाद र ‘गलत तथ्य तथा भ्रामक सूचना’को प्रसार बढ्दै गर्दा त्यसको लाभ उठाएर केही व्यक्तिहरूले आˆना गलत कार्यलाई भण्डाफोर गर्ने मिडियामाथि आधारहीन आक्षेप लगाउने, धाकधम्की दिने, गालीगलौज गर्ने र आक्रमण गर्ने जस्ता प्रवृत्तिसमेत मौलाएको पनि उल्लेख गरिएको छ ।
महासंघले २०५६ सालदेखि निरन्तर प्रेस स्वतन्त्रता उल्लंघनका घटनाहरूको अनुगमन गर्दै आएको छ । तथ्यांकअनुसार २०८१ सालमा मात्रै कैलालीका पत्रकार सुरेश भुल र काठमाडौंका पत्रकार सुरेश रजकको हत्या भएको छ भने योसँगै नेपालमा हत्या भएका पत्रकारको संख्या ३८ पुगेको देखिन्छ ।
महासंघको प्रतिवेदनमा सामान्य दुर्घटना बिमासमेत नभएको अवस्थामा पत्रकारहरूले फिल्डमा खटिएर काम गर्न बाध्य भएको उल्लेख गर्दै विपद् होस् वा दुर्घटना वा कुनै आतंकवाद र भीडको रिपोर्टिङको बेलामै किन नहोस्, पत्रकारहरूको भौतिक सुरक्षाका लागि कुनै प्रबन्ध नगरिएको उल्लेख गरिएको छ । प्रतिवेदनमा लेखिएको छ, ‘यसका लागि न सरकारले नीतिगत व्यवस्था गरेको छ, न त मिडिया सञ्चालकहरूले नै त्यसमा लगानी गरेका छन् ।’
महासंघलाई बुझाइएको प्रतिवेदनमा प्रेस स्वतन्त्रता उल्लंघनका बढ्दो घटनाक्रम, सञ्चार क्षेत्रमा देखिएका नवीनतम् चुनौतीहरूको समाधान र व्यवस्थापनका लागि आवश्यक नीतिगत तथा कानुनी सुधारमा जोड दिनुपर्ने सुझाव पनि दिइएको छ ।
