सुनसरी दुर्घटना अपडेट : तीन जनाको मृत्यु, १५ जना घाइते

काँकडभिट्टाबाट खोटाङ दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको बस र विपरीत दिशातर्फबाट आउँदै गरेको प्र २–०१–००१ ज ००४७ नम्बरको विङगर माइक्रो एक आपसमा ठक्कर खाइ दुर्घटना हुँदा एक महिलासहित ३ जनाको मृत्यु भएको हो।

श्रावण २६, २०८२

अर्जुन सुवेदी

Sunsari accident update: Three dead, 15 injured

सुनसरी — पूर्व-पश्चिम राजमार्गस्थित सुनसरीको भोक्राहनरसिंह गाउँपालिका-३ मा भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ। आज बिहान भएको दुर्घटनामा १५ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

भोक्राहा नरसिंह गाउँपालिका-३ जलुवा टोलस्थित पूर्व-पश्चिम राजमार्गमा काँकडभिट्टाबाट खोटाङ दिक्तेलतर्फ जाँदै गरेको मे  १ ख १७९९ नम्बरको बस र विपरीत दिशातर्फबाट आउँदै गरेको प्र २–०१–००१ ज ००४७ नम्बरको विङगर माइक्रो एक आपसमा ठक्कर खाइ दुर्घटना हुँदा विङगरमा सवार एक महिलासहित ३ जनाको मृत्यु भएको हो।

घाइते तथा मृतक पहिचान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए। घाइतेहरूलाई उपचारको लागि सुनसरी र मोरङको विभिन्न अस्पतालमा पठाइएको खतिवडाले जानकारी दिए । बस चालक झापा अर्जुनधारा नगरपालिका-१ बस्ने वर्ष ३६ को गोपाल अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

घटनास्थलमा सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र, सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिना र कोसी प्रदेश प्रहरी अस्पताल इनरुवाबाट प्रहरी नायब उपरीक्षक सरोज सिंह समेतको प्राविधिक टोली खटिएको प्रहरीले जनाएको छ ।

अर्जुन सुवेदी

Link copied successfully