सामूहिक कुटपिटबाट ‘सूचना अभियन्ता’ भूलको मृत्यु

कुटपिटमा संलग्नमध्ये ८ पक्राउ, एक फरार

मंसिर १, २०८१

अर्जुन शाह

'Information activist' mistaken death due to gang beating

धनगढी — कैलालीको गौरीगंगा नगरपालिका–११ कान्तिपुर टोलका ३० वर्षीय ‘सूचना अभियन्ता’ सुरेश भूलमाथि कुटपिट गरी हत्या गरेको आरोपमा आठ जना पक्राउ परेका छन् ।  कात्तिक २४ को साँझ सुरेशलाई छिमेकी जंगे भूललगायतको समूहले घरमै आएर कुटपिट गरेका थिए ।

कुटपिटबाट गम्भीर घाइते भएका सुरेशलाई उनकी श्रीमती कल्पनाले उपचारका लागि धनगढीस्थित निसर्ग अस्पताल पुर्‍याएकी थिइन् । सोमबार बिहान उपचारकै क्रममा सुरेशको मृत्यु भएको थियो । छिमेकी विष्णा भूलको बाख्रा चोरीको आरोप लगाउँदै सुरेशमाथि कुटपिट भएको थियो । 

कात्तिक २० मा हराएको विष्णाको बाख्रा २३ गते दिउँसो सुरेश र कल्पना दम्पतीले सञ्चालन गरेको औषधि पसलको छेवैमा देखेपछि विष्णा पक्षका गाउँलेले सुरेशको परिवारले चोरेको आरोप लगाएका थिए । 

मृतक सुरेशकी पत्नी कल्पना भन्छिन्, ‘२३ गते बिहान शौचालय जाने बेला वडा कार्यालयको मूलढोकामा बाख्रा देखेपछि कसैको होला, बाँधेर राख्दिनुपर्‍यो भनेर उहाँ (सुरेश) ले ल्याउनुभएको थियो, हामीले त्यही कुरा दोहोर्‍यौं, तर कसैले सुनेन, एकोहोरो चोरीको आरोप लगाइरहे । नपत्याए वडा कार्यालयको सीसीटीभीमा हेर्न पनि आग्रह गरेका थियौं ।’ 

सुरेश र उनको परिवारले आफूले बाख्रा नचोरेको दाबी गरे पनि विष्णा पक्षले भने एकोहोरो चोरीको आरोप लगाउँदै निर्घात कुटेका थिए । विष्णा पक्षका सबै गाउँले एकढिक्का भएपछि सुरेश र उनको परिवारको केही चलेन । त्यस क्रममा दुवै पक्षबीच झमेला बढ्ने देखिएपछि आफूले इलाका प्रहरी कार्यालय मसुरियामा खबर गरिदिएको वडा ११ का अध्यक्ष साहेबवाल चौधरीले बताए । 

‘प्रहरीलाई खबर गर्नुअघि हामीले सीसीटीभी फुटेज पनि चेक गरेका थियौं । फुटेजमा सुरेशले भने अनुसारकै घटना थियो । वडा कार्यालयको ढोकामा बसेको बाख्रालाई सुरेशले समातेर लिएको देखिएको थियो,’ वडाध्यक्ष चौधरीले भने, ‘प्रहरीलाई पनि मैले फुटेज देखाएको थिएँ ।’ 

इलाका प्रहरीमा पनि ठूलो संख्यामा उपस्थित विष्णा पक्षका सबैले सुरेशलाई चोरीको आरोप लगाउँदै उनीहरूले एक लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने सर्त राखे । तर सुरेशले ३० हजार दिने भनेपछि दुवै पक्षबीच समझदारी भएको थियो ।

जिल्ला प्रहरी कैलालीका एसपी पदमबहादुर विष्टले भने इलाका प्रहरीमा मिलापत्र नभएको दाबी गरे । ‘हाम्रो चौकीमा कुटपिट, झैझगडा नगर्ने भन्ने कागज गरिएको थियो,’ एसपी विष्टले भने, ‘सुरेशले सुरुमा आफूले किनेर ल्याएको बाख्रा बताएपछि दुवै पक्षबीच झगडा सुरु भएको थियो ।’ 

कल्पनाका अनुसार ३० हजार तिर्ने सहमति भएको दोस्रो दिन २४ गते साँझ ७ बजेतिर पैसा लिन आएका विष्णा पक्षका व्यक्तिलाई ३० हजार दिन लाग्दा फेरि एक लाख दाबी गरेका थिए । ‘उनीहरूले एक लाख मागे, त्यत्तिकैमा जंग भूललगायतका ठूलो समूहमा आएका उनीहरूले भकाभक कुटपिट गर्न थाले, उहाँ (सुरेश) भुइँमा लडेपछि मैले उठाएर धनगढी अस्पतालमा लिएर गएकी हुँ,’ उनले भनिन् । 

निसर्ग अस्पताल धनगढीमा उपचारकै क्रममा कात्तिक २६ बिहान सुरेशको मृत्यु भएको थियो । तीन छोरी रहेका सुरेश र श्रीमती दुवै जना स्वास्थ्यकर्मी पनि हुन् । सीएमए पढेका सुरेशले गौरीगंगा–११ को वडा कार्यालय छेवैमा औषधि पसल सञ्चालन गरेका थिए । अनमी कल्पना वडा कार्यालयकै बर्थिङ सेन्टरमा कार्यरत थिइन् । 

सीएमए पढेकाले औषधि पसल सञ्चालन गरिरहेका सुरेश सूचनाको हकका लागि राष्ट्रिय महासंघ कैलालीमा आबद्ध भएर सूचनाको हकका अभियन्ताका रूपमा क्रियाशील थिए । दलित पत्रकार संघ कैलालीका सचिवसमेत रहेका सुरेश केही महिनाअघि आफ्नो अनलाइनमा पनि कार्यरत रहेको सुदूरपाटी अनलाइनका प्रकाशक/सम्पादक शेरबहादुर सार्कीले बताए । वडा कार्यालयका मेलमिलापकर्तासमेत रहेका सुरेश सार्वजनिक सरोकारका सवालमा सूचना माग पनि गरिरहन्थे । 

कल्पनाले श्रीमान्को हत्यामा संलग्न रहेको भन्दै नौ जनाविरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले आठ जनालाई पक्राउ गरिसकेको कैलाली प्रहरी प्रवक्ता कवीन्द्रबहादुर बोहराले बताए । बोहराका अनुसार पक्राउ पर्नेमा ६५ वर्षीय जंगे भूल, १८ वर्षीय दिनेश भूल, २३ वर्षीय विशाल विक, ३० वर्षीय धर्म विक, ३४ वर्षीया रमा रावल, १८ वर्षीय दिनेश विक, ३५ वर्षीया विष्णा विक र २४ वर्षीय रमेश रावल छन् । अर्का आरोपित पवन बोगटी भने फरार छन् । 

घटनाको पत्रकार महासंघलगायतका संस्थाले विरोध गर्दै गहिरो अनुसन्धानका लागि आग्रह गरेका छन् । ‘दलित समुदायका भए पनि गाउँमा पढेलेखेका, सामान्य आयआर्जनसमेत भएका, सार्वजनिक निकायमा सूचना मागिरहने, खबरदारी गर्ने, सामाजिक सञ्जालमा बेथितिविरुद्ध लेखिरहने सुरेशको क्रियाकलाप थियो,’ घटनाको स्थलगत अध्ययनपछि पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समिति अध्यक्ष योगेश रावलले भने, ‘घटना हुनुमा बाख्रा चोरीको बहाना मात्र देखिन्छ । उनलाई पहिल्यैदेखि नोटिस गरिएको देखिन्छ । कुटपिट गर्ने बेला ५०/६० जनाको समूह थियो । बाह्य घाउचोट नलाग्ने गरी नियोजित रूपमा कुटपिट गरेको देखिन्छ ।’ 

अध्यक्ष रावलका अनुसार सुरेश केही महिनादेखि अनलाइनमा आबद्ध भएर समाचार लेख्दै आएका थिए । सूचनाको हकका लागि राष्ट्रिय महासंघ कैलालीका अध्यक्ष दीपक उपाध्यायले सार्वजनिक निकायबाट सूचना मागेर सार्वजनिक गर्दै आएका कारण सुरेशको हत्या भएको दाबी गरे । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले सचिव हेमकर्ण विकको संयोजकत्वमा अनुसन्धान टोली गठन गरेर शुक्रबारदेखि स्थलगत अध्ययन सुरु गरेको जनाएको छ ।

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully