सेवाग्राही खोज्दै काठमाडौं आइपुगे हिमाली पालिका

फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका वडाध्यक्ष छेतेनका अनुसार यो वडाबाट सामाजिक सुरक्षा भत्ता लिने ५२ जना छन् । तीमध्ये २२ जना काठमाडौंमा छन् ।

श्रावण २६, २०८२

आनन्द गौतम, भानुभक्त निरौला

He arrived in Kathmandu in search of a customer

What you should know

ताप्लेजुङ, सोलुखुम्बु — ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका धेरैजसो वृद्धवृद्धा काठमाडौंमा बस्छन् । उनीहरूले सामाजिक सुरक्षा भत्ता भने वडा कार्यालय ओलाङचुङगोलाबाट बुझ्छन् । बैंकिङ प्रक्रियाबाट मिल्ने भएकाले चौमासिक सुविधा काठमाडौंको बैंकबाटै लिने गरेका छन् । 

यस वर्ष सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि राष्ट्रिय परिचय पत्र र बायोमेट्रिक अनिवार्य गरिएको छ । अधिकांशले परिचय पत्र जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमै आएर बनाइसकेका छन् । बायोमेट्रिकका लागि भने वडाध्यक्ष छेतेन शेर्पा लामा कम्प्युटरलगायतका सामग्री लिएर सेवाग्राही भएको काठमाडौंमै पुगेका छन् । बौद्ध नयाँबस्तीस्थित ओलाङचुङ समाज कल्याणको भवनमा बसेर सेवा प्रवाह दिँदै अएका छन् । 

वडाध्यक्ष छेतेनका अनुसार यो वडाबाट सामाजिक सुरक्षा भत्ता लिने ५२ जना छन् । तीमध्ये २२ जना काठमाडौंमा छन् । ‘काठमाडौंमा केहीको घर छ, केही भाडामा बसेका छन् । उनीहरू सबैजसो नियमित औषधि खाइरहेका बिरामी छन् । स्वास्थ्य जाँच नियमित गराउनुपर्छ,’ वडाध्यक्ष छेतेनले भने, ‘ओलाङचुङगोलामा उनीहरूको स्वास्थ्य उपचारको सुविधा छैन । सदरमुकाम फुङलिङ लैजान दुई दिन बोकाएर पुर्‍याउनुपर्छ । अहिले गाउँमा बोकेर ल्याउने मान्छे पनि छैनन् । त्यसैले काठमाडौं बस्नैपर्ने बाध्यतामा छन् ।’ 

काठमाडौंमा घर भएका पनि बसाइँसराइ लैजान नमान्ने गरेको उनले सुनाए । ओलाङचुङगोलाकै भएर मर्छौं भन्ने धेरै रहेको वडाध्यक्ष छेतेनको दाबी छ । ‘कतिपय त बसाइँसराइ ल्याउनुभन्दा भत्ता खाँदैनौ होस् बरु भन्ने पनि छन्, गाउँमै जान्छौं भन्छन् तर स्वास्थ्यले साथ दिँदैन,’ छेतेनले भने, ‘उनीहरूलाई काठमाडौंमै आएर सेवा दिएका छौं ।’ आफ्नो वडाको मात्रै सचिव नभएकाले ल्यापटप, बायोमेट्रिक गराउने सामग्री बोकेर हिँडेको उनले वताए । पालिकामा एक जना सचिवले धेरैवटा वडा हेर्नुपर्छ । वडासचिवले गर्ने काम आफूले पनि जान्ने भएकाले बायोमेट्रिक गराउन आफू स्वयं काठमाडौंमा पुगेको उनले बताए ।

यस्तै, सामाजिक सुरक्षा भत्ता नवीकरणलगायत अत्यावश्यक कामका लागि सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाले पनि काठमाडौंको चुच्चेपाटीमा एकीकृत शिविर सञ्चालन गरेको छ । उच्च हिमाली भेग र भौगोलिक विकटतालाई हेरेर पालिकाले काठमाडौंमा रहेका नागरिकका लागि त्यहीँ गएर सेवा दिएको गाउँपालिका अध्यक्ष मिङ्माछिरी शेर्पाले बताए । 

शिविरमा ६ सय ६२ जनाले सेवा लिएको प्रमुख प्रशासकीय अधिकृत नवराज गौतमले जानकारी दिए । उनका अनुसार पर्यटनलगायत व्यापार व्यवसाय, औषधि उपचारजस्ता बाध्यताका कारण काठमाडौंमा बस्ने स्थानीयलाई लक्षित गरी काठमाडौंमा शिविर आयोजना गरिएको हो । पालिकाका ५ वटै वडाका जनप्रतिनिधि र कर्मचारी अहिले सेवाग्राही खोज्दै काठमाडौं पुगेका छन् । 

सोलुखुम्बुकै नेचासल्यान गाउँपालिकाले काठमाडौंमा गरेको एकीकृत शिविरबाट ११ सयभन्दा बढीले सेवा लिएका छन् । पालिकाले साउन १९ देखि २२ सम्म काठमाडौंको सुकेधारामा शिविर सञ्चालन गरेको हो । काठमाडौंमा अस्थायी रूपमा बसोबास गर्दै आएका पालिकावासीको सहजताका लागि शिविर आयोजना गरेको गाउँपालिका अध्यक्ष धनजन राईले बताए ।

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

भानुभक्त

Link copied successfully